प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन नजीकिंदै गर्दा चुनावी माहोल तातेको छ । उम्मेदवारहरू मतदाताको घरदैलोमा व्यस्त छन् । चिया चौतारो, पानी पँधेरो, मेलापातमैं उम्मेदवार भेटिन्छन् । नचिने पनि नाता गाँस्दै, हात जोडेर अगाडि लम्पसार पर्न तयार छन् । मतदाताको घरदैलो चुला–चौका, चौतारीमा पुगेर उनीहरूले भलाकुसारी चलाएका छन् । निकट देखिन जनताको झुपडीमा पसेर भुटेको मकै खाएका, गाउँका युवाहरूसँग चोकमा क्यारेम बोर्ड, भलिबललगायतका खेलहरू खेलिरहेका, गाउँ–समाज, परिवारका हालखबर सोधिरहेका फोटो तथा भिडियो फुटेजहरू सामाजिक सञ्जालहरूमा देखिन थालेका छन् । यसपटक चुनाव प्रचारप्रसारमा निर्वाचन आयोगले केही कडाइ गरेको छ । आयोगले ¥याली तथा सभाका लागि विभिन्न मापदण्ड तोकेको छ भने चुनावी कार्यक्रमका लागि समय र मितिसमेत निर्धारण गरिदिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७९ का लागि कात्तिक १८ देखि मङ्सिर २ गतेसम्म मात्रै चुनावी कार्यक्रम गर्न पाइनेछ । उम्मेदवारहरूमा छटपटी छ, तोकिएको अवधिसम्म शान्त बस्न नसकेर उनीहरू विभिन्न बहाना बनाउँदै मतदाताको बीचमा आइरहेका छन् । चुनावी कार्यक्रमका लागि आयोगले निर्धारण गरेको समयभन्दा अगाडिको अवधिलाई खेर जान नदिने गरी उनीहरू भेटघाटमा जुटेका छन् । खुट्टा दुखोस्, हात गलोस्, शरीर विसन्चो नै किन नहोस् कुनै पर्वाहा छैन । केही भ्रष्ट उम्मेदवारहरू त पैसाको खोला बगाउन पनि तयार देखिएका छन् ।
यतिबेला नेता तथा उम्मेदवारहरूको दिनचर्या देख्दा लाग्छ, उनीहरू जनताका असली साथी हुन् । नागरिकको हरेक सुख–दुःखमा उनीहरू चासो राख्छन् र साथ दिन्छन् । चुनाव जितेपछि आफ्नो क्षेत्रबारे बेखबर नेताहरूले अहिले चुनावको बेला गरेको मेहनत तथा सकस साँच्चि नै विगतलाई बिर्साउने खालको हुन्छ । वास्तविकतामा यो सबै नाटक हो । जनप्रतिनिधि हुन् वा जनप्रतिनिधि नबनिसकेका नेताहरू, उनीहरूले आफ्नो क्षेत्रका लागि वर्षमा ३० दिन मात्रै समय दिने हो भने यो नाटक गर्नै पर्दैन । वर्षमा एक महीना नागरिक भेटघाट तथा घरदैलो कार्यक्रममा दिने हो र समयको महŒवलाई बुझेर नागरिकको हितमा लागिपरे मतदातासँग प्रत्यक्ष र जीवन्त सम्बन्ध रहन्छ । यसले क्षेत्रका समस्याहरूबारे जानकारी हुृने भएकाले सडक होस् वा सदनमा मुद्दा उठान गर्न सहज हुन्छ । मुद्दा उठान भए समाधानको बाटो निस्कन सक्छ ।
हाम्रो समाजमा नेता र मतदाता एकै किसिमका छन् । जस्तो मतदाता उस्तै नेता, ¥याड्ढो ठ्याङ मिलेको छ । नेताले जति धोका दिए पनि मतदाता चेत्दैनन् । फेरि माघ फर्किएर आउँछ भन्ने हेक्का राख्दैनन् । यहाँ अधिकांश जनता, जनार्दन नभएर हनुमान छन् । मतदाता निष्पक्ष रहेर कामको मूल्याङ्कन गरी निर्वाचनको समयमा निर्णय दिनुपर्ने हो । सहीलाई पुरस्कृत र गलतलाई दण्डित गर्न सक्ने मात्रै जनार्दन ठहर्छ । निष्पक्ष मतदाताले मात्रै यो भूमिका निर्वाह गर्न सक्छन् । हाम्रो समाजमा निष्पक्ष मतदाताभन्दा पार्टीका सदस्य धेरै छन् । नेतृत्वलाई सही बाटोमा हिंडाउन नसक्ने र झोला मात्रै बोक्ने खालका कार्यकर्ता अधिक छन् । आफ्ना पक्षधर नेताले जे गरे पनि सही देख्ने प्रवृत्तिकालाई हनुमान भनिन्छ । न्यायाधीश प्रभावित नहुने हो भने अन्यायीहरू निरुत्साहित हुनेछन् । जसरी पनि मतदातालाई प्रभावित गर्न सकिन्छ भन्ने नेताहरूको बुझाइका कारण उनीहरूले चुनावको बेला मात्रै मतदाता सम्झिने गरेका छन् ।