• अनन्तकुमार लाल दास

कर्मप्रधान यस संसारमा हरेक मानिसलाई आफ्नो लक्ष्य प्राप्तिको लागि वा पढाइमा राम्रो ग्रेड हासिल गर्न वा जीवनयापनका लागि केही न केही काम गर्नुपर्छ । जब मानिसले काम गर्छ र काम फत्ते गर्न थोरै वा बढी परिश्रम गर्छ, त्यो सफल मानिस कहलाउँछ र जसले काम पूरा गर्न सक्दैन त्यो असफल हुन्छ । तर असफल हुनुको अर्थ के पनि होइन भने जीवनमा ऊ कहिल्यै पनि सफल हुँदैन । यदि एक पटकको प्रयास असफल हुन्छ भने दोस्रो पटक पुनः प्रयास गर्दा आशाभन्दा बढी सफलता हासिल हुन्छ । यसर्थ के भन्न सकिन्छ भने असफलता सफलताको आधार हो । हामी सबै बाल्यकालमा कैयन पटक खसेका छौं, उठेका छौं, पुनः हिंड्ने कोशिश गरेका छौं र बिस्तारै दगुर्न सिकेका छौं । कुनै पनि कार्य गर्नको लागि कैयन प्रकारको समस्या र कष्ट झेल्नुपर्छ तर सफल उही हुन्छ, जो त्यसको सामना डटेर गर्दछ । काम जति ठूलो हुन्छ, मार्गमा त्यतिकै ठूलो बाधा र अडचन आउन सक्छ । तर बाधा वा अवरोधको भयले बाटो परिवर्तन गर्नुहुँदैन । यदि कोही तन, मन, धनले काम गरेर पनि असफल हुन्छ भने त्यस असफलताले कुनै न कुनै शिक्षा दिएर प्रगतिको नयाँ मार्ग प्रशस्त गरेको हुन्छ । यस कारण के भन्न सकिन्छ भने असफलता मानिसको गुरु हो, किनभने सानोभन्दा सानो गल्तीले पनि केही न केही शिक्षा अवश्य दिन्छ ।

महाकवि सूरदास लौकिक प्रेम पाउन असमर्थ रहे तर अन्त्यमा ईश्वरको असीम प्रेम पाउन समर्थ भए । बालक ध्रुव बुवाको माया पाउन निरन्तर प्रयास गर्दै रहे र अन्त्यमा बुवाको माया सँगसँगै ईश्वरको मायासमेत पाउन सफल भए । महाकवि कालिदास ‘उष्ट्र’ शब्दको शुद्ध उच्चारण गर्न नसक्दा स्वास्नीद्वारा अपहेलित भए । गृहस्थ जीवनमा असफल भए पनि निरन्तर कठिन साधना गरेर संस्कृत साहित्यका विद्वान् भए । यसैगरी भगिरथका पुर्खाहरूले गङ्गालाई पृथ्वीमा ल्याउन असफल भए तर भगिरथले हिम्मत हारेनन् र अन्त्यमा गङ्गालाई पृथ्वीमा ल्याउन सफल भए जो राजा सगरका ६० हजार पुत्रहरूको उद्धारका कारण बन्यो । विपी कोइराला, गणेशमान सिंह, मनमोहन अधिकारी लगायत नेताहरू कैयनपटक राणा शासकहरूद्वारा अपहेलित भए, कैयन पटक देश छोड्न बाध्य भए तर अन्तमा देशमा प्रजातन्त्र ल्याउन सफल भए । २०४६ देखि २०६२–०६३ सम्म विपरीत परिस्थितिमा पनि सङ्घर्षको परिणाम स्वरूप नै देशमा सङ्घीयता लागू भयो ।

