प्रस, वीरगंज, २८ साउन/

हुलाकी राजमार्ग अन्तर्गत वीरगंज–ठोरी खण्डमा पर्ने तिलावे नदीमा अधूरो पुलको शनिवार उद्घाटन भएको छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राइनले आज बिहान पुल उद्घाटन गरे ।

सडक विभागका महानिर्देशक अर्जुनजंग थापाको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वन तथा वातावरणमन्त्री प्रदीप यादव, निलम्बित सांसद हरिनारायण रौनियार, प्रदेशसभा सदस्य करिमा बेगम, जन्नत अन्सारी, वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादवलगायतको सहभागिता थियो ।

सात करोड ७१ लाखको बजेटमा  १०० मिटर लामो र ७ मिटर चौडा पुल निर्माण भएको हो । ठेकेदार कम्पनीले ५ करोड ३१ लाख भुक्तानीसमेत पाइसकेको छ । पुल ३ वर्षमा निर्माण सक्नेगरी २०७२ सालमा ठेक्का लागेको थियो । पप्पु/लुम्बिनी जेभीले पुल निर्माण ठेक्का सकार गरे पनि पछि पप्पुले हात तानेको थियो ।

तीन वर्षमा सम्पन्न गर्नुपर्ने काममा सात वर्ष लागेको छ । पुलको काम सम्पन्न भए एप्रोच सडक तथा नदी नियन्त्रणको काम भने अधूरो छ ।

पुरानो तिलावे पुल साँघुरो भएको कारण अधूरै भए पनि नयाँ पुल सञ्चालनमा ल्याइएको छ । हुलाकी राजमार्ग निर्देशनालय कार्यालय वीरगंजका सूचना अधिकारी दुर्गा मण्डलले मन्त्रालयको निर्देशन अनुसार पुल उद्घाटनको कार्यक्रम बनेको बताए ।

साँघुरो पुलबाट राहत

पुल सञ्चालनमा आउनुअघि पुरानो र साँघुरो पुलबाट सवारीका साधन आउजाउ हुने गरेको थियो । साँघुरो पुलबाट दैनिक सयौं सवारी साधन आउजाउ हुँदा पुलमै घण्टौं ट्राफिक जाम हुँदै आएकोमा अब सो समस्याबाट मुक्ति मिलेको छ ।

अधूरो काम चाँडै शुरू गरिने

सम्पर्क सडक र नदी तटबन्धनको कार्य बर्खा सकिएलगत्तै शुरू हुने आयोजनाले जनाएको छ । अहिले सम्पर्क सडक बनाउँदा भर्खर हालेको माटो भासिने र नदीमा पानी बढी भएकोले तटबन्धन गर्न नमिल्ने बताइएको छ ।

किन भयो ढिलाइ ?

२०७२ जेठ २५ गते पुल निर्माणको सम्झौता भएकोमा आयोजनाले नक्शा स्वीकृति गर्नै तीन वर्ष समय लगाएको थियो । तीन वर्षमा पुल निर्माण गरिसक्ने सम्झौता थियो । २०७५ मा काम शुरू भएको थियो । पुल निर्माणका लागि साबिक पुलबाट आवागमन बन्द गर्नुपर्नेमा डाइभर्सन निर्माणमा पनि ढिलाइ भएको थियो ।

आयोजनाले २०७५ फागुन २३ मात्रै डाइभर्सन निर्माणको कार्यादेश दियो । यो परियोजना ढिला भएपछि चारपटक म्याद थप भएको र दुई दिन अघि ८० प्रतिशत काम सम्पन्न भएको सूचना अधिकारी मण्डलले जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here