प्रस, वीरगंज, १६ जेठ/
जिल्ला प्रहरी कार्यालय, पर्साले मानव बेचबिखन तथा जबरजस्ती करणी गरेको घटनामा संलग्न रहेको आरोपमा एक महिलासहित तीनजनालाई पक्राउ गरेको छ ।
संखुवासभाको खाँदबारी नपा–१० घर भई हाल वीरगंज महानगरपालिका–१६ मा कार्की होटल सञ्चालन गर्दै आएकी ४२ वर्षीया लक्ष्मी बुढाथोकी (कार्की), मोरङ जिल्ला कटहरी गाउँँपालिका वडा नं. ४ घर भई हाल वीरगंज महानगरपालिका वडा नं. ८ बस्ने २५ वर्षीय सुरजकुमार साह, जुम्ला जिल्ला हेमा गापा–३ बस्ने ३५ वर्षीय हरिचन्द्रनाथ योगीलाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
वीरगंज–८ स्थित एउटा रेस्टुरामा काम गर्ने सुरजले जेठ ५ गते काठमाडौं बस्ने २५ वर्षीया युवतीलाई विवाह गर्ने प्रलोभन देखाई वीरगंज ल्याएर बसपार्कस्थित एउटा होटलमा पटकपटक करणी गरेको जिप्रका, पर्साले जनाएको छ ।
त्यसपछि साह जेठ ९ गते वीरगंज–१६ स्थित कार्की होटलकी सञ्चालिका लक्ष्मीको जिम्मा लगाई फरार भएका थिए ।
जेठ १० गते लक्ष्मीले युवतीलाई विवाह गर्छु भनेर झुक्याई हरिचन्द्रनाथको जिम्मा लगाएको प्रहरीको दाबी छ । वीरगंज–१६ फूलवारी टोलमा डेरा गरी बस्ने हरिचन्द्रनाथले युवतीलाई कोठामा लगी मानसिक र शारीरिक यातना दिई पटकपटक जबरजस्ती करणी गरेको प्रहरीको दाबी छ ।
जेठ १४ गते राति ९ बजे पीडित युवती सो स्थानबाट भागेर आफन्तको सम्पर्कमा पुगेकी थिइन् । आफन्तले प्रहरीलाई जानकारी गराएपछि प्रहरीले आइतवार तीनैजनालाई पक्राउ गरेको जिप्रका, पर्साले जनाएको छ ।
प्रहरीले तीनजनालाई जबरजस्ती करणी र मानव बेचबिखन तथा ओसारपसार कसूरमा अनुसन्धान गरिरहेको जनाएको छ ।