- बैधनाथ श्रमजीवी
यतिबेला नेपाली राजनीतिमा संसद्भित्र रहेका कथित कम्युनिस्ट पार्टीहरू तथा अन्य दक्षिणपन्थी पार्टीहरूबीचमा कुनै भिन्नता देखिरहेको छैन । नेपाली जनताले दुई तिहाइ बहुमतको सरकार बनाउने गरी संसद्भित्र कथित कम्युनिस्टहरूलाई सङ्घ तथा प्रदेशको निर्वाचनमा जिताएर पठाउँदा पनि तिनीहरूको कार्यशैली तथा परिणाम नेपाली काङ्ग्रेसको भन्दा खासै भिन्न रहेको अनुभूति नेपाली जनताले गर्न सकेन । कमिशन, घूस, माफिया, तस्करी जेजस्तो पार्टीहरूको सरकार बने पनि सदैव फल्ने–फुल्ने देखियो । कम्युनिस्ट पार्टीहरूले राखेको लक्ष्य साम्यवादमा पुग्ने पुलको काम गर्ने समाजवाद यतिबेला सबै पार्टीको लागि साझा कार्यक्रम हुन पुगेको छ । वर्तमानको नेपालको संविधानमा नै समाजवादतर्फ उन्मुख लेखिसकेपछि यो व्यवस्था नै कम्युनिस्ट पार्टीको हो कि जस्तो पनि भान हुन थालेको छ । संसद्वादी पार्टीले यसलाई सगौरव पस्किंदै पनि आएका छन् । जबकि वास्तविकता यसको ठीक उल्टो छ । उन्मुख भनेको फर्केको अर्थ हुन्छ । समाजवाद उन्मुख भनेपछि यसको अर्थ समाजवादतर्फ फर्केको मात्रै हुन्छ । अर्थात् कोही व्यक्ति सूर्यतिर फर्केको छ भने यसको मतलब त्यो सूर्यमाथि पुग्ने हो भन्ने कुरा कदापि हुँदैन । सूर्यतर्फ फर्किंदैमा सूर्यमा पुग्न सकिन्न । अहिलेको हाम्रो संविधान समाजवादतर्फ उन्मुख मात्रै हो । यसको माध्यमले हामी कहिले पनि समाजवादमा पुग्न सक्दैनौं । यो संविधानको मूल विशेषता आवधिक निर्वाचन हो । आवधिक निर्वाचनले एउटा निश्चित अवधिमा चुनाव भइरहन्छ । हार्ने दल प्रतिपक्षमा बस्छ र जित्ने दल सरकार चलाउँछ । यो नै हो, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मूल भाव तर यसको विपरीत चुनावमा हारेर तेस्रो नम्बरको दल बन्न पुगेको नेपाली काङ्ग्रेस अहिले सरकारमा छ । सबैभन्दा बढी सदस्य जितेको पार्टी प्रतिपक्षमा बसेको छ । सत्तापक्ष र प्रतिपक्ष दुवैले समाजवादकै कुरा गर्छ तर समाजवादको बाटोमा कोही पनि हिंडेको देखिंदैन । यी दलहरू वर्तमान दलाल पूँजीवादी व्यवस्थाको दलाली गरेर बसेका छन् । जनताका समस्यासँग यिनीहरूलाई कुनै सरोकार नै छैन ।
साम्यवाद एउटा सामाजिक, आर्थिक संरचना एवं राजनीतिक विचारधारा हो । साम्यवादी व्यवस्थामा समतावादी, वर्गविहीन समाजको स्थापना गरिन्छ । यस व्यवस्थामा सबै उत्पादनका साधन एवं सम्पत्तिमा सम्पूर्ण समाजको स्वामित्व हुन्छ । साम्यवाद समाजवादको एउटा शाखा मानिन्छ । साम्यवादमा कुनै पनि सम्पत्तिमा कसैको पनि व्यक्तिगत स्वामित्व हुन्न तर उसले आफ्नो आवश्यकता अनुसार भोगचलन गर्न भने पाउँछ । यसरी समाजवादी आन्दोलनको मुख्य ध्येय नै साम्यवादमा पुग्ने भन्ने कुरा स्पष्ट छ ।
समाजवाद भन्ने शब्द सन् १९१७ को रूसी क्रान्ति पछाडि पूँजीवादी देशहरूले पनि निकै नै प्रयोग गर्न थालेका देखिन्छन् । पूँजीवादी देशहरूले तत्कालीन राजनीतिमा रूसी क्रान्तिको प्रभावलाई रोक्न तथा माक्र्सवाद लेनिनवादबाट आफ्नो साम्राज्यवादी संसार जोगाउन सर्वहारा श्रमिक वर्गमा भ्रम उत्पन्न गर्न समाजवाद शब्दको अत्यधिक दुरुपयोग गरेको देखिन्छ । यसै क्रममा कम्युनिस्टको हाउगुजी रोक्न संसारभर खासगरी पूँजीवादी तथा साम्राज्यवादी देशहरूले समाजवाद शब्दको अत्यधिक प्रयोग गरेका छन् ।
