चिरञ्जीवी सापकोटा, ठोरी, ९ भदौ/

ठोरी गाउँपालिका वडा नं १ मा जारी तीज कप नकआउट फूटबल प्रतियोगिताको प्रथम चरणको अन्तिम दिनको खेलमा वनशक्ति युवा क्लब, ठोरी–२, सुवर्ण युवा क्लब, ठोरी–५ र वनदेवी युवा क्लब, ठोरी–२ विजयी भएका छन् ।

पहिलो खेलमा समाज सुधार युवा क्लब, माडीलाई ०–१ गोल अन्तरले पराजित गर्दै वनशक्ति युवा क्लब, ठोरी दोस्रो चरणमा प्रवेश गरेको छ । वनशक्तिको जीतमा जर्सी नं १८ का विवेक गुरुङले १०औं मिनेटमा गरेको एकमात्र गोल नै निर्णायक साबित भयो । यस खेलको ‘म्यान अफ दी म्याच’ वनशक्तिका एकमात्र गोलकर्ता गुरुङ घोषित भए ।

दोस्रो खेलमा जनचेतना युवा क्लब ‘ए’, ठोरी–१ लाई ३–१ गोल अन्तरले पराजित गर्दै सुवर्ण युवा क्लब, ठोरी–५ ले पनि दोस्रो चरणको यात्रा सुरक्षित गरेको छ । सुवर्ण युवा क्लबको जीतमा जर्सी नं १४ का रूपेश पाख्रिनले एक गोल र जर्सी नं ७ का रोहन क्षेत्रीले दुई गोल गरेका थिए । सुवर्ण युवा क्लबको आत्मघाती गोलको कारण जनचेतना युवा क्लबले सान्त्वना एक गोल पायो । यस खेलको ‘म्यान अफ दी म्याच’ सुवर्ण युवा क्लबका रोहन क्षेत्री घोषित भए ।

तेस्रो तथा अन्तिम खेलमा जनचेतना युवा क्लब ‘बी’लाई ३–० गोल अन्तरले पराजित गर्दै वनदेवी युवा क्लब दोस्रो चरणमा प्रवेश गरेको छ । वनदेवीको जीतमा जर्सी नं १८ का प्रशान्त लामाले दुई गोल र जर्सी नं ३० का रोहन गुरुङले एक गोल गरेका थिए । यस खेलको ‘म्यान अफ दी म्याच’ वनदेवीका प्रशान्त लामा घोषित भए ।

भोलिदेखि दोस्रो चरणको खेल सञ्चालन हुने आयोजक समितिका अध्यक्ष जगेन्द्र पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलका अनुसार भोलिको पहिलो खेल सनराइज युवा क्लब, रामनगर र हरियाली युवा क्लब, हनुमाननगर, दोस्रो खेल रेडहिल युनाइटेड माडी र निर्मल समाज युवा क्लब, ठोरी–४ तथा अन्तिम खेल जनकल्याण तमु समाज माडी र आयोजक निर्मल समाज क्लब ‘बी’बीच हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here