लन्डन, २४ कात्तिक/एएनआई

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चाल्र्स तृतीय र रानी क्यामिलामाथि अन्डा प्रहार भएको छ । राजारानीमाथि अन्डा प्रहार गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको वाशिङ्टन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अन्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिए भने भीडले “भगवान्ले राजालाई बचाऊन्” नारा लगाएको थियो । राजा चाल्र्स नाराबाजीबाट प्रभावित भएनन् बरु उनी ‘फूटपाथ’मा छरिएका अन्डाका वरिपरि घुमिरहे । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्व आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा थिए ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्यान्डको एडिनबरामा एकजना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलायतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेका बेला महारानी एलिजाबेथमाथि एक महिलाले अन्डा प्रहार गरेकी थिइन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here