• अनन्तकुमार लाल दास

विद्यार्थीहरूको चौतर्फी विकासका लागि विद्यालय र विद्यार्थीको परिवारबीच सुमधुर सम्बन्ध हुनु धेरै आवश्यक हुन्छ । विद्यार्थीहरू विद्यालय भन्दा बढी समय घरमा व्यतीत गर्छन् । यस कारण पनि उनीहरूको सन्तुलित व्यक्तित्व विकासको लागि विद्यालय र परिवार दुवैको भूमिका महŒवपूर्ण हुन जान्छ । यदि विद्यार्थीको घरको वातावरण विद्यालयको वातावरणभन्दा विपरीत छ भने विद्यार्थीको विकासमा नराम्रो प्रभाव पर्छ । परिणामस्वरूप विद्यार्थीहरूलाई सही र गलतको पहिचान गर्न गा¥हो हुन्छ वा उसले गर्न सक्दैन । यदि गर्छ भने पनि शङ्कास्पद स्थिति बनिरहन्छ । यस कारण विद्यार्थीको परिवार र विद्यालयबीच आपसी सम्बन्ध मधुर हुनु अति आवश्यक छ जुन हिजो आज देखापरिरहेको छैन ।

विद्यालय र परिवारबीच हुने सुमधुर सम्बन्धको सकारात्मक प्रभाव विद्यार्थीहरूको व्यक्तित्वमाथि पर्छ । यस कारण विद्यालय र घरको वातावरणमा समानता हुनुपर्छ । यो समानता नभएकै कारण विद्यालयले अभिभावकमाथि र अभिभावकले विद्यालयमाथि दोष थुपार्ने काम हुने गरेको छ । यदि दुवैबीच राम्रो सम्बन्ध हुन्छ भने विद्यार्थीले जुन कुरो घरमा सिकेको छ त्यसको अभ्यास उसले आफ्नो व्यवहारमा विद्यालयमा ल्याउन सक्छ । यसैगरी विद्यालयमा सिकेको ज्ञानको पुनरावृत्ति र अभ्यास उसले घरमा गर्न सक्छ ।

परिवार र विद्यालयबीच राम्रो सम्बन्धको अर्को लाभ विद्यार्थीको व्यवहारबारे अभिभावकलाई जानकारी भइरहन्छ, जसबाट विद्यार्थीको विकासका लागि निर्देशन प्राप्त हुन्छ । यो त्यस बेला मात्र सम्भव छ जब विद्यार्थीको परिवार र विद्यालयबीच स्वस्थ सम्बन्ध हुन्छ । यसो हुँदा आमाबुवाले शिक्षकको सल्लाह अनुसार केटाकेटीलाई सुमार्गतर्फ निर्देशन दिन सक्छन् । यदि विद्यार्थीले समयानुकूल उचित निर्देशन पाउँछ भने आफ्नो रुचि र योग्यतालाई सही दिशामा विकसित गर्न सक्छ । यदि घर र विद्यालयबीच राम्रो सामञ्जस्य छ भने विद्यार्थीमा राम्रो बानीको विकास हुन्छस रिस, आवेग र द्वेषजस्ता व्यवहारजन्य कुराहरू उत्पन्न नै हुँदैन । यसर्थ पनि दुवैबीच स्वस्थ सम्बन्ध हुनु आवश्यक छ ।

आधुनिक युगमा धेरैजसो विद्यार्थीहरू एकल परिवारमा बस्छन् जहाँ धेरै कम सदस्य हुन्छन् । जब कुनै केटा वा केटी विद्यालय जान थाल्छन् उसलाई शिक्षक, साथीहरू र अन्य विद्यार्थीहरूसँग आफ्नो समायोजन गर्नुपर्छ । विद्यालय परिवारमा ऊ कसरी घुलमिल गर्छ त्यसको जानकारी पनि विद्यालयद्वारा नै हुन्छ । यसबाहेक उनीहरूको गुण र अवगुणको जानकारी पनि प्राप्त हुन्छ, जसलाई आमाबुवाले समयमैं सुधार्न सक्छन् । यस परिवेशमा शिक्षकहरूको पनि सहयोग लिन सकिन्छ । यस कारण विद्यालय र परिवारबीच सम्बन्ध हुनु नितान्त आवश्यक छ ।

