राधेश्याम पटेल, परवानीपुर, ३० असोज/
भन्सार नाकामा ६ महीना होल्ड भएको अर्बौं मूल्यको केराउ, मरिच र सुपारी सरकारको आदेशमा छुटेको छ भने छोहोडा छुट्न सकेको छैन ।
उद्योग राज्यमन्त्री मोतीलाल दुगडको सेन्चुरी मसला उद्योगको लागि तेस्रो मुलुकबाट आयात गरिएको ठूलो परिमाणको मरिच भन्सार नाकामा अड्केको थियो । सरकारले गत चैत १६ गतेदेखि कोरोना महामारी र नेपाली डलर विदेश पलायन नहोस् भन्ने उद्देश्यले यी वस्तुको आयातमा रोक लगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको स्वीकृतिविना डिएपी (डकुमेन्ट अगेन्स्ट पेमेन्ट) विधिबाट मगाइएको केराउ, मरिच, सुपारी र छोहोडालाई भन्सार जाँचपास नगरिने निर्देशनपछि वीरगंज, विराटनगरलगायत सबै भन्सार नाकाबाट आयात रोकियो । तर पहुँचवाला आयातकर्ताले सरकारलाई फकाइफुल्याइ गरी चैत १६ गतेअगावै सिपमेन्ट अर्थात् जहाजमा मालसामान हिडिसकेको सामानको जाँचपास गर्न मिल्ने आर्थिक ऐनमा संशोधन गराउन सफल भए । गत भदौको अन्तिम साता मन्त्रिपरिषद्बाट भन्सार नाकामा रोकिएका केराउ, मरिच र सुपारीको जाँचपास गर्न निर्देशन आएपछि करोडौं विलम्ब शुल्क र पार्किङ शुल्क तिरेर व्यवसायीले आआप्mनो सामान जाँचपास गराइसकेका छन् भने केहीले गरिरहेका छन् । वीरगंजस्थित सुक्खा बन्दरगाहबाट करीब ७ सय कन्टेनर केराउ, ४० कन्टेनर मरिच र १० कन्टेनर सुपारी जाँचपास भएको व्यसायीले बताए ।
तर सुक्खा बन्दरगाहमा अड्केको करीब ९ करोड मूल्यबराबरको छोहोडाको बारेमा भने सरकार मौन छ । यसबारेमा निर्णय नभएकोले छोहोडाको जाँचपास हुन सकेको छैन । यही कारण सुक्खा बन्दरगाह भन्सारमा अहिले पाकिस्तानबाट खरीद गरी कोलकातासम्म जहाजमा र त्यसपछि रेलबाट ल्याइएका करीब ५० कन्टेनर छोहोडा त्यत्तिकै थन्केर बसेको छ । चाँडै जाँचपास नभए घामपानीले खराब हुन सक्छ । पाकिस्तानबाट करीब नेपाली
रु ८५ प्रतिकिलोमा खरीद गरी भाडा र राजस्व तिर्दा किलोको करीब रु १५० पर्छ । एउटा कन्टेनरमा करीब १७/१८ टन छोहोडा हुन्छ । छोहोडाको जाँचपासबाट सरकारलाई करीब रु सवा दुई करोड राजस्व प्राप्त हुन्छ । छोहोडा आयातमा ६ प्रतिशत भन्सार महसूल, ५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत मूल्य अभिवृद्धि कर लाग्छ । दीपेन्द्र गुप्ताको बिएलजे ग्रुप प्रालिको ४ कन्टेनर, प्रदेश २ का सदस्य राजेश्वरसाह तेलीको जयमाँ भुवनेश्वरी ट्रेडिड्ढो ८ कन्टेनर, नवनीत अग्रवालको २ कन्टेनर, मुकेश अग्रवालको बालाजी ट्रेडर्सको ४ कन्टेनर, तेजकरण जैन सञ्चालक रहेको कुबेर एक्जिम प्रालिको ३५ कन्टेनर गरी ५१ कन्टेनर छोहोडा रोकिएको छ ।
५० कन्टेनर ७ महीनादेखि रोकिंदा करीब ५ करोडभन्दा बढी विलम्ब शुल्क र पार्किङ शुल्क मात्र लाग्ने व्यवसायीहरू बताउँछन् । उता पाकिस्तानी निर्यातकर्ताले सामान पठाइसकेपछि भुक्तानी पाएका छैनन् । व्यवसायीका अनुसार सामान जाँचपास नहुँदा नेपाली आयातकर्ताले बैंकिङ प्रक्रिया पूरा गर्न नसकेको कारण निर्यातकर्ताको भुक्तानी रोकिएको छ । यही कारण पाकिस्तानको कराँचीमा रहेको सुखी इन्टरप्राइजेज, ग्लेमर ट्रेडर्स, सुहाना ट्रेडर्सलगायत २० निर्यातकर्तालाई पाकिस्तान सरकारले कालोसूचीमा राखेको छ ।
छोहोडा जाँचपासको प्रक्रियामा छौं–वाणिज्य सचिव
भन्सार नाकामा रोकिएको छोहोडाको जाँचपासको विषयमा वाणिज्य सचिव वैकुण्ठ अर्यालले जाँचपासको प्रक्रियाबारेमा गृहकार्य भइरहेको बताए । सचिव अर्यालले छोहोडाको बारेमा ढिलो गरी भनिएको बताए । उनले मरिच, केराउ, सुपारीको विषयमा निर्णय भएर छुट्न थालेपछि यसबारेमा कुरा आएको प्रस्ट्याए । उनले छोहोडाको गुणस्तर जाँच हुने र आयात गर्न मुनासिब देखिए मात्र सोचविचार गर्ने अन्यथा कानून मिचेर आयात गरिएकोले सोको जोखिम व्यवसायी स्वयंले लिनुपर्ने बताए ।