असफलताले, कहीं न कहीं, हाम्रो परिश्रम वा काम गर्ने तरीकामा कुनै कमी रहेको सङ्केत गर्दछ । सफल हुनका लागि राम्ररी विचार गरेर साहस गर्नुपर्छ । साहसको को अर्थ गैरजिम्मेवारीपूर्ण र उटपटाङ काम गर्नु कदापि होइन । जिम्मेवारीका साथ जोखिम लिन ज्ञान, शिक्षण, ध्यानपूर्वक अध्ययन र सीप आवश्यक हुन्छ । समस्या उत्पन्न भएमा यसले त्यसको सामना गर्ने हिम्मत दिन्छ । जोखिम नलिने मानिसले कुनै गल्ती गर्दैन, तर प्रयास नगर्नु भनेको, प्रयास गरेर असफल हुनुभन्दा पनि, ठूलो गल्ती हो । जोखिम नलिने बानी भएको मानिसले कैयन अवसर गुमाउँछ । सफलताको लागि जोखिम लिनुपर्छ तर आँखा खोलेर ।

असफलताको अर्को कारण निरन्तर प्रयास नगर्नु हो । समस्या आउँदा यस्ता मानिस पलायन रोज्छन् तर जसमा जित्ने चाहना हुन्छ, ऊ मैदान छोडेर भाग्दैन । हाम्रो सामु समस्या आउनुको अर्थ हामी असफल भयौं भन्ने होइन । सफलताको साँचो भनेको नै आत्मविश्वास र प्रतिरोध हो । जुन काम गर्नुछ त्यसमा आत्मविश्वास हुनुपर्छ र जे गर्नुछैन त्यसको प्रतिरोध गर्नुपर्छ । असफलताको अर्को कारण हतारमा सफल हुने चाहना पनि हो । आज हरेक कामको लागि एउटा ओखति उपलब्ध छ । हामीलाई के लाग्छ भने त्यो ओखति खाएर समस्याबाट मुक्त हुन्छौं । आज कोचिङ्ग र ट्युशनको रूपमा यो ओखति शिक्षामा पनि उपलब्ध छ । आज मानिस इमानदारीको घाँटी निमोठेर भ्रष्टाचारजस्तो शर्टकट बाटो  अँगालिरहेको छ । यसको परिणामको कसैलाई चिन्ता छैन । कुनै पनि काम हतारमा गर्नु असफलताको खतरनाक कारण हो ।

हिजोआज प्राथमिकता परिवर्तन गर्ने बानी बढ्दै गएको छ । कसैलाई समय र स्नेह दिनुको साटो पैसा र गिफ्ट दिने चलन बढेको छ । आफ्नो सन्तानलाई समय दिनुको साटो नचाहिंदा कुरा किनेर दिने सजिलो चलन बढ्दै गएको छ जुन सन्तानको असफलताको ठूलो कारण हो । आफ्नो प्राथमिकता निर्धारण नगरेकोले हामी कति समय बर्बाद गरिरहेका छौं थाहा नै हुँदैन । प्राथमिकता निर्धारण गर्नको लागि स्वयं अनुशासित हुनु आवश्यक हुन्छ । यही कारण हो आज हामी कुनै कामलाई दिमागले गर्नुको साटो त्यसमा कति सफल र कति असफल हुन्छौं भन्ने कुरामा बढी जोड दिन्छौं । अर्कोतिर ध्यान दिनुपर्ने कुरो के हो भने आवश्यकताको पूर्ति  सम्भव छ, तर लोभको होइन, किनभने स्वार्थी मानिसहरू अरूको हितको वास्ता नगरी स्वहितको चाहना मात्र राख्छन् । यस्ता स्वार्थी दृष्टिकोण राख्ने मानिस र सङ्गठनलाई के थाहा हुँदैन भने सफलताको चाहनामा किन असफल भइरहेको छ ।

