प्रस, वीरगंज, २१ जेठ/

अर्थमन्त्री जनार्दन शर्माले यसै वर्षदेखि निजगढमा विमानस्थल निर्माणको काम शुरू हुने बताएका छन् ।

वीरगंज उद्योग वाणिज्य सङ्घको ४६औं वार्षिक साधारणसभामा उनले सर्वोच्च अदालतको आदेशले निर्माणमा रोक लागे पनि निजगढमा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य कुनै पनि हालतमा नरोकिने बताए । उनले अन्तर्राष्ट्रिय विमानस्थल जसरी पनि बन्छ, त्यसमा कुनै आशङ्का नगर्न र विश्वस्त हुन आग्रह गरे ।

बजेटमा वीरगंजलाई उपेक्षा गरिएको भन्ने भनाइको खण्डन गर्दै अर्थमन्त्री शर्माले भने, “गरीबी निवारण गर्ने र आत्मनिर्भर हुने कुरा पनि वीरगंजवासीकै लागि हो, दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल पनि वीरगंजकै लागि हो, जसले सिङ्गो मधेस प्रदेशलाई फाइदा पु¥याउँछ ।” उनले काठमाडौं–तराई/मधेस द्रुत मार्गको लागि विनियोजन गरिएको ३० अर्ब बजेट पनि वीरगंजवासीकै लागि भएको बताए ।

अर्थमन्त्री शर्माले वीरगंज चिनी कारखाना र कृषि औजार कारखाना चल्नेमा निश्चिन्त हुन बताए । अदालत र सशस्त्र प्रहरीलाई दिइएको सार्वजनिक जग्गा आवश्यकता अनुसार खाली गराउन सकिने हुँदा त्यो कुनै ठूलो विषय नभएको उनको भनाइ थियो । कृषिलाई प्राथमिकता दिइएको र उत्पादनमा जोड दिएको हुँदा अब कृषि औजार कारखानाको आवश्यकता पनि बढ्दै गएकोले सो कारखाना सञ्चालन गर्ने उनले बताए ।

वीउवासङ्घका अध्यक्ष सुबोध गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा अर्थ सचिव मधु मरासिनी, मधेस प्रदेशका खानेपानी तथा ऊर्जा मन्त्री ओमप्रकाश शर्मा, सङ्घीय सांसद प्रदीप यादव, वीरगंजका प्रमुख राजेशमान सिंहलगायतले अधिवेशन सफलताको लागि शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा निर्याततर्फ उत्कृष्ट तीन उद्योग डाबर नेपाल, त्रिवेणी स्पिनिङ, शिवशक्ति केमो प्लास्टिक प्रालि तथा युवा उद्यमीमा नारायणी रिफाइनरीका निखिल चाचान, जगदम्बा कङ्क्रिटका आयुष गुप्ता, मारुती पेपर उद्योग प्रालिका सञ्चालक दीपेश अग्रवाल, एक्सप्रेस कार वासका राहुल साहलगायतलाई सम्मान गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here