– डा शिवशङ्कर यादव

विज्ञानले निद्रालाई कोमासित दाँजेर परिभाषा गरेको छ कि निद्राबाट स्वतः ब्युँझन सकिन्छ तर कोमाबाट सकिंदैन। पाठकवृन्द म निद्रालाई अध्यात्मको अनुसार मृत्युसित दाँजेर परिभाषा गर्न चाहन्छु कि निद्राबाट पुनर्जीवित हुन सकिन्छ तर मृत्युबाट सकिंदैन।

अतः निद्रा त्यो अद्र्धमृत अवस्था हो, जुन अँध्यारो र बन्द आँखामा उत्रेर शरीरका सम्पूर्ण क्रिया–प्रक्रियाको नवीकरण गर्छ।

वासांसि जिर्णानि यथा विहाय नवानि गृह्याति नरोपराणि

तथा शरीराणि विहाय जीर्णान्यन्यानि संयाति नवानि देही।

जसरी जीर्ण भएपछि मानिस नयाँ वस्त्र धारण गर्छ त्यसरी नै जब शरीर जीर्ण हुन्छ तब आत्माले नयाँ शरीर धारण गर्छ। यो वस्त्र जीर्ण भइसकेको अवस्था हो। जीर्ण हुनुभन्दा पहिले के हुन्छ ? मैलो हुन्छ। त्यसलाई सफा गरी कलप लगाएर फेरि प्रयोग गरिन्छ। त्यही शरीररूपी मैलो भइसकेको वस्त्रलाई सफा गर्ने र कलप लगाउने प्रक्रिया हो– निद्रा।

हामी सबैलाई थाहा छ कि निर्जीव मेशिनलाई पनि आराम चाहिन्छ। त्यही आरामको बेला मेशिनको सर्भिसिङ गरिन्छ, ढिला भएको नट–वोल्ट कसिन्छ र मरम्मतत गरिन्छ। त्यसो गरिएन भने केही समयपछि मेशिन सदाको लागि कामलायक नरहन सक्छ। तपाईं भन्न सक्नुहुन्छ कि मेशिनको इन्जिन सीज हुन्छ। यही सीज हुने कुरालाई मेशिनको मृत्यु भन्न सकिन्छ। ठीक यस्तै हाम्रो शरीर पनि एक जीवित मेशिन नै हो। फरक यति मात्र छ कि निर्जीव  मेशिनको मरम्मत अरूले गर्छ तर जीवित शरीर रूपी मेशिनले आफ्नो मरम्मत आफैं गर्छ। यसका लागि उसलाई अवकाश मात्र चाहिन्छ। शरीरले चाहने यसै अवकाशलाई आराम भनिन्छ। यो आराम दुई प्रकारको हुन्छ–अपूर्ण आराम र पूर्ण आराम। शरीरले आफ्नो मरम्मत पूर्ण र अपूर्ण दुवै आराममा गर्छं। यसै पूर्ण आरामलाई निद्रा भनिन्छ। दिनमा काम गर्दा बेलाबेला आराम गरिन्छ। यसले सानोतिनो मरम्मत गर्छ। जसरी काम गर्दागर्दा हातखुट्टाको मांसपेशी थाक्छ। त्यो थकाइ मार्न हामीलाई केही बेरको लागि टिफिन वा केही बेरको छुट्टी पाइन्छ। यसमा मांसपेशीले आराम पाएर पूर्ववत् कामलायक बन्छ। वास्तवमा काम गर्ने बेला मांसपेशीमा लैक्टिक एसिड जमा भएर मांसपेशी थाक्छ। आरामको बेला त्यही लैक्टिक एसिडलाई मांसपेशीले हुत्याएर रगतमा पठाइदिन्छ जुन पिसाब भएर बाहिर निस्कन्छ। मालिश गरेर यसै प्रक्रियालाई तीव्र पारिन्छ। पहिले पहिले अमानीवयता यति थियो कि धनोपार्जनका लागि कामदारलाई चौबीसैं घण्टा खटाइन्थ्यो। दासहरूको अवस्था त पशुभन्दा पनि नराम्रो थियो। प्रजातन्त्रको आलोकमा त्यसविरुद्ध आन्दोलन भयो र ८ घण्टा काम, ८ घण्टा आराम तथा ८ घण्टा मनोरञ्जनको माग गरियो र पूरा पनि भयो। तर आज पनि यो राम्ररी लागू भइ नसकेको अवस्था छ।

