• अनन्तकुमार लाल दास

निजी विद्यालयहरूको सरकारी शब्दावली ‘संस्थागत’ विद्यालय हो जो यतिखेर कम्पनी कानून अनुसार दर्ता भएको हुन्छ । यस अर्थमा यो प्रा.लि. हो । निजी विद्यालय त्यो हो जसले सरकारबाट मान्यता त पाएको छ तर सुविधा र संरक्षण पाएको छैन । लोक बोलचालमा निजी विद्यालयलाई बोर्डिङ स्कूल भनेर चिनिन्छ । उसो त बोर्डिङ स्कूल त्यो हो जहाँ आवासीय सुविधा उपलब्ध हुन्छ तर जनसामान्यमा निजी विद्यालय भन्नेबित्तिकै सगोलमा बोर्डिङ भन्ने चलन छ । बोर्डिङ भन्यो भने  सरकारी होइन भन्ने बुझिन्छ । बोर्डिङ अर्थात् निजी लगानीकर्ताहरूको पहल र संरक्षणमा हुर्किएको विद्यालय हो भन्ने बुझ्नुपर्ने हुन्छ ।

यस आलेखमा हामी त्यही बोर्डिङ स्कूलबारे चर्चा गर्छौं । शहरी क्षेत्रबाट विस्तार हुँदै ग्रामीण क्षेत्रमा समेत प्रभाव जमाउन सफल निजी स्रोतमा सञ्चालित स्कूलहरूले आफ्नो मौलिक पहिचान र पृथक अस्तित्व बनाइसकेका छन् । वि.सं. २०३८ सालपछि सरकारले निजी स्कूल खोल्ने स्वतन्त्रता दिएपछि निजी विद्यालयहरू पैmलँदै गएका हुन् । सरकारले सरकारी स्कूलको गुणस्तर वृद्धि गर्न नसकेको, राजनीतिकरण भएको र सार्वजनिक स्कूलहरूको गुणस्तर झन्झन् खस्कँदै जानाले सामान्य आर्थिक स्तर भएका अभिभावकले पनि आफ्ना छोराछोरीको भविष्य उज्ज्वल बनाउन बोर्डिङमैं पढाउन थालेका छन् । केही समय अघिसम्म बोर्डिङ धनीका सन्तान पढ्ने ठाउँ भन्ने जनधारणा थियो तर अहिले यो आम आवश्यकता भइसकेको छ । आज बोर्डिङ स्कूलको शिक्षा मध्यम वर्ग र केही निम्न मध्यमवर्गको पहुँच सम्म पुगेको छ ।

अहिले लोकतान्त्रिक गणतन्त्र छ । लोकतन्त्र भनेकै आधुनिक जीवन प्रणाली हो । यसमा खुला प्रतिस्पर्धा हुन्छ । व्यक्तिको क्षमता विकास गर्न कुनै बन्देज लगाइँदैन । जसले पनि पढ्न पाउँछ । पढ्नका लागि लिङ्ग, जाति र धर्मको कुनै छेकबार छैन । जसले पनि पढाइका लागि लगानी गर्न सक्छ र लगानी गरेर आफूले खोजेजस्तो परिणाम हासिल गर्न सक्छ । यो स्वतन्त्रता छ । यो स्वतन्त्रता नै बोर्डिङ स्कूलका लागि जीवनदायिनी आधार हो । प्रतिस्पर्धाले बोर्डिङ स्कूलहरूका लागि आकर्षण थपिदिएको छ । जो सफलता हासिल गर्न चाहन्छ उसले बोर्डिङ स्कूलको बाटो रोज्छ । यसबाट नै बोर्डिङ स्कूलको औचित्य पुष्टि हुन्छ । सरकारले बोर्डिङ स्कूलसँग भेदभाव गरे पनि, थिचोमिचो गरे पनि, अलगथलग पार्न खोजे पनि यो बोर्डिङ स्कूल पहाडी नदी झैं बाङ्गोटिङ्गो बाटो भए पनि निरन्तर बगिरहेको छ । निरन्तर आफ्नो यात्रामा छ । सरकारी स्कूलहरू रुग्ण हुँदै गएका छन् । कुपोषणको शिकार छन् । त्यहाँ भ्रष्टाचार र अनियमितता छ । त्यहाँ बेथितिका दस्तावेज थुप्रिएका छन् । शिक्षाको मन्दिर शिक्षकहरूको राजनीति गर्ने अखडा भएको छ । शिक्षा जस्तो पवित्र ठाउँलाई किनमेल र भनसुनको बाजार बनाइएको छ । सरकारी स्कूलहरूमा आफ्नै भविष्यका निमित्त निराशा छ ।