हिजोआज आमाबुवाले पनि आफ्नो सन्तानको शिक्षामा महŒवपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । उनीहरू सधैं सन्तानको शिक्षाप्रति चिन्तित देखिन्छन् । सन्तानको शिक्षामा जति बढी सक्रिय हुन्छन् विद्यालय र परिवारबीच त्यतिकै राम्रो सम्बन्ध स्थापित हुन्छ ।

प्रायः अभिभावकहरूलाई विद्यालयमा हुने विभिन्न गतिविधिबारे जानकारी दिइँदैन । यस कारण उनीहरूमा विद्यालयको गतिविधिप्रति असन्तोष बनिरहन्छ । जुन हिजोआज पटक–पटक विभिन्न रूपमा देखा पनि परिरहेको छ । यस कारण विद्यालयमा हुने गतिविधिमा अभिभावकहरूलाई पनि सम्मिलित गर्नु आवश्यक छ । यदि विद्यालय र अभिभावक मिलेर कुनै योजनामा काम गर्छन् भने उनीहरूबीच सन्तोषजनक सम्बन्ध स्थापित हुन सक्छ ।

विद्यालय र विद्यार्थीको परिवारबीच सौहार्दपूर्ण सम्बन्ध कायम गर्न विद्यालयमा हुने कार्यक्रमहरूमा अभिभावकहरूलाई बढीभन्दा बढी सहभागी गराउनुपर्छ । साथै दुवैबीच कुनै न कुनै बहानामा संवाद कायम रहनुपर्छ । यो संवाद विद्यार्थी डायरी, टेलिफोन र व्यक्तिगत सम्पर्कद्वारा विकसित गर्न सकिन्छ । कहिलेकाहीं विद्यार्थीहरू घरमा कसरी समय व्यतीत गर्छन् भनी जान्नको लागि शिक्षकहरू विद्यार्थीको घर पनि जानुपर्छ । यसबाहेक अभिभावकबाट प्राप्त जानकारीलाई शिक्षकहरूले डायरीमा नोट गर्नुपर्छ । यस प्रकारको जानकारीबाट नै सम्बन्धित विद्यार्थी विद्यालयमा कस्तो व्यवहार गर्छ भन्ने कुरा थाहा हुन्छ । आकस्मिक भ्रमण र व्यक्तिगत कुराकानीले शिक्षक र अभिभावकबीच, सम्बन्ध गहिरो हुन्छ । विद्यालय प्रशासनले पनि समय–समयमा यस प्रकारको गोष्ठीको आयोजना गर्नुपर्छ । गोष्ठीबाट विद्यार्थीको विकास कसरी गर्ने भन्ने कुरा थाहा हुन्छ ।

यसैगरी अभिभावकहरूले समयानुसार विद्यालयको पनि निरीक्षण गरिराख्नुपर्छ र विद्यालयले एउटा सुझाव पुस्तिका राखिदिनुपर्छ जसमा अभिभावकहरूले आफ्नो सुझाव लेख्न सक्छन् । यस प्रकारको भ्रमणले आफ्नो सन्तान सोही उमेरका साथीहरूसँग कसरी व्यवहार गरिराखेको छ भन्ने थाहा हुन्छ भने शिक्षकहरू कसरी विद्यार्थीलाई निर्देशित गरिरहेका छन् भन्ने पनि थाहा हुन्छ ।