जेहोस्, यतिबेला नेपाली राजनीतिको कुरा गर्ने हो भने नेपाली काङ्ग्रेस, जनता समावादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी तथा संसद्भित्रका सबै कथित कम्युनिस्ट पार्टीले समाजवादको नारामा जनतालाई भ्रमित पार्दै आएका छन् । समाजवाद अर्थात् वैज्ञानिक समाजवाद जहाँ निजी सम्पत्तिको उन्मूलन गरेर सामुदायिक गर्नुपर्ने कार्यनीति अगाडि सारेर राजनीतिलाई बढाउनुपर्नेमा यसको ठीक विपरीत संसद्भित्रका सबै राजनीतिक पार्टी निजी सम्पत्ति आर्जनमा दिनरात लागिपरेका छन् । वर्तमानको चुनावी प्रणाली यसरी विकसित गर्दै लगिरहेका छन् कि एउटा वडाध्यक्षको चुनाव जित्नको लागि पनि एक करोड रुपैयाँ नभई नहुने अवस्था बन्दै गएको छ । यस्तोमा निर्वाचनपछि विजयश्री हात पारेका उम्मेदवार (जनप्रतिनिधि)हरूले स्वाभाविकरूपले आफ्नो लगानी असुलउपर गर्नतर्फ आफ्नो सम्पूर्ण क्रियाकलापलाई केन्द्रित गर्नुपर्ने स्वाभाविक नै हुन जानेछ । अनि यही आवधिक निर्वाचनको प्रक्रियालाई निरन्तर दोहो¥याइराख्दा देश कस्तो खाले समाजवादमा पुग्छ त ? यतिबेला कथित संसद्वादमा लागेका कम्युनिस्ट पार्टीहरू तथा साँच्चीकै माक्र्सवाद–लेनिनवाद–माओवादको आलोकमा साम्यवाद स्थापना गर्न लागिपरेका कम्युनिस्ट पार्टीहरूबीच के फरक छ त ? कसरी छुट्याउने, असली र नक्कली कम्युनिस्ट
पार्टीहरू ?
अबको चरण वैज्ञानिक समाजवाद स्थापना गर्ने चरण हो । अब पुरानो क्रान्ति गर्ने सोचले वैज्ञानिक समाजवादको आन्दोलनलाई अगाडि बढाउनुको सट्टा दिग्भ्रमित गर्ने मात्रै हो । त्यसैले पुरानो तरीका जसमा कम्युनिस्ट पार्टीले राजनीतिक सत्ता फौजी बलद्वारा कब्जा गरेर समाजवादी सत्ता ल्याउने लेनिनवादी–माओवादी कार्यनीति छोड्नुपर्छ । यतिबेला दलाल पूँजीवादी व्यवस्थाको विकासक्रममा विज्ञान र प्रविधिको तीव्र विकासले कैयौं क्षेत्रमा मानव समाजलाई पुग्ने उत्पादन भइसकेको अवस्था रहेकोले अबको कम्युनिस्ट पार्टीले राजनीतिक, आर्थिक तथा सांस्कृतिक यी तीनवटै क्षेत्रमा एकैचोटि कार्य प्रारम्भ नगरेसम्म वैज्ञानिक समाजवाद ल्याउन सकिंदैन । राजनीतिकरूपमा पिरामिड आकारमा रहेको पार्टीभित्रको सङ्गठनात्मक संरचना तथा सरकार बनाउँदासमेत सोही संरचना अवलम्बन गरिंदै आएकोमा अब यसको ठीक उल्टो संरचना बनाउनुपर्ने आवश्यकता छ । पार्टीभित्र निर्णय गर्ने अधिकारहरू सम्पूर्णरूपमा सबैभन्दा तल अर्थात् ग्रासरूटमा रहेका सार्वभौम समितिहरूमा स्वतन्त्र तथा स्वायत्त किसिमले रहनुपर्दछ । केन्द्रीयताको नाममा निरङ्कुशता लाद्ने काम माथिबाट तल बन्द गरिनुपर्छ । त्यसैगरी, सरकारमा समेत जनप्रतिनिधिहरूलाई कुनै पनि प्रकारको निर्णय गर्ने अधिकार दिनुहुन्न । सम्पूर्ण निर्णय गर्ने अधिकार सरोकारवालाहरूलाई तथा केवल कार्यान्वयन गर्ने अधिकार जनप्रतिनिधिलाई दिनुपर्छ । यस प्रकारको संरचना पार्टीभित्रका सबै सङ्गठनमा तथा सरकारमा समेत राजनीतिकरूपमा गरिनुपर्दछ ।
