-सञ्जयसाह मित्र 

नेपाल गाउँ नै गाउँले भरिएको देश हो । यहाँका धेरै नगरपालिका यस्ता छन्, जुन नगर नै होइनन् । नितान्त गाउँहरूलाई समेटेर नगरपालिका बनाइएको छ । पहिचानको दृष्टिले यसमा दुई किसिमको मत पाइएको छ । पहिलो भनाइ छ– नगरको पूर्वाधार बनाउन नगरपालिका आवश्यक छ र हाम्रो देशको पहिचान शहरले भन्दा गाउँले गर्दा भएकोले नगरपालिका भनेर यहाँको मौलिक गाउँ देखाउन खोजिएको हो । अर्कोथरीको तर्क छ– नगर भनेको त सामान्यतया शहर हो, यस कारण नगरपालिका भनेर नितान्त गाउँहरूलाई समेटेर राख्नुको औचित्य छैन । नगरपालिका र गाउँपालिकाबारे बहस भइरहन्छ तर यहाँ बस्ने महिलाहरूबारे पनि छलफल आवश्यक छ ।
सोझो अर्थमा गाउँ र शहरमा भिन्नता छ । गाउँमा बस्ने मानिस ग्रामीण कहलाउँछ भने शहरमा बस्ने शहरिया । आजभोलि गाउँको पनि शहरीकरण हुन थालेको भनिंदैछ, कतै–कतै । धेरै पुराना ग्रामीण बजारहरू जस्ताका तस्तै छन्, नयाँ बजारले भने ठूलो रूप लिइसकेका कैयौं उदाहरण छन् । यहाँ सन्दर्भ ग्रामीण र शहरियाको हो । गाउँ नै गाउँले भरिएको नगरपालिकाका नागरिकलाई के भन्ने ? नगरपालिकामा बस्ने भएकाले शाब्दिकरूपमा नगरवासी त भए, तर नाम नगर, वस्तुतः गाउँको, यस्ता बासिन्दाको पहिचान कस्तो हुने ? हुनत धेरै गाउँको नामको पछाडि नगर जोडिएर आएका छन् परम्परादेखि, तर ती नितान्त गाउँ हुन् । परम्परागतरूपमा पनि नगर भन्नेबित्तिकै शहरको अर्थ दिंदैन भन्ने कुरो नगररूपी पुच्छर जोडिएका गाउँको वास्तविकताले बताएकै छ । आधुनिक समाजले नगर भनेर शहरकै पर्याय बुझेको हुन्छ । गाउँ र शहरमा पाइने भिन्नताजस्तो शहर–शहरबीच पनि भिन्नता हुन्छ । हाम्रो प्रदेश वा देशका शहरहरूभन्दा छिमेकी देशका ठूला शहरमा धेरै भिन्नता पाइन्छ । यसैगरी, विकसित देशका शहर र हाम्रो देशका शहरबीच पनि धेरै भिन्नता छ । अझ विकसित देशका आधुनिक शहर र त्यहींका गाउँलाई हेर्दा हाम्रो शहर र त्यहाँको गाउँबीच पनि तुलना गर्न सकिन्न । यसरी विकास निरन्तरको प्रक्रिया भएकोले शहर भनिएका ठाउँका र गाउँ भनिएका ठाउँबीच पूर्ण साम्य वा वैषम्य हुन्छ भन्ने होइन । हरेक ठाउँले आपूmमा केही मौलिकता बोकेको हुन्छ, यसले व्यक्तिमा पनि मौलिकता ल्याउने स्वयंसिद्ध तथ्य हो । तर पनि अत्यधिक विशेषता मिल्नु र अत्यधिक विशेषता फरक पर्नुले साम्य र वैषम्यको आधार तय गर्न सक्छ । यसबाट यो स्पष्ट हुन आउँछ कि हाम्रो परिवेशका कतिपय नगरपालिका, उपमहानगरपालिका वा महानगरपालिकाको सीमा वा नाममा समेटिएका ग्रामीण बस्तीहरूमा बस्ने मानिस वस्तुतः ग्रामीण हुन् ।