यहाँ के प्रश्न उठ्नु स्वाभाविक छ भने परिवार र विद्यालयबीच सम्बन्ध स्थापित गर्न कुन विधि अख्तियार गर्ने ? यस प्रकारको सम्बन्ध स्थापित गर्ने धेरै विधि छन् जसलाई दुई भागमा बाँडेर छलफल गर्न सकिन्छ । पहिलो हो– व्यक्तिगत विधि जसमा अभिभावक र शिक्षक दुवै व्यक्तिगतरूपले एक अर्काको समस्याको समधान गर्ने प्रयास गर्छन् । यस विधिमा शिक्षक स्वयं विद्यार्थीको घर गएर अभिभावकसँग कुरा गर्छ र विद्यार्थीको मूल समस्या बुझ्ने प्रयास गर्छ । विद्यार्थीको घर जाँदा शिक्षकले के कुरा ध्यान राख्नुपर्छ भने अभिभावक घरमा उपलब्ध होस् । अभिभावकले भन्ने कुरा शिक्षकले लेख्दै जानुपर्छ । कुनै समस्याको समाधान एक्लै सम्भव छैन भने अभिभावकको पनि सहयोग लिनुपर्छ । अभिभावकको विचार पनि स्वीकार गर्नुपर्छ र उनीहरूलाई पनि समस्या समाधानको लागि सकारात्मकरूपले प्रोत्साहित गर्नुपर्छ ।

यसैगरी विद्यार्थी सम्बन्धित आफ्नो समस्या समाधानका लागि अभिभावकहरू विद्यालय गएर शिक्षकहरूसँग कुराकानी गर्नुपर्छ । विद्यालयको भ्रमण गर्दा अभिभावकहरूले पनि के कुरा ध्यानमा राख्नुपर्छ भने शिक्षकले विद्यार्थीहरूलाई कसरी सम्झाइबुझाइरहेका छन् ? के उसको सन्तान आफ्नो योग्यता सही ढङ्गले प्रस्तुत गरिरहेको छ ? अभिभावकले के बुझ्ने प्रयास गर्नुपर्छ भने उसको सन्तानले आफ्नो काम कति आत्मनिर्भरताका साथ गरिरहेको छ ?

दोस्रो हो–सामूहिक विधि, जसमा शिक्षक र अभिभावक एउटा समूहमा कुराकानी गर्छन् । यस विधिमा शिक्षकले अभिभावकको एक समूहलाई विद्यालयमा आमन्त्रित गरेर सबैसँग परिचर्चा गर्छ । शिक्षक र अभिभावक दुवैले आआफ्नो समस्या राख्छन् वा त्यसको समाधान बारे विचारविमर्श गर्छन् । सामूहिक विधि अन्तर्गत नै तोकिएको मितिमा एउटा कक्षाका सबै अभिभावक विद्यालयमा भेला हुन्छन् र एकअर्काको समस्या ध्यान दिएर सुन्छन् र समस्या समाधानका लागि आपसमा सल्लाह गर्छन् । यस प्रकारको भेलामा अभिभावकले विषयगत शिक्षकलाई पनि भेट्छन् र आफ्नो समस्या राख्छन् र शिक्षकले पनि विद्यार्थीको प्रगति सम्बन्धमा जानकारी साटासाट गर्छन् । यस प्रकारको भेला गर्दा ध्यान दिनुपर्ने कुरा के हो भने भेलाको उद्देश्य पहिले नै निर्धारित गर्नुपर्छ । भेलामा प्रस्तुत गर्ने समस्या साझा हुनुपर्छ । बैठकको मिति र समय एक सातापहिले जानकारी दिनुपर्छ । जुन कुरामा चर्चा परिचर्चा गर्नु छ त्यो पहिलेदेखि नै तयार हुनुपर्छ ।