यता बोर्डिङ स्कूलहरू आशा लिएर धपक्क बलेका छन् । ती विद्यालयहरू कर तिर्छन् । अभिभावक भेला गरेर प्रगति सम्बन्धमा छलफल गर्छन् । विद्यार्थीहरूका लागि आकर्षक गन्तव्य बनेका छन् । राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादन गरिरहेका छन् । अहिले समाजको जुनसुकै क्षेत्रमा, जो जहाँ सफल भएको छ उसको बायोडाटा हेर्नुस् उनीहरू बोर्डिङ स्कूलबाट उत्तीर्ण गरेका छन् । अभिभावकहरूले पत्याएका छन् । कुनै पनि बोर्डिङ स्कूल सुकेको देख्नुहुन्न । सबै पल्लवित र पुष्पित भइराखेका छन् । शिक्षकहरू आत्मविश्वासले भरिएका भेटिन्छन् । विद्यार्थीहरूमा केही गर्छु भन्ने भावना भेटिन्छ । शिक्षाको बाजारमा दुईथरीको पसल छ–सरकारी र संस्थागत । अहिले संस्थागतसँग सम्बन्ध विस्तार गर्ने र आफ्नो सन्ततिलाई उन्नति दिने होड चलेको छ । कुनै पनि बोर्डिङ स्कूलले बाटो हिंड्ने विद्यार्थीलाई हात समाएर ल्याउँदैन, उल्टै शुल्क लिन्छ । तापनि सबै बोर्डिङ स्कूलमा विद्यार्थीहरूको चाप छ । यसले नै बोर्डिङ स्कूलहरूलाई अभिभावकहरूबाट लाल मोहर प्राप्त भएको छ । यो नै बोर्डिङ स्कूलहरूको सफलता हो । प्रतिस्पर्धात्मक जीवन शैली आजको विश्वव्यापी संस्कृति बनिसकेको छ । संसार यति सानो र विशिष्टीकृत हुँदै गएको छ कि एउटा सानो क्षेत्र वा विषयमा असीमित सम्भावना छ । प्रविधि र व्यावसायिक चमत्कारले मानिसलाई बहुआयामिक र बहुप्रतिभाशाली हुनैपर्ने अवस्था सिर्जना गरेको छ ।

हरेक मानिसले आफ्नो आन्तरिक क्षमताको अत्यधिक प्रस्फुटन गराउनुपर्ने अवस्था छ । सूचना र सञ्चारले हरेक काम, व्यवसाय र पेशालाई अत्यधिक प्रभाव पार्न थालेको छ । यस्तो अवस्थामा के हाम्रो शिक्षा विश्वव्यापीरूपमा प्रतिस्पर्धी छ त ? अवश्य छैन । निजी विद्यालयहरूले अहिले पनि कुल शैक्षिक भारको ठूलो प्रतिशत आफूभन्दा अलग राखेका छन् । यसले खासगरी सरकारलाई, जसले संविधानमा लेखिएको शिक्षाको अधिकार पालना गराउन खोजेको छ, यसतर्फ गम्भीर र सक्रिय रूपमा ध्यान दिन जरूरी छ । आज हरेक पेशागत सङ्गठनमा साना–मसिना कुरामा भुलेर ईष्र्या, सङ्कीर्णता पालेर सम्पर्क, संवाद र सूचनाको प्रभाव बिर्सेर एकाङ्गी ढङ्गले चल्ने प्रवृत्ति बढेको छ । यस्तो प्रवृत्ति नफस्टाओस् भनेर प्याब्सन र एन. प्याब्सन सचेत हुनु जरूरी छ ।

