प्रस, वीरगंज, ७ असोज/
भारत सरकारको अनुदान सहयोगमा काभ्रेपलाञ्चोकमा निर्माण हुने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान परियोजनाको भूमिपूजन कार्यक्रम शुक्रवार सम्पन्न भएको भारतीय राजदूतावासले जनाएको छ ।
गृहमन्त्री बालकृष्ण खाँण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले आज संयुक्तरूपमा भूमिपूजन गरेका थिए ।
सो परियोजनाको शिलान्यास सन् २०१४ नोभेम्बरमा पूर्वप्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए । भारत सरकारको नेरु एक हजार करोड अनुदानमा निर्माण हुने सो परियोजना भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएका ठूला परियोजनामध्ये एक रहेको कार्यक्रममा जानकारी गराइएको थियो ।
यस परियोजनाको कुल क्षेत्रफल करीब ८४ एकड रहकोमा क्याम्पस भवनको निर्माण १.१० लाख वर्गमिटर क्षेत्रफलमा हुने तथा स्थानीय वास्तुकला र आधुनिक प्रविधि सम्मिश्रण गरी प्रतिष्ठानका भवनहरू निर्माण गरिने भारतीय राजदूतवासले जनाएको छ ।
कार्यक्रममा भारतीय राजदूत श्रीवास्तवले सबैको साथ र सहयोगमा निर्धारित समयमैं निर्माण कार्य सम्पन्न गर्ने विश्वास व्यक्त गरे । उनले नेपाल–भारतबीच घनिष्ठ सम्बन्धको अर्काे महŒवपूर्ण कोसेढुङ्गाको रूपमा रहेको यस प्रतिष्ठित परियोजनाको सफल कार्यान्वयनका लागि भारत सरकारको पूर्ण सहयोग रहने बताए ।
गृहमन्त्री खाँणले यस परियोजनाको निर्माण र द्विपक्षीय सहकार्य तथा विकास साझेदारी अन्तर्गत भइरहेको निरन्तर सहयोगका लागि भारत सरकारलाई धन्यवाद व्यक्त गरे ।