यसबाहेक विद्यार्थीहरूको डायरी पनि अभिभावक–शिक्षक सम्बन्धको एउटा माध्यम हो । प्रायः डायरीमा शिक्षकले आवश्यक सूचना लेखेर दिन्छन् जसलाई अभिभावकहरूले घरमा पढ्छन् । साना केटाकेटीहरूको लागि डायरी एउटा उपयोगी साधन हो । केटाकेटीहरूको गृहकार्य र बिदाको सूचना जसलाई साना केटाकेटीहरू घरमा बताउन सक्दैनन्, डायरीमा लेखेर अभिभावकलाई सूचित गर्छन् । घरमा अभिभावकहरूले त्यस सूचनालाई पढेर विद्यार्थीहरूलाई सोही अनुसार निर्देशित गर्छन् । यसरी अभिभावक र विद्यालयबीच सम्बन्ध बनिरहन्छ । यसैगरी प्रगति विवरणपत्रमार्फत पनि अभिभावकहरूलाई विद्यार्थीको प्रगतिबारे जानकारी हुन्छ ।

विद्यालय जुन उद्देश्यको प्राप्तिका लागि प्रयासरत छ, त्यसलाई विद्यार्थीको परिवारको सहयोगबेगर हासिल गर्न सकिंदैन । यस कारण विद्यार्थीहरूको प्रगति विवरणपत्र समय–समयमा विद्यालयले घर पठाउनुपर्छ । शिक्षकहरूले पनि अभिभावकको परिस्थितिमाथि सहानुभूतिपूर्वक विचार–विमर्श गर्नुपर्छ र अभिभावकले पनि विद्यालयको स्थिति बुझिदिनुपर्छ । विद्यार्थीहरूमा विद्यालय र शिक्षकहरूप्रति स्वस्थ अभिवृत्ति वृद्धि गर्नुपर्छ । विद्यालयमा हुने कार्यक्रममा अभिभावकको सहयोग लिनुपर्छ । प्रत्येक विद्यालयमा शिक्षक–अभिभावक सङ्घ स्थापित गर्नुपर्छ । यसखाले सङ्घको माध्यमले अभिभावकहरू विद्यालयमा रुचि लिन थाल्छन् । अभिभावकसँग शिक्षक र विद्यालयको व्यवहार सहानुभूतिपूर्ण हुनुपर्छ । यसरी शिक्षकले अभिभावकको विश्वास हासिल गर्न सक्छन् । विद्यालयले पनि समयानुकूल शिक्षक, अभिभावक र विद्यार्थीहरूको लागि सामाजिक र सांस्कृतिक कार्यक्रमहरूको आयोजना गर्नुपर्छ । विद्यालयमा समय–समयमा शिक्षक अभिभावक बैठक हुनपर्छ जसमा विद्यार्थीसँग सम्बन्धित समस्यामाथि छलफल गर्न सकिन्छ ।

यदि शिक्षक र अभिभावक दुवैले एकअर्काको आलोचना वा एकअर्कामाथि मात्र दोषारोपण गर्छन् भने विद्यार्थीमा कुनै पनि प्रकारको परिवर्तन ल्याउन सकिंदैन । अभिभावकलाई जबसम्म विद्यालयमाथि भरोसा हुँदैन तबसम्म उसले परिवर्तनको प्रतिरोध गर्छ । शिक्षकहरूले पहल गर्नुपर्छ र अभिभावकसँग मिलेर काम गर्नुपर्छ, अनि मात्र विद्यार्थीहरूको समस्या बुझ्न सकिन्छ । शिक्षक र अभिभावक दुवैले एकअर्काको सम्मान गर्नुपर्छ र दुवैबीच भएको कुरालाई गोप्य राखेर विद्यार्थीको विकासमा प्रयत्नशील रहनुपर्छ । वर्तमान समयमा विद्यालयमा अभिभावकहरूको भागिदारी त बढेको छ तर त्यो एकाङ्गी छ । यसका लागि विद्यालयद्वारा सतत् प्रयासको खाँचो छ । यसको कार्यान्वयनका लागि विद्यालयहरू द्वारा कक्षागतरूपमा मासिक बैठक गर्नु एउटा बाटो हुन सक्छ । यदि अभिभावक र शिक्षकबीच यस प्रकारको साझेदारी बन्न सक्यो भने बिस्तारै सबै विद्यार्थीको भविष्य उज्ज्वल हुन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here