प्रस, वीरगंज, २५ साउन/
कृषि सामग्री कम्पनी, वीरगंजले साउन २६ गतेदेखि मल वितरण गर्ने भएको छ ।
सरकारले ओमानबाट आयात गरेको ३० हजार मेट्रिक टन रासायनिक मलमध्ये साउन १९ गतेदेखि एक साता अवधिमा साढे सात हजार मेट्रिक टन मल वीरगंजस्थित सुक्खा बन्दरगाह भन्सारमा आएर कम्पनीको गोदाममा भण्डार भइसकेको छ ।
भण्डार गरिएको मलको नमूना परीक्षण भएर आइसकेको र भोलि बिहीवारदेखि वितरण हुने बताइएको छ ।
सरकारले ओमानबाट ३० हजार मेट्रिक टन मल आयातको लागि स्वीस सिङ्गापुर ओभरसिज इन्टरप्राइजेजलाई ग्लोबल टेन्डरमार्फत आयात इजाजत प्रदान गरेको थियो ।
साउन १९ गते दुई हजार ५०० मेट्रिक टन अर्थात् ५० हजार बोरा मल वीरगंज आएको थियो भने साउन २१ र २३ गते थप पाँच हजार मेट्रिक टन मल वीरगंज आइपुगेको कृषि सामग्री कम्पनी, वीरगंजले जनाएको छ ।
पहिलो लटमा आएको मल परीक्षणका लागि पठाइएको र रिपोर्ट आइपुगेको र भोलि साउन २६ गतेदेखि वितरण हुने बताइएको छ ।
ओमानबाट आउने ३० हजार मेट्रिक टन मलमध्ये २२ हजार ५०० मेट्रिक टन वीरगंजस्थित सुक्खा बन्दरगाहमा र साढे सात हजार मेट्रिक टन मल विराटनगरस्थित सुक्खा बन्दरगाहमा आउने तालिका छ । वीरगंज कार्यालयबाट मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका १६ वटा जिल्लामा मल वितरण हुने बताइएको छ ।