श्रीलङ्का, ३० असार/एएनआई

श्रीलङ्काको सेनाले बिहीवार संसद् भवननजीकै सेनाका ट्याङ्कहरू तैनाथ गरेको छ  । प्रदर्शनकारीहरूलाई संसद्मा प्रवेश गर्नबाट रोक्नको लागि सेनाको ट्याङ्क तैनाथ गरिएको बताइएको छ ।

श्रीलङ्काको फ्लावर रोडमा रहेको प्रधानमन्त्रीको कार्यालयमा प्रदर्शनकारीहरूले बुधवार आक्रमण गरेका थिए । अहिले टापु राष्ट्र गम्भीर आर्थिक र राजनीतिक सङ्कटमा परेको छ । जुलाई ९ मा प्रदर्शनकारीहरू राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा जबरजस्ती प्रवेश गरेर विरोध जनाएका
थिए ।

आक्रोशित प्रदर्शनकारीहरूले राष्ट्रपति र प्रधानमन्त्रीको तत्काल राजीनामाको माग गरेका थिए ।

देश छाडेका राष्ट्रपति गोटाबाया राजापाक्ष र उनकी पत्नी आज माल्दिभ्सको मालेबाट सिङ्गापुर प्रस्थान गरेका छन् । अहिले तीन तह प्रहरी, सेना र विशेष बलसहित संसद्को सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले श्रीलङ्काले इन्धन र अन्य अत्यावश्यक आपूर्तिहरूको गम्भीर अभावको सामना गरिरहेको छ । बढ्दो मुद्रास्फीतिका कारण देशले सबैभन्दा खराब आर्थिक सङ्कटको सामना गरिरहेको छ । अर्को सूचना नभएसम्मका लागि सरकारी कार्यालयहरू बन्द गरिएका छन् ।

घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।

पछि हटे श्रीलङ्काली प्रदर्शनकारी

राष्ट्रपति र प्रधानमन्त्रीको सरकारी निवास कब्जा गरेर बसेका प्रदर्शनकारीहरू ती स्थानबाट निस्कने भएका छन् । राष्ट्रपति गोटाबाया राजपाक्ष पत्नी र दुईजना अङ्गरक्षकका साथ देशबाट बाहिरिएपछि नयाँ सरकारसमक्ष आफ्ना माग पु¥याउन उनीहरू ती भवनबाट बाहिरिने निष्कर्षमा पुगेका हुन् ।

राष्ट्रपति गोटाबाया राजीनामापत्रमा हस्ताक्षर नगरी प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई कार्यवाहक राष्ट्रपति बनाएर देशबाट बाहिरिएपछिको परिस्थितिमा समस्याको समाधान संसद्बाट खोज्ने उद्देश्यले सरकारी निवास खाली गर्ने निष्कर्षमा आफूहरू पुगेको प्रदर्शनको नेतृत्व गरिरहेका देविन्द कोडागोडेले बताए । सभामुखले पनि समस्याको निकास संसद्बाट खोज्ने प्रयास भइरहेको बताएका छन् ।

वायुसेनाको विमानमा मालदिभ्स पुगेका गोटाबाया साउदी एयरलाइन्स चढेर सिङ्गापुर हुँदै साउदी अरबको जेद्दातर्फ लागेका मालदिभ्स सरकारका एक अधिकारीले बताएका छन् । आक्रोशित प्रदर्शनकारीबाट संसद् भवनलाई जोगाउन त्यहाँ भारी सुरक्षाफौज परिचालन गरिएको छ । हातहतियारले सुसज्जित सैन्य टोली बख्तरबन्द गाडीका साथ संसद् भवनबाहिर तैनाथ भएका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here