प्रस, वीरगंज, २६ जेठ/
मधेस प्रदेशका स्वास्थ्य निर्देशक विजयकान्त झाले अन्य प्रदेशको तुलनामा मधेस प्रदेशमा मातृ मृत्युदर बढ्दै गएको बताएका छन् ।
सामाजिक विकास मन्त्रालयको सहयोग तथा स्वास्थ्य कार्यालय, पर्साको आयोजनामा समुदाय स्तरमा मातृ पेरिनेटल मृत्यु निगरानी तथा प्रतिकार्य सम्बन्धी एक दिने अभिमुखीकरण गोष्ठीको उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् । निर्देशक झाले मधेस प्रदेशमा सर्ने, नसर्ने, कुपोषित, दीर्घरोगी आदिको सङ्ख्या बढ्नु चिन्ताको विषयण् भएको बताए ।
अन्य प्रदेशको तुलनामा मधेस प्रदेशका जनप्रतिनिधिहरूले समयमा ध्यान नदिंदा पछि महामारीको रूपमा पनि मातृ मृत्युदर बढ्ने बताए । निर्देशक झाले अन्य देशको तुलनामा मधेस प्रदेशमा १ लाखमा २३९ जना आमाको मृत्यु हुनु दुःखद भएको बताए । एकजनालाई जन्म दिने आमा आफैं मृत्युको शिकार हुनु गलत हो । उनले मातृ मृत्यु दर रोकथाम गर्न जनप्रतिनिधिहरूको अहम् भूमिका रहेको बताए । भौतिक विकासभन्दा बढी अहिले सामाजिक विकासको आवश्यकता बताउँदै झाले छुट्टै बजेट निकासा गरी प्रदेशसँग समन्वय गरे गाउँपालिकाको समस्या समाधान हुने बताए ।
कार्यक्रममा सहभागी जनप्रतिनिधिहरूले प्रदेश सरकारले अहिलेसम्म स्थानीय तहलाई केही गर्न नसकेको बताए । अपाङ्गता भएकालाई प्रमाणपत्र दिलाउन कठिन भएकोले तत्काल सो समस्या गापा स्तरबाट समाधान हुनेगरी पहल गर्न जोड दिए ।
नवनिर्वाचित जनप्रतिनिधिहरूले कार्यक्रममा बोल्दै यस अघिका प्रतिनिधिहरूले के गरे थाहा छैन, तर यस पालिदेखि मातृ मृत्युदर रोकथाम गर्न सक्दो सहयोग गर्ने बताए ।
स्वास्थ्य कार्यालयका निमित्त प्रमुख नवलकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव डा मुक्तिनारायण साह, गापा अध्यक्ष लालबहादुर श्रेष्ठ, यशवन्त यादव, सहायक प्रमुख जिल्ला अधिकारी भीमदत्त पौडेललगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा पर्सा जिल्लामा रहेका चौधवटा पालिकाका जनप्रतिनिधि, प्रमुख कार्यकारी अधिकृत, स्वास्थ्य संयोजकलगायतको सहभागिता थियो ।