प्रस, ठोरी, ६ असोज/
वन तथा वातावरण मन्त्रालयले अन्ततः वीरगंज–ठोरी–माडी–जगतपुर हँुदै भरतपुर जोड्ने हुलाकी राजमार्ग अन्तर्गत निकुञ्ज खण्डमा सडक बनाउन वातावरणीय प्रभाव अध्ययनको सहमति दिएको छ ।
मन्त्रालयले चितवन राष्ट्रिय निकुञ्ज खण्डको ध्रुवघाट–वनकट्टा हुलाकी सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययन सहमति प्रदान गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पत्राचार गरेको हो ।
त्यस्तै, बाँदरझुलावासीको आग्रह र वातावरणीय दृष्टिले समेत उपयुक्त हुने ठहर गर्दै बगही–प्याउली–कुसुमखोला–बाँदरझुला हँुदै ठोरी जोड्ने गरी हुलाकी सडक निर्माणका लागि पनि वातावरणीय प्रभाव अध्ययनको सहमति दिइएको छ ।
सहमतिपत्रमा निकुञ्जभित्र वनकट्टाबाट ध्रुवघाटसम्म सडक निर्माण गरी ध्रुवघाटमा राप्ती नदीमा नयाँ पुल निर्माण गर्दा र पूर्वतर्फ बगहीबाट कुसुमखोला हुँदै बाँदरझुलातर्फ हुलाकी सडक बनाउँदा जैविक विविधतामा कम प्रभाव पर्ने सुझाव दिइएको देखिन्छ ।
यसबाहेक राप्तीदेखि रिउसम्मको निकुञ्ज खण्डमा वन्यजन्तुको आवतजावतका लागि सकेसम्म अन्डरपासको निर्माण गर्नुपर्ने, वातावरणीय प्रभाव अध्ययन कार्यमा निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, स्थानीय समुदायको प्रतिनिधि र वातावरण विज्ञको समेत सहभागिता रहनुपर्ने र इलेभेटेड हाइवेलाई समेत विकल्पका रूपमा अध्ययन गर्नुपर्नेलगायतका शर्तहरू राखिएका छन् ।
माडीवासीको वर्षौंदेखिको व्यग्रता, माडी नगरपालिका र यहाँका दलहरूको दर्जनौं डेलिगेशन, वडाध्यक्ष कृष्ण पौडेलको अनशन र पूर्वप्रधानमन्त्री प्रचण्डको लगातारको ताकेतापछि अन्ततः वन मन्त्रालयले निकुञ्जभित्र हुलाकी सडक निर्माणका लागि वातावरणीय प्रभाव अध्ययनको सहमति दिएको हो ।