प्रस, वीरगंज, २ असार/
जिल्ला सुरक्षा समिति, पर्साको बैठकले केही दिनअगाडि निर्णय गरी मिटर ब्याजीलाई खोज्न पर्साका सबै प्रहरी एकाइमा पत्राचार गरेपछि अहिले गाँउदेखि शहरसम्म हडकम्प मचेको छ ।
गृह मन्त्रालयले देशका सबै जिल्लामा मिटर ब्याजीहरूलाई तह लगाउने उद्देश्यले मन्त्रिपरिषद्को निर्णय पठाएपछि पर्सामा पनि सोही पत्रको आधारमा सुरक्षा समितिले निर्णय गरेको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले बताए ।
अहिलेसम्म मिटर ब्याजी को हो भन्ने लिखित उजूरी नआएको प्रजिअ ढकालले बताए । मिटर ब्याजीको कारण गरीब निमुखा जनता मारमा परेको, उचित मुनाफा लिनुको साटो अत्यधिक नाफा असुल गरेको र सोही कारणले ऋणीहरूको सामूहिक आत्महत्याका घटनालगायत अन्य विभिन्न किसिमका आपराधिक क्रियाकलापमा संलग्नता बढ्दै गएपछि नेपाल सरकारले देशभरिका सुरक्षा निकायलाई मिटर ब्याजीको खोजी कार्य गर्न निर्देशन गरेको प्रजिअ ढकालले बताए ।
हामीलाई प्राप्त जानकारी अनुसार पर्साका सबै मिटर ब्याजी प्रहरी सम्पर्कमैं रहेका छन् । अहिले पनि पर्सा प्रहरीले मिटर ब्याजीहरूलाई विभिन्न बहानामा कारबाहीको सट्टा सहयोग गर्दै आएको छ ।
स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय, पर्सामा चेक बाउन्सको नाममा परेका उजूरीमध्ये ९० प्रतिशत उजूरी मिटर ब्याजीहरूको हुने गरेको छ ।
मिटर ब्याजीहरूले मिटर ब्याजमा दिएको पैसाको प्रत्याभूतिका लागि खाली चेक लिने गरेको र तोकिएको समयमा ऋणको साँवा र ब्याज नतिर्दा आफूखुशी रकम भरेर चेक बाउन्स गराइ प्रहरीमार्फत कारबाई प्रक्रिया अगाडि बढाउँछन् ।
मिटर ब्याजीको पक्षमा प्रहरी प्रलोभनमा परी कतिपय ऋणीहरूलाई थुनेर रकम फिर्ता गराएको घटना सार्वजनिक भइसकेका छन् । स्रोतका अनुसार पर्सा प्रहरीले एकातिर मिटर ब्याजीविरुद्ध उजूरी दिन सार्वजनिक सूचना जारी गर्ने र अर्कोतिर सर्वसाधारणले नबुझ्ने गरी मिटर ब्याजीहरूलाई सहयोग गर्दै आएको स्रोतको भनाइ छ ।
चेक बाउन्सको रकम फिर्ता गराउन पर्सा प्रहरीमा एक समूह नै सक्रिय छ, जसले आर्थिक प्रलोभनमा परी कतिपयलाई बेघरसमेत बनाइसकेको छ । त्यतिमात्र होइन, मिटर ब्याजीको पक्षमा प्रहरी कारबाईको लागि अग्रसर हुने तर ऋणीको पक्षमा उल्टै मुद्दा दर्ता गरी दुःख दिने गरेको स्रोतको भनाइ छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालसँग बुझ्दा उनले गत वर्षदेखि अहिलेसम्म तीन सयको हाराहारीमा चेक बाउन्सको मुद्दा परेको बताए । चेक बाउन्सको उजूरी आउने बित्तिकै कानून अनुसार मुद्दा दर्ता नगरी पहिला अनुसन्धान गरी मुद्दा दर्ता हुने गरेको बताए । उनीहरू मिटर ब्याजी हुन् कि होइनन् पीडितले भन्नुप¥यो प्रनाउ खनालको भनाइ थियो । कुनै कामको लागि रकम लिएबापत ऋणीले सदा चेक दिने गरेको र पछि साहुले आफूखुशी रकम भरेर चेक बाउन्स गराइ रकम असुलको लागि निवेदन दिने गरेको घटना बढ्दै गएपछि प्रनाउ खनालले उजूरी परेपछि छलफल गराउने तर थुनेर रकम असुल नगराएको उनले दाबी थियोे । लकडाउनका कारण व्यापारमा अत्यधिक घाटा भएपछि धनीसँग चर्को ब्याजमा रकम लिएका ऋणीहरूले ऋण चुक्ता गरेको देखिन्छ । समयमा रकम बुझाउन नसक्दा एक्कासि मुद्दाको सङ्ख्या वृद्धि हुँदा पर्सा प्रहरी पूर्वप्रमुख गङ्गा पन्तले चेक बाउन्सको उजूरी लिए पनि दर्तामा रोक लगाएकी थिइन् ।