नेपाल टेलिकमको सेवाप्रति ग्राहकको गुनासो बढ्दो छ । पहिलो कुरा त टेलिकमको सेवा प्राप्त गर्न गा¥हो । जहाँ नेटवर्क तथा सञ्जाल विस्तार भएको छैन, त्यहाँ विस्तार गर्ने काम सेवाप्रदायक कम्पनीको हो । टेलिकमको सेवा निश्शुल्क होइन । व्यावसायिक प्रतिस्पर्धाको हिसाबले उसले तदारूकता देखाउनुपर्ने हो । अर्कोतर्फ नेपाल सरकारको स्वामित्वमा रहेको संस्थाको जिम्मेवारी सम्पूर्ण नेपाली सञ्चार सुविधाबाट वञ्चित हुन नपरोस् भन्ने पनि छ । तर व्यवहारमा यस्तो देखिएन । टेलिकमको नेटवर्क नभएको स्थानमा एउटा टावर स्थापना गर्नका लागि वर्षौं कुर्नुपर्छ । मन्त्री, पार्टीका नेतालगायतको पहुँच नलगाइ टेलिकमका अधिकारीले सुन्दैनन् । त्यसैगरी, टेलिकमको इन्टरनेट सेवा दिने फाइबर टु दी होम (एफटिटिएच) प्वाइन्ट विस्तार सुस्त छ । ग्राहकले पटकपटक आग्रह गर्दासमेत प्वाइन्ट विस्तार गरिंदैन । विकल्पमा निजी कम्पनीहरूले भने ग्राहक भएको सम्भावित क्षेत्र खोजीखोजी प्वाइन्ट विस्तार गरिरहेका छन् । शुल्क महँगै भएपनि मुलुकमा निजी कम्पनीको विस्तार र लोकप्रियता यत्तिकै बढेको होइन । टेलिकमको अकर्मन्यताका कारणले हो । टावर निर्माण भएपछि सेवा सुचारुका लागि सरकार खुशी पार्ने ध्याउन्नमा टेलिकमका अधिकारीहरू हुन्छन् । सकभर कुनै गतिलै मन्त्री उद्घाटनका लागि आइदिनुपर्छ । मन्त्री आउने साइत जुरेन भने वर्षौंसम्म पनि सेवाविनाको टावर ठिङ उभिएर मात्रै रहन्छ ।
सेवाप्रवाह भएका स्थानमा सेवाको गुणस्तरीयता एवं जवाफदेहिता छैन । मोबाइल प्रयोगकर्ता ग्राहकले भ्वाइस कलको लागि लिएको सापटीभन्दा बढी रकम कटेको, एकपटक सापटी लिएकोमा दुईपटक ब्यालेन्स कटेकोलगायतका गुनासाहरू पुराना हुन् । यही साता ५२० मिनेटको २८ दिने ‘अल भ्वाइस प्याक’ लिएर २०० मिनेट कुरा गर्दा समय बाँकी रहेकै अवस्थामा प्याकेज सकिएको वीरगंजका ग्राहकको गुनासो छ । त्यसैगरी, इन्टरनेट डाटा प्याक लिंदा समयभन्दा पहिले नै डाटा सकिएको सूचना आउनेलगायतका गुनासाहरू सार्वजनिक भएका छन् । अकस्मात् सेवा अवरुद्ध हुने, ग्रामीण क्षेत्रहरूमा पटकपटक सेवा अवरुद्ध हुनेलगायतका गुनासाहरू छन् । उक्त गुनासाहरू समाधान भएका छैनन् । कुनै कमीकमजोरी हुनु वा गुनासाहरू आउनु अनौठो कुरा होइन । तर गुनासा आएपछि त्यसलाई जिम्मेवार पक्षले कसरी लियो भन्ने महŒवपूर्ण कुरा हो ।
गुनासाका लागि टेलिकमले दिएको नम्बरमा फोन उठ्नु नै ग्राहकले अहोभाग्य ठान्नुपर्ने अवस्था छ । फोन उठे पनि उसले अर्को शाखाको जिम्मेवारी भन्दै टार्छ । सेवाग्राहीले हैरानी खेप्नुभन्दा गुनासाको एकद्वार प्रणाली हुनुपर्नेमा त्यसो हुँदैन । कुनै कर्मचारीले मनोज्ञानले कल फरवार्ड गरिदिए पनि त्यहाँ रिसिभ हुँदैन । टेलिकममा कतिसम्म लापरवाही हुनेरहेछ भन्ने कुरा केही दिन पहिले टेलिकमको फेसबूक पेज ह्याक घटनाले उजागर गरिसकेको छ । ग्राहकप्रति कति जिम्मेवार छन् भन्ने कुरा एनटिसी र निजी मोबाइल सेवा कम्पनीका रिचार्ज कार्ड हेरे पुग्छ । सिमकार्डको पछाडि दिइएका निर्देशनहरू किन यति साना अक्षर बुझ्नै गा¥हो हुनेगरी राखिन्छ ? सबै ग्राहकले पावरवाला चश्मा लगाएका हुँदैनन् । कार्यालयका कर्मचारीहरूको व्यवहार कुनै जङ्गी अधिकारीको जस्तो पाइन्छ । टेलिकमको सेवा सुधारका लागि सबैभन्दा पहिले यसको सोच, नीति साथै आबद्ध अधिकारी एवं कर्मचारीहरूको व्यवहार ग्राहकमुखी हुनुपर्छ ।