• उमाशङ्कर द्विवेदी

बडेबडे महारथीहरूबीच सिन्धुराज जयद्रथ र भूरिश्रवा मारिए, त्यहाँ तिमीले अब कसकसलाई बाच्ने आस गरिरहेका छौ ? जसलाई इन्द्रसहित सम्पूर्ण देउताले पनि मार्न सक्दैनगे ती भीष्मलाई जबदेखि मृत्युको मुखमा परेको देखेर मलाई लाग्दछ अब कुनै पनि अवस्थामा यो पृथ्वी तिम्रो हुन सक्दैन । उता हेर, पाण्डव र सृञ्जयहरूको सेना एक साथ मिलेर ममाथि आइलाग्दैछन् । अब म पाञ्चाल राजाहरू नमारी आफ्नो कवच हटाउने छैन । आज युद्धमा मै त्यही काम गर्नेछु जसबाट तिम्रो हित हुन सकोस् । मेरो पुत्र अश्वत्थामालाई गएर भन्नु कि युद्धमा आफ्नो जीवनको रक्षा गर्दै सोमकहरूको संहार गरोस्, उनीहरूलाई जीवित न छाडोस् । दया, धर्म, सत्य र सरलता आदि सद्गुणहरूमा स्थित रहोस्, धर्म प्रधान कर्महरूको मात्रै बारम्बार अनुष्ठान गरोस् । ब्राह्मणलाई सन्तुष्ट राखोस्, आफ्नो शक्ति अनुसार उनीहरूको सत्कार गरोस्, किनकि उनीहरू अग्निसमान तेजस्वी हुन्छन् । राजन्, अब म महासङ्ग्रामको लागि शत्रु सेनामा प्रवेश गर्नेछु । तिमीमा शक्ति भए सेनाको रक्षा गर्नु किनकि क्रोधित कौरव र सृञ्जयहरू बीच आज रात्रिमा पनि युद्ध हुनेछ । यति भनेर आचार्य द्रोण पाण्डव तथा सृञ्जयहरूसित युद्ध गर्न हिंडे ।

आचार्यको प्रेरणा पाएर दुर्योधनले पनि युद्ध गर्न निश्चय गरे । उनले कर्णसित भने–हेर, श्रीकृष्णको सहायताले अर्जुनले द्रोणाचार्यको व्यूह भेदन गरेर सबै योद्धाहरूको सामु सिन्धुराजको बध गरेका छन् । मेरो अधिकांश सेना अर्जुनको हातबाट नष्ट भइसके, अब अलिक मात्र बाँचेका छन् । यदि युद्धमा आचार्य द्रोणले अर्जुनलाई रोक्ने भरमग्दुर कोशिश गरेको भए अनेक प्रयत्न गर्दा पनि त्यस दुर्भेद्य व्यूहको भेदन गर्न सक्दैनथे तर उनी त गुरु द्रोणका परम प्रिय शिष्य पो हुन् १ अनि त आचार्यले जयद्रथलाई अभयदान दिएर पनि अर्जुनलाइ व्यूहभित्र छिर्ने बाटो दिए, यदि उनले पहिले नै सिन्धुराजलाई घर जान आज्ञा दिएको भए निश्चय नै यत्रो ठूलो संहार हुने थिएन । मित्र, जयद्रथ आफ्नो जीवन रक्षा गर्नका लागि घर जान तयार थिए, तर म अधमले नै द्रोणबाट अभय पाएर उनलाई रोकिदिए । आजको युद्धमा चित्रसेन आदि मेरा भाइ पनि हामीहरूले हेर्दाहेर्दै भीमसेनको हातबाट मारिए ।

कर्णले भने–मित्र, तपाईं आचार्यको निन्दा नगर्नुहोस्, उनी त आफ्नो बल, शक्ति र उत्साह अनुसार प्राणको पनि परवाह नगरेर युद्ध गर्दैछन् । अर्जुन द्रोणको उल्लङघन गरेर सेनाभित्र छिरेका थिए, त्यसैले म यसमा उनको कुनै दोष देखिरहेको छैन । मैले पनि त्यस रणाङ्गणमा तपाईंको साथ रहेर धेरै प्रयत्न गरें, तथापि सिन्धुराज मारिए, त्यसैले यसमा प्रारब्धलाई नै प्रधान बुझ्नुपर्दछ । मानिसले उद्योगशील भएर सदैव निश्शङ्क भावबाट आफ्नो कर्तव्यको पालना गर्नुपर्दछ, सिद्धि त दैव अधीन हुन्छ । हामीहरूले कपट गरेर पाण्डवहरूलाई ठग्यौं, उनीहरूलाई मार्न विष दियौं, लाक्षागृहमा डढायौं, जुआमा हरायौं र राजनीतिको सहारा लिएर वनमा पनि पठायौं । यस प्रकार प्रयत्न गरेर हामीले उनीहरूको प्रतिकूल जे पनि ग¥यौं, त्यसलाई प्रारब्धले व्यर्थ पारिदियो, तापनि दैवलाई निरर्थक ठानेर तपाईंले प्रयत्नपूर्वक युद्ध गरि नै राख्नुभयो ।

राजन्, यस प्रकार कर्ण र दुर्योधन धेरैथरी कुरा गरिहेका थिए, यत्तिकैमा रणभूमिमा उनीहरूलाई पाण्डवको सेना देखा प¥यो, अनि त तपाईंका पुत्रहरूको, शत्रुहरूको साथ घमासान युद्ध हुन
थाल्यो ।

सञ्जय भन्छन्–महाराज, कौरव र पाञ्चाल वीरहरूबीच परस्पर घमासान युद्ध हुन थाल्यो । सबै योद्धा एक अर्कालाई वाण, तोमर र शक्ति हानेर यमलोक पठाउन थाले । अलिक बेरमैं युद्धले बडो भयङ्कर रूप धारण ग¥यो, रगतको खोलो बग्न थाल्यो । त्यति बेला तपाईंका धनुर्धर पुत्र दुर्योधनको तीक्ष्ण वाणबाट मार खाएर पाञ्चाल वीर यत्र–तत्र भाग्न थाले । उनका सायकहरूबाट पीडित भएर पाण्डव सैनिक धराशायी हुन थाले । त्यति बेला तपाईंका पुत्रहरूले जस्तो पराक्रम गरे, त्यस्तो पराक्रम कौरव पक्षका कुनै पनि वीरहरूले कहिले पनि गर्न सकेका थिएनन् । दुर्योधनद्वारा पाण्डव सेना नष्ट भइरहेको देखेर पाञ्चालवीर भीमसेनलाई अगि राखेर उनीहरूमाथि जाइ लागे । उनीहरूले भीमसेनलाई दश, नकुल–सहदेवलाई तीन–तीन, विराट् र दु्रपदलाइ छ–छ, शिखण्डीलाई एक सय, धृष्टद्युम्नलाई सत्तरी, युधिष्ठिरलाई सात र केकय र चेदि देशका योद्धाहरूलाई अनेकौं तीक्ष्ण वाणबाट पीडित पारे । फेरि सात्यकिलाई पाँच, द्रौपदीका पुत्रहरूलाई तीन–तीन र धेरैजसो वाण हाने र घटोत्कचलाई पीडित पारेर ठूलो स्वरमा सिंहनाद गरे । क्रमशः…।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here