पूर्ण आरामको मतलब हो निद्रा। अपूर्ण आराममा त शरीरले मात्र सानो तिनो मरम्मत गर्छ। तर निद्रामा शरीरको पूर्ण सर्भिसिङ हुन्छ जसमा स्मरण शक्तिलगायत सबै डाटाबेसको रिन्युअल र पुनर्ताजगी हुन्छ। निद्रा भएन भने कुनै पनि डाक्टरले तपाईंलाई बचाउन सक्दैन। यस मेशिनको इन्जिन सिज हुन्छ र त्यसैको मतलब हो मृत्यु। तर निद्रा स्वयं एक अल्पकालिक मृत्यु नै हो जसमा ढुकढुकी र सास मात्र चलिरहेको हुन्छ। जसरी कुनै सर्जनले एनेस्थेसिया दिएर मात्र आफ्ना हतियार चलाउँछ त्यस्तै निद्रारूपी एनेस्थेसियामा शरीरले सर्भिसिङ गर्ने आफ्नो हतियार चलाउँछ। केही जीवनचक्र जसलाई अङ्ग्रेजीमा रिद्म भनिन्छ ग्रह, नक्षत्र र पृथ्वीको चाल चरित्रले हामीलाई दिएको हुन्छ जसलाई कि हामी रोक्न सक्दैनौं वा रोक्ने कोशिश ग–यौं भने शरीरले हानि बेहोर्छ। यहाँ म तीन चक्रको उल्लेख र उदाहरण दिन चाहन्छु ः सरकेडियन रिद्म, इनफ्राडियन रिद्म र अल्ट्राडियन रिद्म। लैटिनमा ‘सरकॉ’को अर्थ एराउन्ड र ‘डियन’ माने दिन हुन्छ। यो २४ घण्टामा एकपटक दोहरिन्छ। निद्रा यसै रिद्मको उदाहरण हो जसलाई रोकियो भने खतरा हुन्छ। इन्फ्राडियनको अवधि सरकेडियन भन्दा बढी हुन्छ। यसको उदाहरण महीनावारी हुनु हो। यो महीनामा एक पटक र हरेक महीना दोहरिन्छ र रोकियो भने हानि बेहोर्नुपर्छ। अल्ट्राडियनको अवधि सरकेडियनभन्दा कम हुन्छ, यसको उदाहरण स्वयं निद्रामा घटित घटना हो जुन निद्राको आरइएम र एनआरइएम स्लीप हो। हाम्रो शरीरको परिवर्तन पनि दिन रातको परिवर्तनको अनुसार नै हुन्छ। सूर्यको प्रकाशमा काम गरिन्छ र रातको अँध्यारोमा सुतिन्छ। अँध्यारोमा मस्तिष्कको पिनियलबडी जसलाई तेस्रो नेत्र पनि भनिन्छबाट मेलाटोनिन हार्मोन निस्कन्छ जसले शरीरलाई सुताउने तयारी गर्छ। सूर्यको प्रकाशमा मेलाटोनिन स्राव सकिन्छ र मानिस ब्युँझन्छ।

