मेक्सिको सिटी, ६ असोज/एएफपी
मेक्सिकोमा बिहीवार शक्तिशाली भूकम्प आएको छ । यसअघि सोमवार मिचोआकानमा आएको ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा दुर्ईजनाको मृत्यु भएको थियो ।
६.९ म्याग्निच्युड मापन गरिएको यस भूकम्पको केन्द्रबिन्दु पश्चिमी राज्य मिचोआकानको कोलकोमानबाट ८४ किलोमिटर दक्षिणमा प्रशान्त महासागरको तटनजीक रहेको राष्ट्रिय भूकम्प विज्ञान निकायले जनाएको छ ।
अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस)ले ६.८ म्याग्निच्युड अनुमान गरेको छ । मिचोआकानमा सोमवार ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको थियो । मेक्सिको सिटीमा सयौं किलोमिटर टाढा हजारौं भवनमा क्षति पु¥याएको थियो । यस भूकम्पले आतङ्क फैलाएको थियो ।
स्थानीय समय अनुसार बिहीवार बिहान १ः१६ मा प्रारम्भिक चेतावनी अलार्म बजेपछि मानिसहरूले आफ्ना घरहरू खाली गर्न थालेका थिए । मेक्सिको सिटीका मेयर क्लाउडिया सेनबाउमले आधिकारिक हेलिकप्टरहरू शहरमा उडेको र कुनै पनि क्षतिको प्रारम्भिक रिपोर्ट नआएको बताएका छन् । “भूकम्पपछि शहरमा अहिलेसम्म कुनै क्षति भएको छैन,” उनले ट्वीट गरेका छन् ।
राष्ट्रिय भूकम्प विज्ञान एजेन्सीका अनुसार भूकम्प १२ किलोमिटर गहिराइमा रहेको थियो, यद्यपि युएसजिएसले मेक्सिको सिटीबाट ४१० किलोमिटर टाढा र २४ किलोमिटर गहिराइमा रहेको अनुमान गरेको छ ।
सन् १९८५ र २०१७ मा गएको दुईवटा घातक भूकम्पको वार्षिकोत्सवमा मेक्सिको सिटीमा लाखौं मानिसले आपत्कालीन अभ्यासमा भाग लिएको एक घण्टाभन्दा कम समयमैं सोमवारको भूकम्प आएको थियो । रासस