करीब चार दशक पहिले प्रदर्शित हिन्दी चलचित्र ‘आँधी तुफान’मा एउटा दृश्य थियो । त्यो के भने सैलुनमा कपाल, दा¥ही कटाउन बसेका ग्राहकहरूको हजामत गर्ने क्रममा हजामले कसैको कपाल आधा काटेर कुराउने अनि कसैको दा¥ही । उसको सैलुनमा ग्राहकको भीड थियो र हजामत गर्ने हजाम भने एक्लो । सबै ग्राहकलाई हतार थियो तर हजाम पनि कम्तीको चलाख थिएन । उसले ग्राहक नभागून् भनेर त्यो जुक्ती अख्तियार गरेको थियो । आधा कपाल, आधा दा¥ही काटेपछि ग्राहक भाग्ने कुरा भएन । ठीक यही पारा मधेस प्रदेश सरकारले अवलम्बन गरेको पाइन्छ । पर्सा जिल्लामा मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले बजेट नपठाएर अहिले सयौं योजना अलपत्र छन् । चालू आर्थिक वर्ष सकिन अब मुश्किलले एक महीना बाँकी छ । तर यसै आर्थिक वर्षमा सम्पन्न हुनुपर्ने योजनाहरू रकम अभावमा रोकिएका छन् । पर्सा मात्र होइन बारा र रौतहटमा पनि यही पारा छ । कारण मन्त्रालयमा मन्त्रीको परिवर्तन । मन्त्री परिवर्तनले भौतिक पूर्वाधार विकासका कार्यहरू नरोकिनुपर्ने हो । किनभने विकासका कार्य जोसुकैले गरेको भएपनि त्यो प्रदेशको उन्नतिका लागि हो ।
पर्सा, बारा र रौतहटमा यी योजनाहरू तत्कालीन राजपा हाल लोसपाका नेता जीतेन्द्र सोनल भौतिक पूर्वाधार विकास मन्त्री भएको बेलामा सञ्चालनमा आएका थिए । उनी परिवर्तन भएसँगै उनले सञ्चालन गरेका योजनाहरू रोकिनु तुकको कुरै होइन । किनभने जोसुकै मन्त्री भएपनि उसको कर्तव्य हुन जान्छ कि सञ्चालित योजनाहरूलाई पूरा गर्ने । यसको श्रेय कार्य सम्पन्न भएपछि बहालवाला मन्त्रीले पाउने हो । अर्काे कुरा यी रोकिएका योजनाहरूमा मधेस प्रदेश सरकारको लगानी हो, न कि कुनै व्यक्तिविशेषको । जहाँसम्म कमिशनको कुरा छ, त्यो जुन मन्त्रीको पालामा पनि निर्धारण गरिएको हुन्छ र सोअनुरूप पाउँछन् पनि । अब यस्ता कुराहरूमा पहिलेको मन्त्रीले आफ्नो क्षेत्रमा विकास ग¥यो भनेर सोच राख्नु सङ्कुचित मानसिकताको उपज मात्र हो । पुरानो कामलाई फत्ते गरेर नयाँ योजनाहरू आफ्नो क्षेत्रमा लग्दा भइहाल्छ । तर त्यस्तो कार्य नगरी पुराना योजनाहरूलाई आधा अधुरो राख्नु मधेस प्रदेश सरकारको पनि अदूरदर्शिता हो । आखिरकार सञ्चालनमा रहेका योजनाहरू पूरा नगर्ने हो भने अर्काे मन्त्री आउँदा उसले पनि यस्तै गैरजिम्मेवार कार्यलाई प्रश्रय दिन्छ र योजनाहरू अधुरा मात्र हुन जान्छन् । योजना अधुरा हुनु भनेको मधेस प्रदेश सरकारको पनि बदनामी हो ।
हिन्दी सिनेमा आँधी तुफानमा हजामले आफ्नो व्यवसाय सञ्चालनका लागि गरेको कार्य पनि राम्रो होइन । तर त्यो सिनेमा हो, रिल र रियल लाइफमा फरक हुन्छ । त्यो दृश्य निर्देशकले सिनेमामा रोचकता प्रदान गर्नको लागि राखेको हो । रियल लाइफमा त्यो कुरा सुहाउँदो होइन । तसर्थ मन्त्री फेरिएकै कारण करोडौं, अर्बौं रुपैयाँका विकास योजना प्रभावित हुने गरी मन्त्रीले गरेका कामकारबाईलाई कुनै पनि अर्थमा राम्रो भन्न सकिन्न । यस वर्ष पूरा गर्नुपर्ने योजनाहरू मधेस प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले अविलम्ब बजेट पठाएर अलपत्र योजनालाई सफल पार्नुपर्छ । अब प्रदेश सरकारको आयु भनेको मुश्किलले छ महीना मात्र होला । यो अवधिमा लोकप्रिय कार्यहरू गर्नुपर्ने हुन्छ । होइन भने आउँदो चुनावमा यस प्रकारको हर्कत गर्ने मन्त्रीलाई जनताले सीधा पार्नेछ ।