सफलता प्रकृतिको नियममा आधारित हुन्छ । परिवर्तन प्रकृतिको नियम हो । सफलता परिवर्तनमा आधारित हुन्छ । सफलता भाग्यले होइन केही नियमको पालन गरेर हासिल हुन्छ । यस कारण विद्यार्थीहरूले पढ्ने नियम बनाउनुपर्छ । काम गर्नेहरूले आफ्नो दैनिकी निर्धारण गर्नुपर्छ र समयानुकूल त्यसमा परिवर्तन र परिमार्जन पनि गर्नुपर्छ । आत्मविश्वास तयारीबाट उत्पन्न हुन्छ । तयारीको अर्थ योजनाबद्ध ढङ्गले अभ्यास गर्नु हो । यसले अन्ततोगत्वा सफल हुने मानिसमाथि दबाबको काम गर्छ । यदि तयारी राम्रो छैन भने असफल हुनु स्वाभाविक हो । मात्र चाहनाले केही हासिल हुँदैन । सफल हुनको लागि कडा परिश्रमको कुनै विकल्प छैन । जसरी पानीले आफ्नो बाटो स्वयं खोज्छ त्यसैगरी सफलताले त्यस मानिसलाई आपैंm खोज्छ जसले तयारी गरेको हुन्छ । जस्तो तयारी हुन्छ सफलता पनि त्यस्तै हासिल हुन्छ । जो सफल हुन चाहन्छ ऊसँग कुनै बहाना हुँदैन, तर असफल हुनेसँग बहानाको खजाना हुन्छ । गल्ती सबैले गर्छन् तर जसले गल्तीबाट केही सिक्दैन ऊ कहिल्यै सफल हुँदैन । असफलता यात्राको अन्त होइन । यो ढिलो हुने कारण बन्न सक्छ तर असफल हुने कारण होइन ।

ध्यान दिनुपर्ने कुरा के हो भने कहिले काहीं अवसर असफलताको रूप धारण गरेर पनि हाम्रो सामु उभिन्छ । यस कारण धेरैले त्यसलाई चिन्दैनन् । याद राख्नुपर्ने कुरो के हो भने बाधा जति ठूलो हुन्छ, अवसर पनि त्यतिकै ठूलो हुन्छ । यस कारण अवसरलाई नचिन्नु असफलताको एउटा कारण हुन सक्छ । यसैगरी डर वास्तविक र काल्पनिक दुवै हुन्छ । डरको मूल कारण असमझदारी हो । डरले असुरक्षाको भावना, आत्मविश्वासको कमी र बहानाबाजी गर्ने बानी जन्माउँछ । अर्को शब्दमा भन्ने हो भने यसले हाम्रो क्षमता र योग्यता नष्ट गर्छ । असफलता भन्दा नराम्रो असफल हुने डर हो । कोशिश नै नगर्ने मानिस पहिले नै असफल हुन्छ । यस कारण डरले असफल हुने सम्भावना बढाउँछ ।

विद्यार्थीहरूले ध्यान दिनुपर्ने कुरा के हो भने अनियमित कडा परिश्रमभन्दा नियमित थोरैथोरै परिश्रम गर्नु उचित हो, जुन अनुशासनबाट हासिल हुन्छ । अनुशासन र पछतावा दुवै कष्टकर हुन्छ । धेरैजसो विद्यार्थीले यीमध्ये कुनै एउटा छान्नुपर्ने हुन्छ । एक छिन विचार गरौं यी दुइटैमध्ये कुन बढी दुःखदायी हुन्छ । जुन केटाकेटीलाई बढी स्वतन्त्रता दिइन्छ उनीहरू ठूलो भएपछि न आफ्नो इज्जत गर्छन्, न आमाबुवाको, न समाजकै चिन्ता गर्छन् । उनीहरू जिम्मेवारी लिन हच्किन्छन् । अनुशासनको कमीले उनीहरूलाई असफलतातिर ढकेल्छ ।  केही तथाकथित उदार चिन्तकहरूले अनुशासनहीनतालाई स्वतन्त्रता भनेका छन् । हवाइजहाजमा बसेको बेला के तपाईं चाहनुहुन्छ पायलट अनुशासनहीन होस् ? हाम्रो ध्यान लक्ष्यमाथि हुनुपर्छ किनभने भापले त्यस बेलासम्म इन्जन तान्न सक्दैन जबसम्म त्यसको सम्पूर्ण शक्ति एक ठाउँ एकत्र गरिइँदैन ।