गाउँमा बस्ने महिलाको अवस्थाबारे आजभोलि अध्ययन र विश्लेषण हुन थालेको छ । संसारका सम्पूर्ण नागरिकमध्ये झन्डै आधा महिला छन् । यसैले महिलालाई आधा आकाश भनिएको हो । विश्वका आधा आकाशमध्ये आधाभन्दा बढी ग्रामीण क्षेत्रमा बसोवास गर्दछन् । संसारका आधाभन्दा बढी महिला ग्रामीण क्षेत्रमा बस्ने भएकाले संसारका आधाभन्दा बढी महिला ग्रामीण महिला हुन् । संसारका ग्रामीण महिलाको अवस्था कस्तो छ त ? वास्तवमा कुनै पनि देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अवस्थामा ग्रामीण महिलाको अवस्था निर्भर रहन्छ । वर्तमान परिवेशमा शिक्षा, सञ्चार तथा प्रविधिको विकासले महिलाको अवस्थामा फरक किसिमले प्रभाव पारिरहेको यथार्थ छ । यद्यपि अर्को यथार्थ के पनि छ भने विश्वका अधिकांश देशमा पितृसत्तात्मक पारिवारिक अवस्था छ । पितृसत्ताले महिलालाई निर्णयमा सम्पूर्ण अधिकार दिएको छैन । अझ ग्रामीण क्षेत्रमा शताब्दीयौंदेखि महिलाहरूलाई निर्णयको अधिकार दिइएको छैन । सम्पत्तिमाथि महिलाको अधिकार सीमित गरिएको छ । अझ कतिपय देशमा त महिलालाई राजनीतिक अधिकारबाट वञ्चित गरिएको वा महिलालाई अत्यन्त सीमित अधिकार दिएको अवस्था पनि छ । शताब्दीयौंदेखि थिचिएका र मिचिएका ग्रामीण महिलाहरूमा आप्mनो अधिकारबारे सचेतनाको अभाव छ । आप्mनै अधिकारबारे जानकार हुन नसक्दा धेरै ग्रामीण महिलाले आपूmमाथि भइरहेको अन्याय बुझ्न सकेका छैनन् । अज्ञानताले यति थिचिएका छन् कि अन्याय हुँदा पनि निराकरण गर्न अगाडि बढ्न सक्दैनन् । अझ सामाजिक दबाब र प्रभाव यति बलियो हुन्छ कि कतिपय महिलामाथि भएको अन्यायलाई समाजले यत्तिकै पचाइरहेको हुन्छ । नेपालमा मात्र होइन, विश्वका धेरै देशमा महिलामाथि अझै पनि विभेद जारी रहेको देख्न सकिन्छ ।
शहरिया महिलाको तुलनामा ग्रामीण महिला प्रायः अधिकांश क्षेत्रमा पछाडि नै रहेका छन् । अशिक्षा र अन्धविश्वासमा भने ग्रामीण महिला अझै पनि अगाडि रहेका छन् । अशिक्षालाई नहटाई अन्धविश्वास हटाउन मुश्किल छ । अशिक्षा र विपन्नताबीच नङ र मासुजस्तै अन्योन्याश्रित सम्बन्ध हुन्छ, एक अर्काबाट भिन्न हुनै नसक्नेजस्तो । यसरी गरीबी, अशिक्षा र अन्धविश्वासबीच ग्रामीण महिलाहरूले आपूmलाई जीवित राखेका छन् । विपन्न समुदायका कोही महिला अगाडि बढ्न खोज्दा पुरातन समाजको पुरुष–अहम्ले यसरी दबाउन खोज्छ कि अगाडि बढ्ने साहस गर्ने अधिकांश महिला आप्mनो उत्साह आप्mनै पैतालाले कुल्चन बाध्य हुन्छन् । त्यस्ता महिलाको अभिव्यक्ति र अग्रसरताबीच यस्ता भयङ्कर तगारा ते¥स्याइने क्रम अझै पनि जारी छ । केही अगाडि बढेजस्तो देखिने महिलाहरूको पनि वास्तविकता उदेकलाग्दो हुन्छ । अहिले धेरै स्थानीय तहका उपप्रमुख निर्वाचित महिलाहरूको अवस्था विचार गर्दा कस्तो लाग्छ भने निर्णायक तहका महिला पनि पुरुषका रबर स्टाम्प बन्न बाध्य छन् । यो बाध्यतात्मक अवस्था र सामाजिक विवशता पनि हो । महिलामाथिको दृष्टिकोण फेरिन नसकेको दृष्टान्त पनि हो । अन्य धेरै क्षेत्रमा यस्ता पर्याप्त दृष्टान्त पाउन सकिन्छ ।
