प्रस, निजगढ, ११ असोज/
निजगढका केरा किसानहरूले चाडबाड नजीकिंदै गर्दा बाली क्षतिपूर्तिबापत बीमा रकम नपाउँदा आर्थिक समस्यामा परेको भन्दै मङ्गलवार निजगढमा प्रदर्शन गरेका छन् ।
हावाहुरी, असिनापानीका कारण केराको बोट ढलेर नष्ट भएकोमा क्षतिपूर्तिको लागि करीब छ महीनासम्म पटक–पटक बीमा कम्पनीमा ताकेता गर्दासमेत अहिलेसम्म बीमा कम्पनीले रकम उपलब्ध नगराएको आन्दोलित केरा किसानहरूको भनाइ छ ।
निजगढ नगरपालिकाभित्र लगभग १५ सय बिघामा केराखेती गरिएको अनुमान छ । जसमा एक हजारभन्दा बढी व्यावसायिक केराखेती गर्ने किसानहरू आबद्ध रहेको बारा केरा तथा फलफूल उत्पादक व्यवसाय सङ्घले जनाएको छ ।
यहाँ करीब अढाई सय केरा किसानले केराखेतीको बीमा गरेको किसानहरूको भनाइ छ । यहाँका किसानहरूले करीब रु चार करोड ५० लाख बराबर क्षतिपूर्ति रकम पाउनुपर्ने बारा केरा तथा फलफूल उत्पादक व्यवसाय सङ्घले जानकारी दिएको छ । हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनीमार्फत यहाँका केरा किसानहरूले केराखेतीको बीमा गरे पनि कम्पनीले विभिन्न बहाना देखाउँदै पीडित किसानहरूलाई क्षतिपूर्ति रकम उपलब्ध गराउन ढिला गरिरहेको आन्दोलित किसानहरूको आरोप छ ।
यथाशीघ्र बीमा रकम उपलब्ध गराइदिन आग्रह गर्दै पीडित किसानहरूले बाराका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई ज्ञापनपत्र पनि बुझाइसकेका छन् ।
किसानहरूलाई बीमा रकम समयमा नै उपलब्ध होस् भनी आवश्यक प्रक्रिया अघि बढाइ मुख्य कार्यालयमा समयमा नै पठाइसकेको हिमालयन–एभरेस्ट इन्स्योरेन्स कम्पनी, सिमराका प्रमुख शङ्कर पौडेलले जानकारी दिए ।
कृषि बीमा निर्देशिकामा प्रतिकट्ठा ५५ बोट केराबाली लगाउन तोकिए पनि यहाँका किसानहरूले निर्देशिकामा तोकिएभन्दा बढी सङ्ख्यामा केराको बोट लगाउने गरेको पाइएको बीमा कम्पनीबाट खटाइएको सर्भे टोलीबाट जानकारीमा आएको शाखा प्रमुख पौडेलले बताएका छन् । तोकिएको सङ्ख्याभन्दा बढी बोटबाट उत्पादन लिन खोज्दा हावाहुरी, असिनापानी जस्ता प्राकृतिक विपत्तिमा उच्च क्षति हुने सम्भावना बढ्छ ।
पीडित किसानहरूलाई यथाशीघ्र बीमा रकम उपलब्ध गराउन भन्दै बारा केरा तथा फलफूल उत्पादक व्यवसाय सङ्घका अध्यक्ष एकबहादुर श्रेष्ठसहितको टोलीले सङ्घीय कृषिमन्त्री मृगेन्द्रकुमार सिंह र मन्त्रालयका सचिव गोविन्द शर्मासँग भेट गरी किसानहरूको समस्यालाई छिटो सम्बोधन गरी बीमा रकम उपलब्ध गराउन माग गरेको थियो ।
यता पीडित किसानहरूको समस्यालाई बेवास्ता गरे चरणबद्ध सङ्घर्षका कार्यक्रममा उत्रने सङ्घका अध्यक्ष श्रेष्ठले चेतावनी दिएका छन् ।