जेनेभा, १६ भदौ/सिन्हवा
विश्व स्वास्थ्य सङ्गठनले जाडो मौसम आएसँगै कोभिड–१९ का सङ्क्रमितको मृत्यु तथा अस्पताल भर्ना दर थप बढ्न सक्ने जनाएको छ।
हालैका दिनमा कोभिड–१९ का सङ्क्रमितको सङ्ख्या घट्दै गएको पाइएको भन्दै तर जाडो मौसममा भने यस्तो अवस्था नरहन सक्ने र कोभिड सङ्क्रमितको सङ्ख्या बढ्न सक्ने जनाइएको छ।
यसका साथै कोभिड सङ्क्रमितको मृत्यु दर तथा उनीहरू अस्पताल भर्ना हुने दरमा पनि बढोत्तरी हुन सक्ने विश्व स्वास्थ्य सङ्गठनले चेतावनी दिएको छ।
विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधनम ग्याब्रेसियसले बुधवार जेनेभामा पत्रकारसँग कुराकानी गर्ने क्रममा सो कुरा बताएका हुन्।
उनले भनेका थिए–“हामीले अहिले कोरोना भाइरसको घट्दो दरका साथ यसको स्वागत गरिरहेका छौं, तर चीसो मौसममा भने यस सङ्क्रमणको असर अझ बढी देखिन सक्छ, हामी अहिलेदेखि नै यसका लागि तयार रहनुपर्दछ।”
विश्वमा यसको सङ्क्रमणको पछिल्लो अवस्था हेर्दा घट्दै गएको तथ्याङ्कले देखाउँछ।
साप्ताहिकरूपमा गरिने यसको गणना अनुसार पछिल्लो हप्तामा यसको सङ्क्रमण ५३ लाख मानिसमा भएको देखिएको छ।
यो सङ्ख्या योभन्दा अघिल्लो हप्ताको तुलनामा नौ प्रतिशतले कम हो। त्यसैले अहिले कोरोना भाइरसको सङ्क्रमण घट्दै गएको भनेर यसको स्वागत गरेर बस्नुभन्दा जाडो मौसममा हुन सक्ने असरलाई मध्यनजर गरेर सतर्क रहनुपर्ने महानिर्देशक ग्याबे्रसियसले बताए।
विश्वव्यापीरूपमा क्रमशः कम भएपनि कोरियामा कोरोना सङ्क्रमण घटेन
सोल/ सिन्हवा
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ सङ्क्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए पनि दक्षिण कोरियामा भने अघिल्ला दिनका तुलनामा कारोनाजन्य मृत्यु र सङ्क्रमण बढेको छ। यद्यपि अघिल्ला साताका तुलनामा सङ्क्रमण दरमा भने केही कमी आएको छ।
दक्षिण कोरिया र मलेशियामा कोभिड–१९ सङ्क्रमणबाट ज्यान गुमाउनेहरूको सङ्ख्या बुधवार पनि अप्रत्याशितरूपमा बढेको छ। चिनियाँ समाचार समिति सिन्ह्वाका अनुसार मङ्गलवार दक्षिण कोरियामा ११२, मलेशियामा छजनाको र न्युजिल्यान्डमा दुर्ईजनाको मृत्यु भएको छ। मङ्गलवार न्युजिल्यान्डमा १७ जनाको मृत्यु भएको थियो।
दक्षिण कोरियामा भने महामारी साम्य हुने लक्षण देखिएको छैन। बुधवार एकै दिन ११२ जनाको मृत्यु भएको छ। योसँगै कोरियामा कोभिड लागेर ज्यान गुमाउनेको सङ्ख्या २६,८७६ पुगेको छ। बुधवार मध्यरात सार्वजनिक गरिएको विवरण अनुसार देशमा ८१,५७३ जना नयाँ सङ्क्रमित थपिएका छन्। हाल दक्षिण कोरियामा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या दुर्ई करोड ३३ लाख २७ हजार आठ सय ९७ पुगेको छ।
न्युजिल्यान्डको स्वास्थ्य मन्त्रालयले बुधवार जनाए अनुसार अघिल्लो महीनाको तुलनामा नयाँ सङ्क्रमितको सङ्ख्या लगातार घटेको छ। बुधवार मध्यरातसम्मको विवरण सार्वजनिक गर्दै सरकारी अधिकारीहरूले देशका विभिन्न भागमा २,०६६ जना नयाँ बिरामी थपिएको बताएका छन्। मङ्गलवार त्यहाँ २,२४४ जनामा सङ्क्रमण पुष्टि भएको थियो।
एक महीनाअघि न्युजिल्यान्डमा दैनिक १० हजारभन्दा बढी नयाँ सङ्क्रमित फेला परेका थिए। बिरामीहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ। हाल न्युजिल्यान्डमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या १७ लाख २६,८२० रहेको छ भने यो रोगको सङ्क्रमणबाट १,८९५ जनाले ज्यान गुमाएका छन्।
यसैबीच मलेशियामा मङ्गलवार मध्यरातसम्मको विवरण अनुसार छ जनाले कोभिड–१९ बाट ज्यान गुमाएका छन्। हालसम्म मलेशियामा ३६,२१६ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ। देशमा कुल ४७,८२,६२४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
बुधवार जेनेभामा पत्रकार सम्मेलन गरेर विश्व स्वास्थ्य सङ्गठनले कोरोना भाइरसका घटना र मृत्युको सङ्ख्या दक्षिणपूर्वी एशियाली देशमा बाहेक विश्वव्यापीरूपमा घटेको बताएको छ। गत साता संसारभर ४५ लाख नयाँ सङ्क्रमित थपिएका जनाउँदै उक्त विश्व संस्थाले विगतको तुलनामा त्यसमा १६ प्रतिशतले कमी आएको बताएको छ। सोही अवधिमा १३ प्रतिशतले मृत्युदर घटेको तथा १३,५०० जनाको कोभिडबाट मृत्यु भएको थियो।
डब्ल्युएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयसले उत्तरी गोलाद्र्धमा शिशिर यामको शुरूवातसँगै कोभिड–१९ को अझ खतरनाक लहर आउन सक्ने चेतावनी दिएका छन्। उनले धनी देशहरूमा खोप लगाउनेहरूको सङ्ख्या कम रहेकोमा चिन्ता पनि व्यक्त गरेका छन्। रासस