वास्तवमा निन्द्रा के हो, ठीकठीक भन्न गा–हो छ। किन जीवनमा दैनन्दिन यसको प्रादुर्भाव हुन्छ ? दार्शनिकहरू निद्रालाई मृत्युको पर्याय मान्छन्। मृत्यु पछि उनको मान्यतामा ताजा र अर्को जन्म हुन्छ। त्यस्तै निद्रापछि पनि शरीरले पुनर्ताजगी प्राप्त गर्छ। निद्रामा मान्छे कुनकुन लोकमा जान्छ, ठेगान छैन। त्यस्तै मृत्युपछि पनि मान्छे कुनकुन लोकमा जान्छ थाहा नभए पनि अनेक मान्यता त छ नै। शरीर विज्ञानले निद्रामा केके हुन्छ केवल त्यससँग मतलब राख्छ। निद्रा दुर्ई प्रकारको हुन्छ ः आरइएम र एनआरइएम। मतलब रैपिड आई मुभमेन्ट र नो रैपिड आई मुभमेन्ट। आरइएम सम्पूर्ण निद्राको २५ प्रतिशत र एनआरइएम ७५ प्रतिशत हुन्छ। यी दुवै प्रत्येक ९० मिनटमा दोहोरिरहन्छ। शुरू एनआरइएमबाट हुन्छ जसमा आँखा चल्दैन, तर आरइएम निद्रामा आँखा तलमाथि चलिरहेको हुन्छ। मान्छे यसमा विभिन्न सपना देख्छ। त्यसपछि फेरि एनआरइएम निद्रा शुरू हुन्छ जसका १, २,३, र ४ चार स्टेज हुन्छ। यसमा आँखाको गति बन्द हुन्छ र सपना देखिइँदैन। यसको स्टेज तीन र चारमा गहिरो निद्रा हुन्छ। यो गहिरो निद्रा सम्पूर्ण निद्राको १३ देखि २३ प्रतिशत हुन्छ। मतलब यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ भने ६३ देखि ११० मिनट मात्र गहिरो निद्रा हुन्छ र यो एक वयस्कको लागि चाहिने मात्रा हो। ९० मिनटपछि फेरि आरइएम फेज शुरू हुन्छ। एवं प्रकारले जब मान्छे सुत्न जान्छ र जब बिहान उठ्छ तब निद्रा एनआरइएमको हुन्छ। अब तपाईंले स्वयं गणना गर्न सक्नुहुन्छ कि तपाईं कुन निद्राबाट ब्युँझिनुभयो ? यदि तपाईं ११ बजे सुत्नुहुन्छ र ७ बजे उठ्नुहुन्छ भने १०५ मिनट आरइएम र ३२५ मिनट एनआरइएम फेजमा रहनुहुन्छ। यसमा एनआरइएम बिहानको ५ बजे वा ७ बजे देखिन्छ। यही एनआरइएमको निद्राबाट ब्युँझनु राम्रो मानिन्छ। बीचको आरइएमको निद्रामा उठ्नु ठीक हुँदैन। यसैमा एउटा गणना तपाईं स्वयं गर्न सक्नुहुन्छ। प्रायः १, २ वा ४, ५ बजे बिहान सवारी दुर्घटना भएको बढी देखिन्छ। यस बेला एनआरइएमको गहिरो वेभ आउँछ र ड्राइभरले त्यसलाई बुझ्न सक्दैन। आँखा कब बन्द भयो र दुर्घटना भयो उसलाई स्वयं थाहा हुँदैन। निद्रालाई कसैले जित्न सक्दैन। त्यो एउटा वेभको रूपमा आएर मान्छेलाई आफ्नो अँगालोमा बेर्छ। अतः निद्रा आए त्यसको स्वागत गर्नुपर्छ। निद्रा कसरी शुरू हुन्छ भन्ने जटिल प्रक्रिया हो। पहिले भनिसकियो कि पिनियल बडीबाट मेलाटोनिन निस्केर निद्रालायक परिस्थिति बनाउँछ। फेरि मस्तिष्कबाट सिरोटोनिन र नरएड्रिनलिन हार्मोन निस्कन्छ। सिरोटिनिन एनआरइएम र नरएड्रिनलिन आरइएम निद्राको लागि जिम्मेवार हुन्छ। यसमा के देखिएको छ भने आरइएम निद्रामा मस्तिष्कको क्रियाशीलता झन् बढेर आउँछ र उसले स्मरण शक्तिलगायत सबै डाटबेस रिन्युअल गर्छ। जब एनआरइएम शुरू हुन्छ, यस्तो लाग्छ मस्तिष्कले शरीरको अन्य भागको रिन्युअलको लागि समय प्रदान गरिरहेको छ। अतः त्यस अवस्थामा मांसपेशी पूर्ण शिथिल हुन्छ जसलाई स्लीप पारालिसिस भनिन्छ। स्वेदग्रन्थि छाडेर शरीरको प्रायः क्रियाशीलता कम भएर क्षतिपूर्ति गर्छ जसमा मांसपेशी, हाड, अन्य कोशिका र प्रतिरक्षा प्रणाली आदि सबै पर्छ। जब फेरि आरइएम आउँछ तब मस्तिष्कले फेरि आफ्नो काम तीव्र पार्छ। एवम्रीतले मस्तिष्क र शरीरका अन्य अङ्ग आलोपालो आफ्नो रिन्युअल गर्छन्।

