राधेश्याम पटेल, परवानीपुर, ३ कात्तिक/

बाराको नितनपुरस्थित त्रिवेणी गु्रपको त्रिवेणी स्पिनिङ मिलमा प्रहरी र मजदूरबीच झडप भएको छ र दुवैतर्फबाट दर्जनभन्दा बढी घाइते भएका छन् ।

त्रिवेणी स्पिनिङमा कार्यरत मजदूरहरूले चाडपर्वमा वार्षिकरूपमा पाइने बोनस यस वर्ष नदिएको भनेर विरोध गर्दै आएका थिए । मिलमा कार्यरत करीब एक हजार ४०० मजदूरले वार्षिकरूपमा पाउने रु छ करोड बोनस मिल सञ्चालकले यसपटक दिन आनाकानी गरेको भन्दै मजदूरहरूले बुधवार दिउँसोदेखि मिलका सिइओ अशोक शर्मा, महाप्रबन्धक मनोजकुमार झालगायत १३ जनालाई मिलमैं बन्धक बनाएका थिए ।

सिइओ, महाप्रबन्धक र प्रशासनिक कर्मचारीहरू तथा मजदूरबीच हिजो दिउँसो वार्ता भएकोमा सहमति हुन नसकेपछि मजदूरहरूले उनीहरूलाई कारखानाबाहिर जान निषेध गरेका थिए । बिहीवार पर्सा, बाराका जनपद र सशस्त्र प्रहरीको टोली मिलमा प्रवेश गरी १३ जनालाई उद्धार गरेको थियो । सोही क्रममा मजदूर र प्रहरीबीच झडप भएको र झडपमा सातजना मजदूर र सातजना प्रहरी घाइते भएका हुन् ।

दुवैतर्फ घाइते हुनेहरूको अवस्था सामान्य छ । प्रहरीले सिइओ, महाप्रबन्धकसहित १३ जनालाई उद्धार गर्दा लाठीचार्ज र ३४ सेल अश्रुग्याँससहित एक राउन्ड हवाई फायर गरिएको इलाका प्रहरी कार्यालय, सिमरा, बाराका प्रहरी नायब उपरीक्षक युवराज तिमल्सिनाले बताए ।

माओवादीका मजदूर नेता मीनप्रसाद आपागाईंले उद्योग सञ्चालकले प्रहरी बलमा दमन गरेको भन्दै घटनाको निन्दा गरे । उनले मजदूरहरूले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here