धर्मेन्द्र चौरसिया, पोखरिया, २९ असार/
पर्साको ग्रामीण क्षेत्रमा रहेका लुघवित्त बैंकहरूबाट ऋण लिएका ऋणीहरू अहिले ऋण तिर्न नसकेर भाग्ने, लुक्ने क्रम बढेको छ ।
लघुवित्त बैंकहरूले महिलाहरूलाई लक्षित गरेर पशुपालन र व्यवसायजन्य कार्यमा ऋण लगानी गर्दै आएका छन् । २५ जना महिलाको एउटा समूह र सो समूहमा पाँच/पाँच जना टोली बनाएर लघुवित्तले मासिक बैठक गर्ने र लगानी गर्दै आएको हो । अहिले लघुवित्तबाट ऋण लिएका ऋणीहरू विभिन्न कारणले ऋण चुक्ता गर्न नसक्दा भाग्ने, लुक्ने क्रम बढेको लघुवित्तका प्रमुखहरूले बताएका छन् ।
पोखरिया नगरपालिकामा रहेको स्वावलम्बन लघुवित्त बैंकका प्रमुख राजेन्द्र विश्वकर्माले ऋण चुक्ता गर्न नसक्नेहरू लुक्ने, भाग्ने गरेको बताए । उनले जुन प्रयोजनको लागि ऋण लिएको हो, सो प्रयोजनमा खर्च नगरेर अन्यत्र खर्च गर्दा ऋण तिर्न नसक्नु एउटा कारण हो भने, पहिलेको सहज अवस्था परिवर्तन भएर बेरोजगारी बढ्नु अर्को कारण भएको बताए । उनले लघुवित्तले परिवारको आयस्रोत हेरेर लगानी गर्ने गरेको तर पछिल्लो समयमा रोजगारका अवसरहरू गुम्दै परिवारमा चारजना कमाउनेमध्ये अहिले दुईजनाले मात्र कमाउँदा परिवारको आयस्रोत घटेर लिएको ऋण तिर्न नसकिरहेको बताए ।
जुन प्रयोजनको लागि ऋण लिएको हो, सोही प्रयोजनमा खर्च गर्नेहरूले सहजरूपमा ऋण तिरिरहेको तर ऋण लिएर छोराछोरीको बिहे, विद्यालयको शुल्क, वैदेशिक रोजगारमा पठाउने, साहु–महाजनको ऋण तिर्ने, जग्गा खरीद गर्नेहरूले भने ऋण तिर्न नसकेको उनको बुझाइ छ ।
यसैगरी, समूहमा रहेका महिलाहरूलाई ऋण लिएका व्यक्तिले नतिर्दा पनि समस्या भएको बताइन्छ । पाँचजना महिलाको समूहमा एकजनाले ऋण नतिर्दा सोको भार सबै समूहका सम्पूर्ण महिलाले बेहोर्नुपर्ने प्रावधान छ । जसले गर्दा समूहमा रहेका पाँचैजना महिलाले नै ऋण तिर्नको लागि एकअर्कालाई दबाब दिने गरेका छन् ।
पोखरिया बजारमा रहेका भाजा व्यवसायी अर्जुन चौरसियाले तीनवटा लघुवित्तबाट ऋण लिन लगाएका छन् । घरपरिवारका महिला सदस्यबाट उनले भाजा व्यवसायको लागि तीन लाख ऋण तीनवटा लघुवित्तबाट उठाए पनि सोही प्रयोजनमा खर्च नगरी मोटरसाइकल खरीद गरेको कारण समयमा किस्ता तिर्न सकेका छैनन् । जसले गर्दा अहिले उनलाई समस्या भइरहेको छ ।
पोखरिया बजारमैं पाडा र भैंसीको व्यापार गर्ने हीरो मियाँ अहिले लघुवित्तको ऋण तिर्न नसकेर लुकेर बसेका छन् । उनले पनि तीनवटा लघुवित्तबाट ऋण लिएका छन् । ऋण लिएका मियाँले पाडा, भैंसीको व्यवसायबाट आम्दानी हुन नसक्दा ऋण चुक्ता गर्न नसकेर भाग्नुपरेको बताए ।
नेशनल माइक्रो फाइनान्स लघुवित्तले पोखरिया, विन्ध्यवासिनीलगायतका बजारमा रहेका पसलहरूमा लगानी गरेको छ । एक वर्षको भाकामा पाँच लाखसम्म ऋण प्रवाह गरेको सो लघुवित्तलाई अहिले ऋण असुलीमा समस्या आइपरेको छ । एक वर्षको भाकाका ऋणहरू तीन/चार वर्ष नाघ्दा पनि ऋणीहरूले नतिरेको सो लघुवित्तले जानकारी गराएको छ ।