• सुदर्शनराज पाण्डे

असल राजनीतिक व्यक्तित्व प्रदीप गिरीले बाँचुन्जेल सम्मानित र सार्थक जीवन बिताउनुभयो, मृत्युपर्यन्त पनि उच्च सम्मान पाउनुभयो । यो अवसर सबैले चाहेर पनि पाउन सक्दैनन् । प्रत्येक मानिसले जन्म लिएपछि यस धर्ती छाडेर विलीन हुनैपर्छ । समाजवादी नेता प्रदीप गिरी पनि स्वाभाविक मृत्युबाट यस संसार छाडेर सदाका लागि बिदा हुनुभएको छ, अलबिदा प्रदीप गिरी । राजनीतिक दूरदृष्टि भएका  नेपाली काङ्ग्रेसका मात्र नभएर देशकै नेता आदरणीय प्रदीप गिरीमा भावपूर्ण श्रद्धाञ्जलि तथा शोकसन्तप्त परिवारमा गहिरो समवेदना ।

मैले पहिलोपटक २०४१ सालमा प्रदीप दाइ र उहाँकी धर्मपत्नी भारती सिलवाललाई काठमाडौंमा भेटेर आफ्नो परिचय दिएको थिएँ । त्यसपछि दिल्ली गएको बखत बा¥ह खम्बा रोडनजीक उहाँसँग पत्रकार श्रीविलास दाहाल र मेरो अचानक भेट भयो । दुई दिनसम्म उहाँसँग बिताइयो । त्यहाँ बस्दा उहाँको कोठामा आएको र बाटोमा भेट भएका भारतीय जनता र नेताहरूले उहाँलाई सम्मानपूर्वक नमस्कार, खुट्टासमेत ढोकेको देखियो । प्रदीप गिरीको अनुरोधमा महŒवपूर्ण पुस्तकहरू राखिएको एउटा ठूलो बाकस हामीले रेलयात्रा हुँदै उहाँको जन्मथलो सिराहाको बस्तीपुरको घरमा पु¥याएका थियौं । पटक–पटक उहाँसँग विभिन्न कार्यक्रममा काठमाडौं, वीरगंज र विराटनगरमा भेट भएको थियो । नेपालमा पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आएपछि पहिलो संसदीय निर्वाचनमा सिराहामा केही दिन उहाँसँग बिताएको छु । मलाई मत होइन काङ्ग्रेसलाई मत, रूखलाई मत भनेर मतदातासमक्ष पुगेर मत मागेको देख्दा अनौठो लागेको थियो । सिराहाको निर्वाचन क्षेत्रका जनताले उहाँलाई हराएर नेकपा एमालेका धर्मनाथ साहलाई जिताएका थिए । चुनाव हारेपछि उहाँले हरेस खाएको देखिएन । प्रजातान्त्रिक समाजवादका प्रखर प्रवक्ता प्रदीप गिरीको समसामयिक प्रवचन सुनिरहेका सबैलाई सुनिरहुँजस्तो लाग्थ्यो । गिरीको प्रवचन काङ्ग्रेस कार्यकर्ताले मात्र होइन सबै दल र सबै राजनीतिक विचारका व्यक्तिले मन्त्रमुग्ध भएर सुनेको र प्रशंसा गरेको देखिन्थ्यो । गिरीले व्यक्त गर्नुभएको समसामयिक विचारले नेपाल र भारतका पत्रपत्रिकामा प्राथमिकताका साथ स्थान पाउँथ्यो । महान् प्रजातान्त्रिक नेता विपी कोइरालाको देहावसानपछि कोइराला परिवारद्वारा उपेक्षित गिरीलाई बाहिर वेटिङ प्राइममिनिस्टर भनेर चर्चा गरेको पाइन्थ्यो । रातदिन काङ्ग्रेसको नेता रहनुभएका गिरी नेपालीको चाहना भएर पनि नेपालको प्रधानमन्त्री हुन सक्नुभएन तर राजनेतामा हुनुपर्ने गुणलाई दृढतापूर्वक अघि सार्नुभयो । उहाँ राजनीतिकरूपमा सत्यवादी हुनुहुन्थ्यो । सत्य र यथार्थ कुरा भन्न र बोल्न उहाँ कहिले चुक्नुभएन । एउटा सच्चा आलोचकमा हुनुपर्ने गुण र व्यक्तित्व दुवै उहाँमा थियो । उहाँको दिवङ्गत आत्माले सदैव चिरशान्ति पाउनेछ । उहाँले संसार छाडेर गए पनि, भौतिक शरीर नरहे पनि, उहाँको नाम र विचार धेरैले बिर्सन सक्दैनन् । पवित्र राजनीतिक आत्मा भएका गिरी क्यान्सर रोगले थलिएर बस्दा धेरैले पीडाको अनुभव गरेका थिए । हे दैव १ भनेर स्वास्थ्यलाभको कामना गर्दागर्दै उहाँको मृत्यु भयो । मृत्यु शाश्वत सत्य हो । यो कसैले चाहेर रोक्न सकिंदैन । हामीले पनि सकेनौं । उहाँको योगदान र नामलाई हामीले सम्झिरह्यौं, स्मृति गरिरह्यौं भने उहाँ अमर रहनुहुन्छ ।