नेताहरूलाई महान् देखाउने सबै प्रकारका गतिविधि सम्पूर्णरूपमा बन्द गरिनुपर्छ । नेताहरूलाई माला, खादा, लगाएर ठूलो देखाउने तर कार्यकर्ता वा जनता सानो देखाउने गतिविधिहरू पूर्णरूपमा बन्द गरिनुपर्छ ।
आर्थिकरूपमा पार्टी, नेता, कार्यकर्ता र जनता सबैलाई आत्मनिर्भर बनाउने नीति अगाडि सार्नुपर्छ । देशमा बेरोजगारी बढाएर युवाहरू विदेश पठाएर कहिले पनि परनिर्भरताबाट मुलुक समृद्ध बन्न सक्दैन । यसर्थ कम्युनिस्ट पार्टीका प्रत्येक नेता, कार्यकर्ता कुनै न कुनै एउटा उत्पादन केन्द्रसँग जोडिनैपर्छ । उत्पादनको प्रसङ्ग नजोडिए उक्त व्यक्ति कम्युनिस्ट पार्टीको सदस्य नै बन्न नसक्ने स्पष्ट विधानमा व्यवस्था गर्नुपर्छ । उत्पादन केन्द्रले सार्वभौम समितिमार्फत देशैभरि हजारौं–लाखौं उत्पादनको कामको सुरुआत गरेर मुख्यरूपमा बेरोजगारीलाई सम्बोधन गर्नुपर्छ । सार्वभौम समितिहरू समुदायमा आधारित हुनुपर्छ । यो मुनाफामुखीभन्दा सेवामुखी हुनुपर्छ । जनता तथा पर्यावरणलाई नोक्सान गर्ने किसिमको वस्तु वा सेवाको उत्पादन सार्वभौम समितिले गर्नुहुन्न । सार्वभौम समितिले उत्पादन, विनिमय, वितरण तथा उपभोगको आर्थिक चक्र पार्टीकै सदस्य, समर्थक तथा शुभचिन्तकहरूको बीचमा खडा गर्नुपर्छ, जसले गर्दा समाजमा विद्यमान दलाल पूँजीवादी अर्थव्यवस्थाविरुद्ध समाजवादी अर्थात् वैज्ञानिक समाजवादी अर्थव्यवस्था निर्माण गरेर आत्मनिर्भर पार्टी, कार्यकर्ता, नेता तथा समुदाय निर्माण गर्ने दिशामा अगाडि बढ्नुपर्छ । अनिमात्र वैज्ञानिक समाजवाद लागू गर्न सकिन्छ ।
हालसम्म हामीसँग रहेका संस्कृतिको नाममा सामन्ती तथा दलाल पूँजीवादी संस्कृतिहरू नै छन् । यिनीहरूलाई कायम राखेर हामी वैज्ञानिक समाजवादी संस्कृति भएको समुदाय निर्माण गर्न सक्दैनौं । अर्थात् हामी हालको निर्वाचन प्रक्रिया बहिष्कार गर्दै वैज्ञानिक समाजवादी आर्थिक प्रणाली र सांस्कृतिक समुदायसमेत निर्माण गरेर आजैबाट अगाडि बढ्न जरुरी छ । मानिसको जन्मदेखि मृत्युसम्मको गर्दै आइएका संस्कारहरू हालसम्मका प्रायः सबै धार्मिक मूल्य–मान्यतामा आधारित रूढिवाद तथा दलाल पूँजीवादको उपभोक्तावाद र बजारवादको सिद्धान्तबाट निर्देशित मात्रै छन् । यस्ता कुराहरूले आजसम्म मुख्यरूपमा हामीलाई कहाँ पु¥यायो ? विभेद र मूर्खतापूर्ण गतिविधिबाहेक अरू के विशेषता छ, हाम्रो संस्कृतिको ? सामन्तवाद र दलाल पूँजीवादसमेतले स्वीकारेको जातपात व्यवस्थामा मानिस–मानिसबीचको कति ठूलो खाडल छ । यस खाडललाई समूल नष्ट गरी दलित तथा जनजाति र सीमान्तकृतहरू पनि समुदायभित्र बराबरीको जीवन जिउने अभ्यास वैज्ञानिक समाजवादी संस्कृतिले नगरे कसले गर्छ ? जन्मदिन, विवाहको वर्षगाँठ र मृत्यु संस्कारमा देखिएका अन्धविश्वास, रूढिवादिता तथा धार्मिकताको पर्दालाई हटाएर विज्ञानको आधारमा कसरी हाम्रो संस्कृतिलाई अगाडि बढाउने भन्ने कुरामा कम्तीमा कम्युनिस्ट पार्टीका सदस्यहरूको बुझाइमा एकरूपता तथा निर्णयको कार्यान्वयन गर्न जरुरी छ । अहिले के देखिएको छ भने मान्छे आफूलाई कम्युनिस्ट पनि भन्ने, पार्टीको सदस्यता पनि लिने, जिम्मेवार कमिटी र पदमा पनि बस्ने तर आचरण अर्थात् संस्कार पूर्णरूपेण धार्मिक, अमाक्र्सवादी गरिराख्ने गरेमा कसरी निर्माण हुन्छ वैज्ञानिक समाजवाद ।