• उमाशङ्कर द्विवेदी

अर्जुन र भीमसेनले आफूसाथ रथीहरूको ठूलो डफ्फा लिएर तपाईंको सेनाको दक्षिण र उत्तर भागमा घेरा हाले । ती दुई वीरहरूलाई त्यहाँ उपस्थित देखेर सात्यकि र धृष्टद्युम्न पनि त्यहाँ आइ पुगे । भूरिश्रवाको वधबाट अश्वत्थामा धेरै चिढिएका थिए, उनले सात्यकिलाई आइरहेको देखेर उनलाई मार्ने निश्चय गरेर उनीमाथि धावा गरे । यो देखेर भीमसेनका पुत्र घटोत्कच क्रोधित भएर शत्रुसेनालाई रोके । घटोत्कचको रथ फलामबाट बनेको थियो । त्यसमा आठवटा पाङ्ग्रा थिए । त्यो रथ धेरै ठूलो र भयङ्कर थियो । त्यसै रथमा बसी घटोत्कच अश्वत्थामातिर हानिए । एक अक्षौहिणी राक्षसी सेनाले त्यस रथलाई चारैतिरबाट घेरामा राखेका थिए । कसैको हातमा त्रिशूल थियो त कसैको हातमा मुग्दर, कसैले हातमा चट्टान बोकेका थिए त कसैले जरासमेत रूख उचालेका थिए । घटोत्कच प्रलयकालीन दण्डधारी यमराजझैं लागिरहेका थिए । उनले उचालेको महान् धनुष हेरेर जम्मै राजाहरू भयले आत्तिएका थिए । ती भीमकाय राक्षस पर्वतको समान अग्लो थिए, ठूल्ठूला दा¥हाको कारण उनको मुख विकराल तथा भयङ्कर देखिंदै थियो । ठाड्ठाडा कान, लामो थुतुनो, मास्तिर उठेका लामा कपाल, भयावह आँखा, चम्किलो मुख, भित्र धसेको भुँडी–यस्तै थियो उनको हुलिया । घाँटीको प्वाल यस्तो थियो मानौ कुनै गहिरो खाडल होस् । टाउकोमा कपाल ढाक्नेगरी मुकुट पहिरेका थिए । उनी मुख बाएर उभिएका यमराजको समान सम्पूर्ण प्राणीलाई त्रास पु¥याइरहेका थिए । शत्रु उनलाई हेर्ने बित्तिकै व्याकुल हुन्थे । राक्षसराज घटोत्कचलाई हातमा धनुष लिएर आइरहेको देखेर दुर्योधनको सेनामा हल्ली–खल्ली मच्यो, सबै भयले व्याकुल भए । ती राक्षसको सिंहनादबाट अत्यन्त भयभीत भएर हात्तीहरू मूत्रत्याग गर्न थाले । मानिसहरूलाई व्यथा हुन थाल्यो । अनि त त्यहाँ चारैतिरबाट ढुङ्गाको वर्षा आरम्भ
भयो ।

रात्रि हुनाको कारण त्यति बेला राक्षसहरूको बल धेरै बढेको थियो । उनीहरूले फलामे चक्र, भुसुण्डी, प्रास, तोमर, शूल, शतघ्नी र पट्टिस आदि अस्त्र–शस्त्र बर्साउन थाले, बडो नै भयङ्कर सङ्ग्राम थालियो । त्यसलाई हेरेर कौरव पक्षका राजाहरू, तपाईंका पुत्रहरू तथा कर्णलाइ पनि धेरै कष्ट भयो । सबै यत्र–तत्र भाग्न थाले । त्यति बेला एक मात्र अभिमानी वीर अश्वत्थामा अविचलित आफ्नो ठाउँमा डटिरहे । उनले घटोत्कचले रचेको राक्षसी मायाजाल आफ्नो बाणले नष्ट पारिदिए ।

आफ्नो राक्षसी मायाजाल नष्ट भएको देखेर घटोत्कचको क्रोधको सीमा रहेन, उनले भयङ्कर बाणहरू प्रहार गरे । ती जम्मै बाण अश्वत्थामाको शरीरमा छि¥यो । अनि अश्वत्थामा पनि क्रोधित भएर घटोत्कचमाथि दशवटा बाण हाने । यसबाट उनको मर्मस्थानमा ठूलो चोट लाग्यो । अत्यन्त पीडित भएर घटोत्कचले हातमा एउटा भयङ्कर चक्र लिएर अश्वत्थामामाथि हाने तर अश्वत्थामाले बाण हानेर चक्रलाई टुक्राटुक्रा पारिदिए । त्यो चक्र व्यर्थ भएर भूमिमाथि झ¥यो । यो हेरेर घटोत्कचले बाणवर्षा गरेर अश्वत्थामालाई आच्छादित पारिदिए । यत्तिकैमा घटोत्कचका छोरा अञ्जनपर्वा त्यहाँ आइपुगे । उनले अश्वत्थामालाई पर्वतले आँधी–बेहरी रोकेझैं रोकिदिए । अनि अश्वत्थामाले एउटा बाणबाट अञ्जनपर्वाको ध्वजा, दुईटा बाणबाट रथको सारथि, तीनवटा बाणबाट त्रिवेणुक, एउटा बाणबाट धनुष र चारवटा बाणबाट चारवटै घोडा मारिदिए । रथहीन भएर उनले तरबार उचाले तर द्रोणकुमार अश्वत्थामाले आफ्नो बाणबाट त्यसको पनि दुई टुक्रा पारिदिए । अनि अञ्नपर्वाले गदा हाने तर त्यसलाई पनि अश्वत्थामाले आफ्नो बाणले काटिदिए । अनि त अञ्जनपर्वा प्रलयकालीन मेघको समान गर्जना गर्दै आकाशमा उडेर गई त्यहाबाट वृक्षहरूको वर्षा गर्न थाले । यो हेरेर अश्वत्थामा त्यस मायावीलाई बाणबाट आक्रान्त पार्न थाले । अनि अञ्जनपर्वा तल ओर्लेर पुनः अर्को रथमाथि गई बसे । यसै बेला अश्वत्थामाले अञ्जनपर्वालाई मारिदिए ।

आफ्नो महाबली पुत्रलाई अश्वत्थामाको हातबाट मारिएको हेरेर घटोत्कच रिसले मुर्मुरिएर अश्वत्थामा छेउ गई भने–द्रोणकुमार, म ती पाण्डवपुत्र हुँ जो कहिल्यै युद्धबाट पाइला पछि सार्दैनन् । राक्षसहरूको राजा हुँ र महान् रावणको समान मेरो बल छ । तिमी यस युद्धबाट जिउँदै जान सक्दैनौ । आज म तिम्रो युद्ध गर्ने हौसला मेटिदिनेछु । यति भनेर आँखा रातो पार्दै महाबली राक्षस अश्वत्थामातिर झम्टेर उनीमाथि बाणवर्षा गर्न थाले तर अश्वत्थामाले ती जम्मै बाण व्यर्थ पारिदिए । यस प्रकार अन्तरिक्षमा मानौं एक अर्कै सङ्ग्राम चलिरहेको थियो । दुवैतिरका बाणहरू एकआपसमा ठोकिंदा त्यहाँ आगोको झिल्को निस्कन्थ्यो, जुन त्यस प्रदोषकालमा आकाशको बीच जूनकिरीझैं देखिन्थ्यो । क्रमशः..

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here