शिक्षाको अभाव, परम्परागत दृष्टिकोण, सहकार्यको अभाव, स्रोत र साधनमा पहुँच नहुुनु तथा लैङ्गिक विभेद अनि परम्परागत पितृसत्तात्मक पारिवारिक तथा सामाजिक संरचनाले गर्दा ग्रामीण महिलालाई अगाडि बढ्नबाट रोकेको छ । सामान्य कुनै कामको सफलतामा पुरुषले जति सङ्घर्ष गर्नुपर्दछ, त्यसको तुलनामा सोही समाजका महिलाले थप अतिरिक्त सङ्घर्ष गर्नुपर्ने अवस्था विद्यमान छ । ग्रामीण समुदायको महिलाप्रति अझै पनि पुरुष र महिला समान हुन् भन्ने दृष्टिकोण विकसित हुन सकेको पाइन्न । कतिपय अवस्थामा महिलालाई दयाको पात्रको रूपमा लिइन्छ भने कतिपय अवस्थामा महिलालाई अगाडि बढ्न दिनुहुँदैन भन्ने सोच नागफणाझैं जुर्मुराउने गर्दछ । यस्तो कमै परिवार होला जहाँ महिलालाई अवसर दिन वा अवसरका लागि तयार गर्न आवश्यक वातावरण उपलब्ध छ र जति छन्, तिनीहरूप्रति समाजका कतिपय सदस्यले सकारात्मक दृष्टिकोण राख्ने गरेको पाइन्न ।
ग्रामीण महिलालाई अगाडि बढ्ने वातावरणको अभाव त छ नै, यदि कोही महिला सामाजिक सेवा वा नोकरीमा लागेका छन् तर उनका अगाडि पुरुषभन्दा थप समस्या हुन्छ । महिलाले काम गर्ने वातावरण कस्तो छ भन्ने कुरो लुकेको छैन । कार्यालय, बाटो तथा घरमैं पनि महिला कति सुरक्षित छन् भन्ने विषयमा समाज जानकार भइसकेको छ । अझ कोही महिला एक्लै डेरा लिएर बस्नुपर्ने र डेरा गाउँमा चाहिएको छ भने त्यस्ता महिलाले भोग्नुपर्ने समस्या निकै फरक हुन्छ ।
बितेको समयदेखि चलिआएको ग्रामीण महिलाको स्थितिमा, अहिलेको समानता र समावेशिताको अवस्थामा पनि खासै सुधार भएको पाइएको छैन । अहिले पनि ग्रामीण महिलाको हातमा आर्थिक अधिकार नभएकोले उनीहरूलाई निर्णायक अधिकार प्राप्त भएको छैन । सर्वसाधारण ग्रामीण महिलाले बिहानदेखि अबेर रातसम्म केवल काम नै काम गर्नुपर्छ । मैले कति मूल्यको काम गरें भन्ने कुरा सोच्नेसम्म फुर्सद हुँदैन । निरन्तर काम गर्दागर्दा ग्रामीण महिला हरेक काममा छोराको उन्नति होओस् भन्ने कामना गर्दछन् । अब अलिकति छोरीको पनि ख्याल गर्न थालिएको छ तर वास्तवमा ग्रामीण महिलामा छोरा र छोरीमा अझै पनि विभेद देख्ने मनोविज्ञान रहेकै छ । ग्रामीण महिलाको हातमा आर्थिक उपार्जनको उपाय वा सीप नआउँदासम्म महिलाको स्थितिमा खासै सुधार हुने अवस्था देखिंदैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here