प्रस, वीरगंज, २३ कात्तिक/

बारामा एकजना र पर्सामा तीनजना महिला प्रत्यक्षतर्फको निर्वाचनमा उम्मेदवार छन् ।

बारा क्षेत्र नं ३ बाट एमाले–जसपा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका लागि एमालेकी ज्वाला साह चुनावी मैदानमा छिन् ।

बाराको यो क्षेत्रबाहेक कुनै पनि क्षेत्रमा दुवै गठबन्धनले महिला उम्मेदवार खडा गरेका छैनन् । साह एमाले पोलिटब्युरो सदस्य पनि हुन् ।

साह २०७४ सालमा प्रदेशसभा सदस्यमा माओवादी केन्द्रबाट निर्वाचित भएकी थिइन् । नेकपा विभाजित भएपछि उनी एमालेमा रहेपछि उनलाई माओवादी केन्द्रले निष्कासित गरेको थियो र उनको प्रदेशसभा सदस्यको पद पनि गुमेको थियो । त्यसपछि एमाले सरकारमा साह साढे चार महीना भूमिसुधार राज्यमन्त्री र ४५ दिन पर्यटन राज्यमन्त्री तथा १३ दिन कृषिमन्त्री भएकी थिइन् । बारा क्षेत्र नं ३ (१) बाट निर्वाचित साह अहिले प्रतिनिधिसभा सदस्यमा चुनाव लडिरहेकी छन् । उनको प्रतिस्पर्धा एमाले–जसपा गठबन्धनमा रहेको जसपाका रामबाबू यादव र वाम लोकतान्त्रिक गठबन्धनबाट लोसपाका लालबाबू सिंहसँग छ ।

पर्सामा प्रत्यक्षतर्फ जसपाबाट बागी करीमा बेगम पर्सा क्षेत्र नं २ (२)बाट प्रदेशसभा सदस्यमा स्वतन्त्र उम्मेदवार भएर चुनाव लडिरहेकी छन् । पार्टीले टिकट नदिएपछि उनले स्वतन्त्र उम्मेदवारी दिएकी हुन् । यसअघि उनी मधेस प्रदेशमा जसपाबाट समानुपातिक सदस्य थिइन् । त्यसअघि तत्कालीन मधेसी जनअधिकार फोरमबाट २०६४ सालमा पर्सा क्षेत्र नं १ बाट सांसदमा जितेर कृषि राज्यमन्त्री पनि भएकी थिइन् ।

पर्सा क्षेत्र नं ३ (२)मा जसपाबाट डा मधु गुप्ता कुर्मी प्रदेशसभा सदस्यमा चुनाव लडिरहेकी छन् । यसअघि उनी चिकित्सा सेवामा थिइन् । उनका पिता हरिनारायण रौनियार जसपाबाट सोही क्षेत्रबाट २०७४ सालको चुनावमा सङ्घीय सांसदमा जितेका थिए । तर उनीविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेकोले निर्वाचनमा सहभागी हुन योग्य नभएका कारण उनकी छोरी डा मधु चुनावी मैदानमा होमिएकी हुन् ।

यसैगरी, पर्सा क्षेत्र नं ४ (२)बाट माओवादी केन्द्रकी शेख चाँदतारा प्रदेशसभा सदस्यमा उम्मेदवार छिन् । उनी यसअघि सोही पार्टीबाट समानुपातिक सांसद थिइन् भने त्यसअघि राष्ट्रिय महिला आयोगकी अध्यक्ष पनि थिइन् । प्रत्यक्ष निर्वाचनमा उनको पहिलो सहभागिता हो । वाम लोकतान्त्रिक गठबन्धनबाट उनको उम्मेदवारी परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here