कीभ, १५ असोज/एएनआई

युक्रेनको जापोरिझिया शहरमा शुक्रवार रूसी क्षेप्यास्त्र आक्रमणमा परी कम्तीमा ३० को मृत्यु भएको छ भने ८८ जना घाइते भएको युक्रेनी अधिकारीलाई उद्धृत गर्दै सिएनएनले जनाएको छ ।

जापोरिझिया क्षेत्रीय सैन्य प्रशासनका प्रमुख ओलेक्जेन्डर स्टारूखले टेलिग्राममा भने–“शत्रुले जापोरिझियाबाट बाहिरिने बाटोमा नागरिक मानवीय काफिलामा रकेट आक्रमण गरेको छ ।”

युक्रेनको राष्ट्रिय प्रहरी प्रमुख इहोर क्लाइमेन्कोलाई उद्धृत गर्दै सिएनएनले उक्त आक्रमणमा मारिनेमा ११ वर्षीया बालिका, १४ वर्षीय युवक पनि रहेको बताएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रवार औपचारिकरूपमा चार क्षेत्र–डोनेट्स्क, लुहान्स्क, खेर्सन र जापोरिझिया विलयको घोषणा गर्दै सो निर्णय लाखौं मानिसको इच्छा रहेको बताएका छन् ।

मिडिया रिपोर्टका अनुसार पुटिनले चारवटा गाँसिएका क्षेत्रका बासिन्दा अब रूसका वास्तविक नागरिक हुने बताएका छन् । राष्ट्रपतिले अब नयाँ क्षेत्रको रक्षा गर्ने दायित्व रूसको रहेको बताएका छन् । उनले जनमत सङ्ग्रहको नतीजालाई “लाखौं जनताको इच्छा” पनि भनेका छन् । गत फेब्रअरी २४ मा डोनेट्स्क र लुहान्स्क जन गणतन्त्रले आफ्नो रक्षा गर्न मदतको लागि अनुरोध गरेपछि रूसले युक्रेनमा विशेष सैन्य कारबाही शुरू गरेको हो । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here