उहाँको मृत्युपर्यन्त उहाँका बारेमा विभिन्न धारणा प्रकट भएका छन् । सूक्ष्म र महान् नेता हुन्, प्रदीप गिरी । निश्चितरूपमा नेपालको राजनीतिका असाधारण व्यक्तित्व प्रदीप गिरीले कहिले सत्य कुरा लुकाउनुभएन । गलत कुराविरुद्ध खबरदारी गरिरहनुभयो । जसले गर्दा उहाँलाई प्रखर दीप भन्दा अत्युक्ति नहोला । बाँचुन्जेल असली व्यक्तित्व र चरित्र नचिन्ने, मरेपछि व्याख्या र वर्णन गर्ने बानी पनि राम्रो होइन ।

प्रदीप गिरीका बारेमा विभिन्न व्यक्तिहरूबाट व्यक्त भएका विचारहरू यस प्रकार छन् ।

प्रदीप गिरीलाई सत्ता र शक्तिमा रहेका नेताले पनि कहिल्यै हेप्न सकेनन् । सत्ताको भोक उहाँमा थिएन तर संसद् र दलको मञ्च चाहनुहुन्थ्यो । जनता र दलसँग जोडिन दलको केन्द्रीय कार्यसमितिमा सदैव बस्नुभयो । प्रदीपजी अलख जगाएर खाने जोगी होइन, विचार जगाउने जोगी हुनुहुन्थ्यो ।

–दुर्गा सुवेदी 

काङ्ग्रेसमा लागेको बारेमा गिरीको जवाफ हुन्थ्यो म पूर्ण राजनीतिक प्राणी होइन, राजनीतिको पोखरीमा चुर्लुम्म डुब्न चाहिनँ । काङ्ग्रेस खराब भएपनि व्यक्तिगत स्वतन्त्रतामा प्रहार गर्दैन ।

–कुलचन्द्र न्यौपाने

प्रदीप गिरीले रामायण, महाभारत, पुराण, माक्र्स, गाँधी, विपी, सङ्गीत, साहित्य, कला, संस्कृति आदि पढेर पचाउनुभयो । त्यसले उहाँलाई ज्ञान दियो,   प्रज्ञा दियो । अनि दियो आधिकारिकता, त्यो ज्ञानको सत्ता बन्यो । त्यसमा सुदीर्घको राजनीतिको संस्कार मिसियो । अनि बन्यो प्राधिकारसहितको प्रदीप गिरी ब्रान्ड ।