उदार अर्थतन्त्र र विश्वव्यापीकरणको वर्तमान भेलमा केही पैसा आर्जन गर्न स्कूल वा अन्य जुनसुकै क्षेत्रमा लगानी गर्न गा¥हो छैन । तर विद्यालय मानसम्मान, प्रतिष्ठा आर्जन र सेवाको क्षेत्र पनि हो । यो वर्तमानमा भविष्यको (विद्यार्थीको) व्यापार भएकोले संवेदनशील हुन्छ नै । त्यसैले गुणस्तरीयता, उदारता, सहृदयता, बौद्धिकता, प्रविधिगत विकास, विश्वव्यापी प्रवाह, सक्षम, सबल, दक्ष जनशक्ति उत्पादन गर्नेतर्फ लाग्नुपर्छ निजी विद्यालयहरू । मौकामा पैसा कमाई हालौं भनेर निकृष्टताको हद नाघियो भने नैतिक, भौतिक, सामाजिक वा कानूनी कुनै न कुनै रूपमा भोलि दण्डित वा अपहेलित हुनुपर्छ । यसलाई शिष्ट, सभ्य, सुपाच्य व्यापार बनाए साँच्चीकै ‘गुरु देवो भव’ हुन सक्छ । अहिलेजस्तो सरकारी विद्यालयभन्दा यति बढी जना, यति बढी प्रतिशत उत्तीर्ण भनेर नाक फुलाएर बस्ने हो भने समयसँगै निजी विद्यालयहरू पनि सरकारी विद्यालय जस्तै फ्लप हुने निश्चित छ । निजी विद्यालयहरूका सकारात्मक पक्षबारे स्वयं बोर्डिङ स्कूलहरूले गौरवका साथ बोल्न सक्नुपर्छ ।

बोर्डिङ स्कूल चलाउनु भनेको फूटपाथको पसल थापेको जस्तो होइन । एउटा स्कूल सञ्चालन गर्दा त्यहाँ पढिरहेका विद्यार्थीहरूको भविष्य सञ्चालकको हातमा हुन्छ । यो व्यवसायसँगै जवाफदेही र उत्तरदायित्व आउँछ । यो चप्पल वा रक्सी बेच्ने पसल होइन । निश्चितरूपमा बोर्डिङ स्कूलमा लगानी हुन्छ । कानूनले पनि यसलाई व्यवसाय मानेको छ । तर अरू व्यवसाय र यसमा भिन्नता भनेको यो व्यवसाय सार्वजनिक सेवामूलक हो । निजी बोर्डिङ स्कूल भनेर सञ्चालकले मनपरि गर्न सक्दैन । त्यहाँ अनुशासन हुन्छ, समूहगत कार्य हुन्छ र त्यहाँ एउटा संस्कृतिको विकास गरिएको हुन्छ । त्यहाँ एक–एक विद्यार्थीप्रति जिम्मेवारी हुन्छ । बोर्डिङ स्कूल आफ्नो सार्वजनिक छविप्रति संवेदनशील हुन्छ । तर आजकलका अधिकांश नेताहरू बोर्डिङ स्कूलबारे नकारात्मक धारणा राख्छन् । सरकारी पदाधिकारीहरूले बोर्डिङ स्कूल चलाउनेहरूलाई अपराधीको नजरले हेर्छन् । बोर्डिङ भन्ने बित्तिकै पैसा छाप्ने उद्योगको रूपमा जो, जुन पक्षले सबभन्दा चर्को स्वरमा कुरा उठाउँछ उही बोर्डिङमा चन्दा माग्न जान्छ । बोर्डिङसँग मोलमोलाइ गर्छ र आफ्नो स्वार्थ पूरा नभए हिलो छ्याप्छ । हरे राम कहिले सम्म यो अँध्यारोकाल रहिरहन्छ ?

