प्रस, वीरगंज, २९ असोज/
खानेपानीमन्त्री एवं नेपाली काङ्ग्रेसका सहमहामन्त्री उमाकान्त चौधरीले एमाले मधेसीविरोधी पार्टी भएको आरोप लगाएका छन् ।
बारा निर्वाचन क्षेत्र नं १ क्षेत्रीय कार्य समितिद्वारा आयोजित चुनावी सभा एवं क्षेत्रीय बैठकमा बोल्दै उनले तराई– मधेसका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने नागरिकता विधेयक पास गर्न राष्ट्रपतिसँग मिलेर एमालेले अड्काएको आरोप लगाए । उनले एमाले पार्टी सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सखाप पारी मुलुकमा एकतन्त्रीय शासन व्यवस्था ल्याउन खोजिरहेको आरोप लगाए । उनले आफ्नो स्वार्थ सिद्धिका लागि दुईतिहाईको सरकार ढालेको एमाले अध्यक्ष केपी ओलीबाट देश विकासको आशा राख्न नसकिने बताए ।
सुखी नेपाली, समृद्ध नेपालको नारा लगाएर नेपाली जनतालाई झुक्याउने कार्य मात्र भएको बताए । उनले मधेस र मधेसी जनताको हकहितका लागि लड्ने एक मात्र नेपाली काङ्ग्रेस भएको दाबी गरे ।
मन्त्री चौधरीले उपेन्द्र यादवको जनता समाजवादी पार्टीले मधेसी जनतालाई धोका दिने काम मात्र गर्दै आएको र अहिलेसम्म सत्ता र शक्तिको पछि लाग्दै आएको आरोप पनि लगाए । क्षेत्रीय सभापति विजयशङ्कर यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, सदस्यहरू उपेन्द्र जयसवाल, सीता मैनाली, महासमिति सदस्य शम्भुबहादुर बुढाथोकी, मधेसी कुँवर, सिकेन्द्र पासवान, निजगढ नगरपालिकाका पूर्वमेयर सुरेश खनाल, प्रदेशसभा क, ख का उम्मेदवारद्वय रमेश दङ्गाल, नागेन्द्रप्रसाद साह, महिला नेत्री माला लामालगायतले नेका उम्मेदवारहरूलाई विजयी बनाउन आग्रह गरेका थिए ।