प्रस, वीरगंज, २० जेठ/
वीरगंज महानगरको कार्यपालिका सदस्यमा नेपाली काङ्ग्रेस र जनता समाजवादी पार्टीको गठबन्धन विजयी भएको छ । शुक्रवार जिल्ला समन्वय समिति, पर्सामा भएको निर्वाचनमा आठ सदस्यीय पदका लागि १६ जनाको उम्मेदवारी परेको थियो ।
आठवटै सदस्य पदमा जसपा र काङ्ग्रेसका चार/चार जना सदस्य निर्वाचित भएका छन् । महानगरको कार्यपालिकामा दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट नेकाका कन्हैया प्रसाद, जसपाका खैरुद्दीन मियाँ धोबी र निरञ्जनप्रसाद सोनार निर्वाचित भएका छन् । कन्हैयाले १०७, धोेबीले १०८ र सोनार ११० मत प्राप्त गरेका थिए भने एमाले–लोसपा गठबन्धनबाट एमालेका उम्मेदवार अजयकुमार गुप्ताले ४७, ओमप्रकाश साह र राजकिशोर गुप्ताले ४८/४८ मत पाएका थिए ।
पाँचजना महिला सदस्यमा गठबन्धनबाट नेकाकी कनिका कौशिक, नीतुकुमारी राम, राधादेवी कार्की तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन विजयी भएका छन् । कौशिकले १०९, रामले १११, कार्कीले १०९, राजपुतिनले ११३ र खातुनले ११४ मत पाएका थिए ।
सोही पदमा एमालेकी अमरीदेवी चमारले ४५, कान्तिदेवीले ४५, मञ्जुदेवीले ४६, सङ्गीतादेवीले ४६ र लोसपाकी पतिया देवीले ४३ मत पाए ।
१६२ मतदातामध्ये १५९ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
पाँच महिला र तीन दलित वा अल्पसङ्ख्यक सदस्य गरी कुल आठ सदस्यीय पदका लागि भएको निर्वाचनमा नगरप्रमुख, उपप्रमुखलगायत ३२ वटै वडाका अध्यक्ष र सदस्यहरूले मतदान गरेका थिए ।
मतदानमा जसपाका तीनजना जनप्रतिनिधि सहभागी भएनन् । शुक्रवार बिहान मकवानपुरगढीमा दुर्घटनामा परी उनीहरू घाइते भएका कारण मतदानमा सहभागी हुन नपाएका हुन् ।