प्रस, पर्सागढी, २५ असोज/
लकडाउन, निषेधाज्ञाको अवधिमा लघुवित्त संस्थाहरूबाट लिएको ऋण, ऋणको साँवा, ब्याज तिर्न नसकेका महिला सदस्यहरू अहिले द्विविधामा परेका छन्।
नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था लि., सारथि लघुवित्त बैंक, छिमेकी लघुवित्त बैंकलगायतबाट ऋण लिएका हजारौं महिला अहिले बैंकले साँवा र ब्याज तिर्नका लागि पुनः ऋण लिन दबाब दिएपछि द्विविधामा परेका हुन्। बैंकले नयाँ कर्जा दिएर पुरानो कर्जा तिर्न समूहमा रहेका सदस्यहरूलाई भनेको छ।
नेशनल माइक्रो फाइनान्सका प्रमुख दयाराम प्रसादले ३ सय समूहमा ४ हजार महिला आबद्ध रहेको र उनीहरूलाई साँवा र ब्याज चुक्ताको लागि पुनः ऋण लिन आग्रह गरिएको बताए। उनले केही महिलाले यो अवधिमा ऋणको ब्याज मात्र तिरेको तर साँवा नतिरेको अवस्थामा पुनः सोही साँवाको ब्याज तिर्नुपर्ने हुनाले नयाँ ऋणको लागि आग्रह गरिएको बताए। लकडाउन, निषेधाज्ञाको कारण आर्थिक समस्यामा परेकाहरूलाई बैंकले थप ऋण दिएर भाका अनुसारको किस्ता तिर्न सुविधा दिएको दाबी गरे।
सारथि लघुवित्त बैंकका प्रमुख गजेन्द्र ठाकुर लोहारको पनि यही भनाइ छ। यस बैंकमा १९ सय ९२ वटा समूह छन् र त्यसमा २२ सय महिला आबद्ध छन्। सबैभन्दा बढी समूह छिमेकी लघुवित्त बैंकमा छ। यो बैंकमा ३३ सय समूह छन्। तर बैंकले सबै तथ्याङ्क दिन असमर्थता जनाएको छ। गोपनीयताको लागि तथ्याङ्क सार्वजनिक गर्न नमिल्ने सो बैंकका कर्मचारीले बताए।
अहिले लघुवित्त बैंकहरूले २० प्रतिशत ब्याज घटाएर १५ प्रतिशतमा झारेका छन्। लघुवित्त बैंकबाट ऋण लिने महिलाहरूले भने लकडाउन, निषेधाज्ञा अवधिमा ब्याज मात्र तिर्न सकेको र किस्ता तिर्नका लागि बैंकले भने अनुसार ऋण लिने हो भने दोहोरो आर्थिक भारमा पर्ने बताए।
बैंकले ऋण दिंदा ऋणीसँग डेढ प्रतिशतदेखि २ प्रतिशतसम्म सेवा शुल्क लिने गरेको छ। जतिपटक ऋण लियो सेवा शुल्क तिर्नुपर्छ। बैंकलाई किस्ताबापतको रकम आउने र सेवा शुल्कबाट थप आयआर्जन हुने भएपनि ऋणीहरूलाई भने आर्थिक भार थपिने उनीहरूले बताए।