भाग्यवादी दृष्टिकोण पनि असफलताको एउटा प्रमुख कारण हो । उनीहरू सफलता र असफलता दुवै भाग्यको देन ठान्छन् । उनीहरू के ठान्छन् भने जति कोशिश गरे पनि भाग्यमा जे लेखिएको छ त्यही हुन्छ । यस कारण उनीहरू कोशिश नै गर्दैनन् । प्रायः भाग्यवादी मानिस अन्धविश्वासी हुन्छन् । भाग्यवादी दृष्टिकोणबाट बाहिर आउने एउटै तरीका हो जिम्मेवारी लिनु र कारण र परिणामको सिद्धान्तमा विश्वास गर्नु । प्रयास र तयारीबेगर राम्रो संयोग बन्दैन । यसले असफलतालाई १० प्रतिशतसम्म बढाउँछ । “म जति परिश्रम गर्छु, भाग्यको त्यतिकै नजीक पुग्छु” भन्ने सोच राख्नु सबैको लागि उपयुक्त हुन्छ । यस्ता थुप्रै कथाहरू छन् जसले के देखाएको छ भने बलियो इच्छाशक्ति द्वारा कैयन समस्याका बावजूद सफलता हासिल गर्न सकिन्छ । उदाहरणका लागि विल्मा रूडोल्फ लकवा पीडित भएर पनि सन् १९६० को आलम्पिक रेसमा तीनवटा स्वर्ण पदक हासिल गरेका थिए । उद्देश्यहीन र दिशाहीनलाई अवसर देखै पर्दैन । यदि हामीसँग लक्ष्य र दिशाको ज्ञान छैन भने खुबी भएर पनि सफल हुँदैनौं । सफल हुनेले कुनै चमत्कारको प्रतीक्षा गर्दैन । उनीहरू गुमाएको कुराभन्दा के बचेको छ त्यसमा ध्यान दिन्छन् । प्रार्थना पनि त्यस बेला मात्र स्वीकार गरिन्छ जब साहसको साथ काम गरिन्छ । साहस र चरित्र दुवै सफलता हासिल गर्ने सूत्र हुन् । आम र खास मानिसबीच सोचको यही फरक हुन्छ ।

जीवनमा असफलताको कारण खोजेर, हार्नको लागि होइन जित्नको लागि खेल्नुपर्छ । अरूले गर्ने गल्तीबाट पनि शिक्षा लिनुपर्छ । चरित्रवान् साथीसँग मात्र राम्रो सम्बन्ध बनाउनुपर्छ । जति पाउनुहुन्छ त्योभन्दा बढी दिने प्रयास गर्नुपर्छ । कुनै कार्य गर्दा त्यसको परिणामबारे सोच्नुपर्छ । तपाईंको बलियो र कमजोर पक्ष के हो त्यो बुझ्ने प्रयास गर्नुपर्छ । इमानदारितासँग कहिले पनि सम्झौता गर्नुहुँदैन । अल्बर्ट आइन्सटाइनले भनेका थिए–मलाई के लाग्छ भने मैले आफ्नो जीवनमा मात्र २५ प्रतिशत बौद्धिक क्षमताको उपयोग गरेको छु ।” निष्कर्षतः सफलता चाहनेले कडा परिश्रम गर्नुपर्छ र अन्तर्मनको कुरा सुन्नुपर्छ । आफूभित्र रहेको सङ्कीर्ण सोच त्यागेर जित्ने अवसरमा परिवर्तित गर्नुपर्छ । हरिवंशराय बच्चनको कविताका यी पङ्क्ति–

सफलता एक चुनौती है इसे स्वीकार करो

क्या कमी रह गई देखो और सुधार करो जबतक ना सफल हो नींद चैनकी त्यागो तुम

युद्ध का मैदान छोड मत भागो तुम ।

विद्यार्थीहरूले सदैव सम्झिराख्नुपर्छ । असफलता नै सफलताको आधार हो भन्ने कुरामा कुनै शङ्का छैन किनभने सयौंपटक असफल भएर पनि एडिसनले प्रयास नगरेको भए आज हामी सबै टुकी र लालटेनकै युगमा बाँचिरहेका हुन्थ्यौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here