 अब सवाल उठ्छ कुन पोजिशनमा सुत्ने, कुन बेला सुत्ने र कति सुत्ने ? यसको जवाफ यो छ कि कुनै पनि समय कोल्टे सुत्नु उत्तम मानिन्छ। घोप्टो परेर सुत्दा पेट थिचिन्छ। उत्तानो सुत्दा फोक्सो अनावश्यकरूपले फैलिन्छ जबकि सुतेको बेला त्यति अक्सिजन चाहिंदैन। अक्सिजन लेभेल कम भएको बेला मात्र त्यसरी सुताइन्छ। राति १० बजे सुत्नु र ६ बजे उठ्नु उत्तम हो तर आजकालको व्यस्ततामा ११ बजे सुतियो र सात बजे उठियो भने पनि चल्छ। ध्यान के कुराको राख्नुपर्छ कि भने वयस्कले ८ अथवा ७ घण्टा सुत्नैपर्छ।

यो अवधि नवजात शिशुमा १८ वा २० घण्टा, त्यसपछिको बच्चामा १२ वा १४ घण्टा, वयस्कलाई सात वा आठ घण्टा तथा बुढेसकालमा पाँच वा सात घण्टाभन्दा कम हुनुहुँदैन। कसैकसैको दिनमा पनि सुत्ने बानी हुन्छ। यो कदापि खराब हुँदैन तर पनि यो एक घण्टाभन्दा बढी नहोस्। मेरो बुबामा यो बानी थियो र उनलाई डर लाग्थ्यो कि कहीं यो खराब बानी त होइन ? मैले सम्झाएँपछि बल्ल उनी आश्वस्त भए। अक्सर धेरै बिहान उठ्नेहरूमा यो समस्या देखिन्छ। रातमा धेरैबेरसम्म काम गर्नेहरूलाई पनि दिनमा निद्रा आउन सक्छ। राति जाग्नेहरूको दिमागको तरल पदार्थमा म्युरोमाइलको स्तर बढी पाइएको छ, जसलाई अर्को जनावरमा इन्जेक्ट गर्नासाथ जनावर सुतेको देखियो। दिनमा सबैलाई काम गर्दागर्दै १५ मिनटको झप्की पनि धेरै लाभदायक हुन्छ। यसमा अन्यथा मान्नुपर्दैन। यो थकाइले माग गरेको कुरा हो। पहिले पहिले त निद्राको अवधारणा नै यही थियो र केही मात्रामा यो सत्य पनि हो। जब हामी खाना खान्छौं, तब निद्रा लाग्ने कारण नै यही हो। खाना पचाउनको लागि रगतको प्रवाह पेटतिर बढी र दिमागतिर कम हुन्छ र निद्रा लाग्छ। मेलाटोनिन, सिरोटिनिनहरूको थ्योरी त पछिका विकास हुन्। हो, कहिलेकाहीं भिटामिनको कमीले पनि बढी सुस्ती र निद्राले च्याप्छ। त्यसको जाँच चिकित्सकसित गराइहाल्नुपर्छ।

निद्राको विकृतिमा इन्सोम्निया,  हाइपरसोम्निया, नारकोलेप्सी, नाइटमेयर, नाइटेरर, सोम्नोम्बुलिज्म जस्ता मनोवैज्ञानिक बिमारी हुन्छन्, जसको वर्णन यस सानो लेखमा सम्भव छैन। 

निद्राको यति वर्णन इइजीबाट सम्भव भएको हो। इइजीको आविष्कार हेन्स बर्गरले २०सौं शताब्दीको मध्यमा मात्र गर्न सके। जबकि निद्राको बारेमा अरस्तुसम्मले बोलेका छन्। एन्थोनी केल्सले स्लीप वाकबारे १९औं शताब्दीमंै बताएका थिए। तर ती सबै अँध्यारोमा ढुङ्गा हाने सरह नै थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here