–शङ्कर तिवारी

समाजवादका प्रतिबद्ध नायक थिए, प्रदीप गिरी । प्रदीपजीको व्यक्तित्व बहुआयामिक थियो । तीमध्ये मुख्य बहुभाषिक हैसियतमा उहाँ हाम्रो मधेस तथा पहाडबीचको पक्का पुल हुनुहुन्थ्यो । दलभित्र पनि एक्लै हिंड्न सक्ने, सत्ताको स्वार्थ नभएका भिन्न सोचविचारका नायक हुनुहुन्थ्यो ।

–दमननाथ ढुङ्गाना

मधेस आन्दोलनन मात्र होइन, २०३६, २०४२, २०४६ को जनआन्दोलन, जनयुद्ध, २०६३ को जनआन्दोलनलाई पनि सफल बनाउन गिरीजीको भूमिका ठूलो थियो । हरेक आन्दोलन र पीडित जनसमुदायको आवाज उनी थिए । मधेस आन्दोलनका जानिफकार थिए । विभेदमा परेका आदिवासी, जनजाति, मधेसी, दलितका आवाज थिए, उनी ।

–उपेन्द्र यादव

देशलाई रूपान्तरणको ढङ्गबाट अघि बढाउन स्पष्ट दृष्टिकोण दिनुहुने गिरीजी बौद्धिक व्यक्तित्वका रूपमा स्थापित राजनीतिक प्रेरणाको स्रोत हुनुहुन्थ्यो । उहाँ सदैव समाजसेवामा मात्र राजनीतिलाई प्रयोग गर्नुभयो ।

–पुष्पकमल दाहाल

नेपाली काङ्ग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरी समावेशी राजनीतिका प्रखर वक्ता नेता थिए । उहाँलाई राजनीतिमा मात्र होइन, अन्य क्षेत्रका जानकारहरूले आआफ्नो क्षेत्र तथा समुदायको विषय विज्ञ र नेताका रूपमा स्मरण गर्छन् ।

–रामेश्वर राय

सिराहाको बस्तीपुरमा स्थायी घर भई हाल भीमसेन गोला काठमाडौंमा बसोबास गर्दै आउनुभएका प्रदीप गिरीको उपचार गर्दागर्दै भदौ ५ गते मृत्यु भयो । उहाँको बस्तीपुरमा समाधि गरिएन । काठमाडौं आर्यघाटमा अत्येष्टि गरियो । उहाँको अन्त्येष्टिका अवसरमा सबै पक्षका मानिसहरूको अपार भीडले भावपूर्ण श्रद्धाञ्जलि अर्पण ग¥यो । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदीप गिरीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । कोही पनि मानिस दोषबाट मुक्त हुन सक्दैन, प्रदीप गिरीको दोषलाई गुणले जितेको थियो । उहाँ राजनीतिमा बदनाम नभएको सुपात्र हो ।

भारतमा रहेर अध्ययन गर्नुभएका नेपालको सम्भ्रान्त गिरी परिवारको सदस्य प्रदीपलाई भारतको दोषी चश्माले पनि हेर्ने गरिन्थ्यो । नेपाल, भारत जहाँ गए पनि उहाँले व्यक्त गर्नुभएको विचारले सम्मान पाउँथ्यो । नेपालका एक स्थापित बौद्धिक, प्रजातान्त्रिक, समाजवादी नेता गिरीले विपी पथलाई अघि सारेर परलोक हुनुभएको छ ।

नेपाली काङ्ग्रेस, विपीवादी गिरीपन्थीहरूले यसलाई अनुसरण गर्ने हुन् वा नगर्ने हुन् प्रश्न खडा हुन सक्छ । आज उहाँ जन्मिएको थलो बस्तीपुर मात्र होइन, उहाँले पाइला टेकेको ठाउँ मात्र होइन, देशै नै गिरीको मृत्युले शोकाकुल छ । असल राजनीतिक व्यक्तिको मृत्युले नेपालको खस्कँदै गएको राजनीति र कूटनीतिमा झन्झन् क्षति पुग्न गएको छ । निष्ठाका धरोहर कम्युनिस्टलाई माक्र्सवाद पढाउने गुरु प्रदीप गिरीमा अन्तिम श्रद्धाञ्जलि ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here