राजेश केशरीवाल, रक्सौल, १६ जेठ/
वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले श्रीसिया खोलाको सफाइ आफ्नो घोषणापत्रमा रहेको र सो अनुसारको काम यथाशीघ्र सञ्चालन गर्ने बताएका छन् ।
इन्डो–नेपाल चेम्बर अफ कमर्सको प्रतिनिधिमण्डलले आइतवार वीरगंज महानगरका प्रमुख सिंहलाई स्वागत सम्मान कार्यक्रम आयोजना गरेकोमा नगरप्रमुख सिंहले सो कुरा बताएका हुन् । उनले भारतीय सवारी साधनहरूसँग महानगरमा गरिने अवैध शुल्क उठाउने कार्य पनि बन्द गर्ने आश्वासन दिए । उनले नेपाल–भारत मैत्रीलाई आफ्नो कार्यकालमा निरन्तरता दिने बताए ।
कमर्सका अध्यक्ष राजकुमार गुप्ताले नगरप्रमुख सिंहलाई शुभकामना दिंदै श्रीसिया नदीको प्रदूषण नियन्त्रणका लागि आग्रह गरेका थिए । उनले वीरगंजबाट बग्ने श्रीसिया नदीमा उद्योगको केमिकलयुक्त पानीले रक्सौलका मानिसहरूलाई पनि समस्या भइरहेकोतर्फ ध्यानाकर्षण गराए । उनले भन्सारमा साँझ ४ बजेदेखि ६ बजेसम्म सवारीसाधनको इन्ट्री गर्ने व्यवस्था मिलाउन तथा राति ११ बजेसम्म निजी सवारी साधन रक्सौल जान पाउने व्यवस्था मिलाउन आग्रह गरे । यसले दुवै शहरबीच व्यापार बढ्ने र पर्यटन व्यवसाय पनि फस्टाउने सुझाव दिए ।
अध्यक्ष गुप्ताले भारतीय सवारी साधनमा हुने अवैध असुली नियन्त्रण गर्न पनि माग गरेका थिए । प्रतिनिधि मण्डलमा पप्पु केसरीवाल, धनराज साह, देशबन्धुकुमार, रमेशकुमार, रामकुमार र विकास कुमारको सहभागिता थियो ।