प्रस, निजगढ, ३१ साउन/

निजगढ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षको ताला खोेलेपछि नगर कार्यपालिकाका बहुमत सदस्यहरूले नगरप्रमुख सुरथ पुरी र उपप्रमुख सोममाया थिड्ढो कार्यकक्षमा लगाएको ताला मङ्गलवार खोलेका छन् ।

२०७९/०४/११ गते सचिवस्तरको निर्णयले थाहा नगरपालिका मकवानपुरमा कार्यरत उपसचिव हरिलाल पुरीलाई निजगढमा सरुवा र सुमनकुमार कार्कीलाई जिल्लाकै पचरौतामा सरुवा गरे पनि सो निर्णय एक साता पनि नबित्दै कार्कीलाई निजगढमैं पुनर्बहाली गरिदिएपछि नगरप्रमुख पुरीले कार्कीको कार्यकक्षमा तालाबन्दी गरी कार्यालय आउन अवरोध गर्दै हाजिरीसमेत गर्न दिएका थिएनन् ।

आफू नगरप्रमुख भएदेखि नै प्रमुख प्रशासकीय अधिकृत कार्कीले असहयोग गर्दै आएको आरोप लगाउँदै मन्त्रालयको अपरिपक्व आदेश, प्राकृतिक नियमविपरीत कार्कीको निजगढमा पुनर्बहालीले उनलाई हाजिर गराउन नसक्ने नगरप्रमुख पुरीले अडान राखेका थिए ।

मन्त्रालयले निजगढ नपामा पुनर्बहाली गरेका कार्कीलाई २०७९/०४/२६ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मन्त्रालयमैं खटाएपछि नगरप्रमुख पुरीको निर्देशनमा ताला खोली प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षबाट झिकिएको विद्युतीय बायोमेट्रिक हाजिरीयन्त्र जडान गरी सञ्चालनमा आएपछि आफूहरूले पनि नगरप्रमुख र उपप्रमुखको कार्यकक्षमा एक साताअघि लगाएको ताला खोली दैनिक सेवाप्रवाहलाई सहज बनाएको बहुमत कार्यपालिका सदस्य टोलीका नेतृत्वकर्ता वडाध्यक्ष सूर्य घलानले जानकारी दिए । उनले मन्त्रालयले जसलाई प्रमुख प्रशासकीय अधिकृत तोकेर पठाउँछन्, उसैलाई सहज, भयरहित वातावरणमा दैनिक कामकाज गर्न दिनुपर्छ भनी बताए । तर नगरप्रमुख पुरीले नमान्दा समस्या जटिल बन्न पुगेको हो, उनले भने ।

 “अब नगरपालिकाको थाती रहेका नगरसभा, वार्षिक बजेट र कार्ययोजना, भूमिसम्बन्धी समस्या, मलखादको सहज उपलब्धलगायतका कार्य छिटोभन्दा छिटो गराउन नगरप्रमुखको सकारात्मक भूमिकाको अपेक्षा राखेका छौ,” बहुमत कार्यपालिका सदस्यहरूको भनाइ छ ।

यता मन्त्रालयमा कामकाजमा खटाइएका कार्कीको अन्यत्र स्थानमा भने सरुवा नभएको मन्त्रालय स्रोतले जनाएको छ । “नगरपालिकामा तत्कालका लागि हाजिर हुन सक्ने वातावरण सिर्जना नभएकोले उपसचिव कार्कीलाई मन्त्रालयमा कामकाज गर्न खटाइएको हो,” उक्त स्रोतले भन्यो । यता कार्की पुनः निजगढमैं आउने हो कि भन्ने त्रास अझै नगरप्रमुख पुरी र उपप्रमुख थिङलगायत नगरप्रमुख पक्षधर जनप्रतिनिधिहरूलाई छ । अन्यत्र सरुवा नहुन्जेलसम्म कार्की निजगढ नपामैं पुनः आउन सक्ने प्रबल सम्भावना छ । सकभर अन्यत्र नै सरुवा गराउन सकिन्छ कि भन्ने जोडबलमा नगरप्रमुख पुरी र उपप्रमुख थिङ सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र शक्तिकेन्द्रमा धाइरहेको बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here