प्रस, वीरगंज, २६ साउन/

वीरगंज भन्ंसारका कर्मचारी कुट्ने तीनजना नेपाल प्रहरीका जवानलाई जिल्ला प्रहरी कार्यालय, पर्साले कारबाई प्रक्रिया शुरू गरेको छ ।

बिहीवार राति भन्सारको बन्द मूलगेट खुलाउने विषयमा विवाद भएपछि भन्सार कर्मचारी (पियन) बमबहादुर विशङ्खेलाई नेपाल प्रहरीका जवानहरूले कुटपिट गरेको भिडियो सार्वजनिक भएको थियो ।

जिप्रका, पर्साका प्रहरी नायब उपरीक्षक प्रह्लाद कार्कीले प्रहरी चौकी इनर्वामा कार्यरत प्रहरी हवलदार ईश्वर यादव, सहायक हवलदार रमेश भट्ट र प्रहरी जवान राजु यादवलाई जिल्लामा तानेर विभागीय कारबाई शुरू गरिएको बताए ।

घटनाको सिसिटिभी फुटेज बाहिरिएपछि पर्सा प्रहरीको चौतर्फी आलोचना भएको थियो ।

घटना विवरण अनुसार वीरगंज भन्सारको मूलगेट राति १० बजेपछि बन्द हुने नियम छ । सुरक्षासँग सम्बन्धित, बिरामी बोकेका एम्बुलेन्सलगायत विशेष परिस्थितिमा मात्र भन्सारको मूलगेट राति १० बजेपछि खोल्नुपर्ने प्रावधान छ । तर समाचार स्रोतका अनुसार राति सशस्त्र र जनपद प्रहरी तथा भन्सार कर्मचारीहरूले मिलेमतो गरी भारतीय गाडीसँग रु एक हजार नजराना लिएर अबेर राति पनि भन्सारको मूलगेट खोल्ने गरेका छन् ।

विवाद हुनुभन्दा अघि भारतीय तस्करहरूसँग ती प्रहरीहरूले नजीकैको होटलमा रक्सी–मासु खाएको र त्यसपछि मूलगेट खोल्न जाँदा विवाद उत्पन्न भएको स्रोतले जनाएको छ ।

बन्द गेट खुलाउन प्रहरी हवलदार भट्टले भन्सार कर्मचारी विशङ्खेलाई दबाब दिएका थिए । तर कर्मचारी विशङ्खे नमानेपछि उनीमाथि कुटपिट भएको थियो । रक्सीले मात्तिएका प्रहरी हवलदार भट्टले विशङ्खेलाई कुटपिट गरेको बताइन्छ । कारबाईमा परेका प्रहरी जवानहरूलाई जिम्मेवारीबाट मुक्त गरिएको प्रवक्ता खनालले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here