सबैले बुझ्नु र स्विकार्नुपर्ने पक्ष के हो भने निजी स्कूलहरूले सरकारी स्कूलको तुलनामा गुणस्तरीय शिक्षा प्रदान गरेका छन् । निजी विद्यालयका जनशक्तिलाई देशको रोजगार बाजार र अन्तर्राष्ट्रिय क्षेत्रले पनि सरकारी उत्पादनभन्दा बढी प्राथमिकता दिएको देखिन्छ । राष्ट्रिय अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले सरकारी विद्यालयमा पढेकोभन्दा बोर्डिङ स्कूलमा पढेकालाई मान्यता दिन्छन् । बोर्डिङ स्कूलका उत्पादनमा आत्मविश्वासको मात्रा उच्च हुन्छ । तुलनात्मकरूपमा राम्रो वातावरणमा शिक्षा प्रदान गरिएको हुन्छ । नेपालका बोर्डिङ स्कूलहरूले गुणस्तरीय शिक्षाका लागि विदेशिनबाट केही मात्रामा भए पनि पैसा रोकेका छन् । शिक्षामा राष्ट्रले गर्नुपर्ने लगानीलाई निजी विद्यालयले शेयर गरेका छन् । प्रशस्त रोजगार दिएका छन् । शैक्षिक जागरुकता ल्याएका छन् । सही अर्थमा भन्ने हो बोर्डिङ स्कूलले शिक्षा क्षेत्रमा एउटा समानान्तर सत्ता खडा गरेको छ ।

सरकारी विद्यालयको तुलनामा धेरै राम्रो गुणस्तर निजी विद्यालयले कायम गरेका छन् । त्यो अनुभूति जनसमुदायमा पनि परिसकेको छ र सामान्य व्यक्तिले पनि आफ्ना छोराछोरी निजी विद्यालयमा भर्ना गर्न थालेका छन् तर अन्तर्राष्ट्रिय स्तरमा तुलना गर्दा हामी पछाडि नै छौं । युरोप र अमेरिकासँग त तुलना गर्नै मिल्दैन । हामीले अन्तर्राष्ट्रिय स्तरको शिक्षा दिन नसक्नुमा सरकारी नीति प्रमुख जिम्मेवार छ । व्यावहारिक, दीर्घकालीन, आधुनिक, समयसापेक्ष शैक्षिक नीति र शैक्षिक संस्थाको सुरक्षा, कानूनी मान्यता जस्ता कुरामा सरकारको सकारात्मक सोच चाहिन्छ । निजी स्कूलहरूको विरोध गर्नेहरू धेरै निस्केका छन् तर सबैलाई हामीले बुझाउन सकेका छैनौं । हामी संस्थागतरूपमा–निजी विद्यालयका सञ्चालकहरू दलको पुच्छर बनेर त्यति सशक्त हुन सकिरहेका छैनौं ।

आजसम्म बोर्डिङ स्कूलहरू आफ्नै खुट्टामा उभिएका छन् । आफ्नो पहिचान बनाउन सङ्घर्ष गरेका छन् । अभिभावकहरूमा भरोसा एक दिनमा कायम भएको छैन । त्यो दशकौंको मिहिनेत हो । सरकारी रवैया त जुनसुकै व्यवस्था रहेपनि छेकबार लगाउने रहेको छ । यो भन्नुको अर्थ बोर्डिङ स्कूलको जीवन र मरण ऊ आफूभित्रै छ । तर आज भन्नुपरेको छ बोर्डिङ स्कूल आफूलाई जोगाइराख्न चाहन्छ । देशको नवनिर्माणको लागि बोर्डिङ स्कूल जोगाउनुपरेको छ । बोर्डिङ स्कूललाई सबैभन्दा पहिले कसैले जोगाउँछ भने त्यो बोर्डिङ स्कूल नै हो । यसका निमित्त बोर्डिङ स्कूलहरू इतिहास र परम्पराले सुम्पिदिएको जिम्मेवारीप्रति सदैव प्रतिबद्ध, गतिशील र निरन्तर लागिराख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here