प्रस, वीरगंज, ८ असार/

देशकै प्रमुख व्यापारिक नाका वीरगंजबाट इन्धनको आयात उल्लेख्य मात्रामा वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महीनाको तुलनामा चालू आवको सोही अवधिमा वीरगंज नाकाबाट इन्धनको आयातमा ७८ प्रतिशतले वृद्धि भएको छ ।

गत आवको साउनदेखि जेठसम्ममा वीरगंज नाकाबाट ७४ अर्ब ३४ करोड ६६ लाख मूल्यबराबरको १४ लाख १८ हजार २१७ किलोलिटर डिजल, पेट्रोल, मटीतेल, हवाई इन्धन आयात भएको थियो भने चालू आवको सोही अवधिमा वीरगंज नाकाबाट एक खर्ब ५३ अर्ब ३६ करोड सात लाख मूल्यको २५ लाख ३१ हजार ६६० किलोलिटर इन्धन आयात भएको छ । यो गत आवभन्दा १०६.२७ प्रतिशत बढी मूल्यको ७८.५१ प्रतिशत बढी इन्धन आयात भएको हो ।

त्यसैगरी, वीरगंज नाकाबाट एलपी ग्याँसको आयातमा करीब आठ प्रतिशतले वृद्धि भएको छ । गत आवमा दुई लाख ३९ हजार ६३८ मेट्रिक टन ग्याँस आयात भएकोमा चालू आवको सोही अवधिमा १८ हजार ५०० मेट्रिक टन बढी अर्थात् दुई लाख ५८ हजार १५० मेट्रिक टन ग्याँस आयात भएको वीरगंज भन्सार कार्यालयले जनाएको छ ।

वीरगंज नाकाबाट डिजेल, पेट्रोल, हवाई इन्धन तथा एलपी ग्याँसको आयातमा वृद्धि भएपनि मटीतेलको आयात ३० प्रतिशतले घटेको छ । गत आवमा ११ हजार २२० किलोलिटर आयात भएकोमा चालू आवमा तीन हजार ३६० किलोलिटर कम अर्थात् सात हजार ८६० किलोलिटर मटीतेल आयात भएको वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए ।

उनले वीरगंज नाकाबाट डिजेल, पेट्रोल, मटीतेललगायतका इन्धन र एलपी ग्याँसबाट गत आवभन्दा चालू आवमा करीब ३४ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ । गत आवमा ५४ अर्ब ५३ करोड ९२ लाख रुपियाँ राजस्व सङ्कलन भएकामा चालू आवमा १८ अर्ब २८ करोड ३४ लाख बढी अर्थात् ७२ अर्ब ८२ करोड २६ लाख रुपियाँ राजस्व सङ्कलन भएको उनले बताए ।

नेपालको लागि कुल आवश्यकमध्ये ७० प्रतिशत इन्धन र ८५ प्रतिशत एलपी ग्याँसको आपूर्ति वीरगंज नाकाबाट हुने गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here