ल्हासामा सुन छ, मेरो कान बुच्चो भन्ने उखान छ । उखान जन्मेको ताका सस्तो भएर पनि ल्हासा टाढा, दुर्गम भएकोले सुन नपाएर कान बुच्चो रहन गएको परिस्थितिप्रति यो उखान व्यङ्ग्य हो । त्यस्तै व्यङ्ग्य नेपाल सरकारको प्रत्येक कार्यक्रमका साथ नानीदेखिको बानीझैं लिसो बनेर टाँसिएर बसेको छ । देशका युवा बेरोजगारी भए, विदेश पलायन भए भन्ने सैद्धान्तिक रोदन सरकार र सरकारमा बस्ने सबैले गर्दछन् । तर युवालाई देशमा रोजगार दिने कुरा आउँदा साधनको कमी, अध्यवसायको कमी, कल–कारखाना लगाउन पूँजीको कमी, प्रविधिको कमी, उद्यमी जाँगरिला नभएका, नेपालीको प्रवृत्ति रातारात करोडपति बन्ने रहेकोले मेहनत गर्न नचाहने, सरकारले हर क्षेत्रमा सहयोग गर्दा पनि काम गर्न नचाहेर विदेश पलायनलाई प्राथमिकता दिने अत्तो सरकारले लगाउने गर्दछ । यस्तोमा कोही कसैले कुनै अध्यवसाय गरेको छ भने सबैले तारिफमा लेख्ने, बोल्ने र देखाउने रहर मेट्छन् । सुविधा पाउँदा पनि किन कोही अगाडि सर्दैन, मेहनत गर्ने डरले विदेश जानेहरूले त्यहाँ कामै नगरी पैसा पाउने हो कि ? भन्ने कुरा खोतल्नतिर सरकारको कुनै निकायले जाँगर देखाउँदैन ।

वस्तुतः सरकारले भन्ने र गर्ने काममा विरोधाभास छ । आज देशको आर्थिक अवस्था असन्तुलित बन्दै गएकोले सबैले नेपाल श्रीलङ्का बन्दैछ–अफगानिस्तान बन्दैछ, युक्रेन बन्ने बाटोमा छ भनिरहेको बेला सरकारलाई सबैभन्दा ठूलो खाँचो विदेशी मुद्रा सञ्चितिको छ । यसको लागि सबैभन्दा सजिलो बाटो जति बढी हुन्छ युवा विदेशी रोजगार खोजून् भन्ने नै हो । देशसँग निकासी गरेर विदेशी मुद्रा आर्जन गर्ने भरपर्दो जिनिस छैन, पर्यटनबाट आउने विदेशी मुद्रा कहिले कोरोना, कहिले युक्रेन युद्धले गर्दा ह्रासोन्मुख छ । पर्यटन दिवसको दिन विदेशी पाहुनालाई स्वागत गर्ने सरकारको रहर त पूरा हुन सकेन । त्यसैले के करामात गरेर हुन्छ, नेपालीहरू विदेश जाऊन् र विदेशी मुद्राको सञ्चिति बढोस् भन्ने लोभ पालेर बसेको सरकारले स्वदेशमा कुनै पनि उद्योग, व्यापार, कृषि वा अन्य क्षेत्र फस्टाओस् र युवाहरू स्वदेशमैं बसून् भन्ने चाहना किन गर्छ र किन त्यस्तो कामका लागि ठोस योगदान दिन्छ ? तर लोकलाई त स्वदेशी व्यवसाय, उद्यमका लागि सरकारले अन्य मुलुकहरूले जस्तो सुविधा दिइरहेको छ भनी देखाउन त करै लाग्छ ।

कोही युवकले तरकारी खेती गरेर मनग्गे पैसा कमायो, गाई–भैंसी पालन गरेर उदाहरण बन्यो भनी आउने समाचारको गुह्यमा जाने हो भने त्यसमा सरकारले गरेर भएको केही होइन । केही दुस्साहसीहरूको कर्म हो, त्यो । किनभने कुनै पनि उत्पादन बिक्री गर्नका लागि बजार आवश्यक हुन्छ । बजारमा उपभोक्ताले चीज, अझ त्यो स्वदेशी हो भने अपेक्षाकृत सस्तोमा पाउनुपर्छ । कृषकले सिंचाइ, सडक, यातायातको सुविधा पाउनुपर्छ । उपभोक्ताले सस्तो सामान पाउनुपर्छ । यसका लागि उत्पादक–उपभोक्ता निकट हुनुपर्छ । नेपालमा यातायात, सडक र बजारको अभाव छ । बिचौलियाको राइँदाइँ छ । हजारौं किलोमिटर टाढाको चिनियाँ र भारतीय गुणस्तरहीन स्याउ पाइन्छ, सस्तो पाइन्छ । नेपालको स्याउ असल गुणस्तरको भएर पनि पाइँदैन । स्याउ बेच्न नपाएर किसान बेचैन, आफ्नै देशको गुलियो, ठूलो स्याउ खानबाट नेपाली वञ्चित । सरकारले कृषि परामर्शका लागि खोलेको कार्यालयलाई ‘ज्ञान केन्द्र’ बनाइदिएको छ । ज्ञानीले त उपदेश दिने हो, काम गर्ने हो र १  यस्तो छ सरकारको कपट चाल !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here