प्रस, परवानीपुर, १५ जेठ/
जेठ १५ गते बजेट भाषण हुनुभन्दा पहिले वीरगंज भन्सार मातहत एकीकृत जाँच चौकी (आइसिपी) नाकाबाट ८ सय ४० वटा नयाँ सवारीसाधन जाँचपास भएर भित्रिएको छ ।
बजेट भाषणपछि राजस्व बढ्ने डरले नेपालका आयातकर्ताहरू वर्षको १० महीनादेखि होल्ड गरिराखेका सवारी साधनहरू धमाधम छुटाएर लगिरहेका छन् । गत चैत २४ गतेदेखि जेठ १४ गतेसम्म करीब ८४० वटा गाडी भित्रिएको आइसिपी सञ्चालन गर्ने नेपाल इन्टरमोडेल यातायात विकास समिति आइसिपी शाखाले बताएको छ ।
शाखाका अधिकृत तर्कराज जोशीका अनुसार पछिल्लो डेढ महीनामा ५७६ वटा नयाँ जीप, कार, भ्यान, ३२ वटा एम्बुलेन्स, ५५ वटा बस र १७६ वटा अन्य सवारी साधन गरी कुल ८४० वटा गाडी वीरगंजको आइसिपी नाकाबाट जाँचपास भएर नेपालको विभिन्न ठाउँमा गएको छ ।
त्यसैगरी उनले दिएको जानकारी अनुसार पछिल्लो डेढ महीनामा करीब १ हजार ९५१ सवारी साधन भारतबाट वीरगंजको आइसिपी भन्सारमा आएको छ । जसमध्ये नयाँ जीप, कार, भ्यान ९१६ वटा, ३२ वटा एम्बुलेन्स, बस ४३ वटा र अन्य ९६० वटा सवारी साधन गरी १ हजार ९५१ वटा सवारी साधन आइसिपीमा आएको उनले बताए । नेपालमा बजेट भाषणको डर तथा भारतको बजेट भाषणले गर्दा सवारी साधन निर्यातमा भन्सार महसूल बढ्न सक्ने आशङ्काका कारण सीमापारी नेपाली आयातकर्ताको भाडाको गोदाममा थन्काएर राखिएका गाडीहरू ठूलो सङ्ख्यामा नेपाल भित्रिएको भन्सार अधिकारीहरूको भनाइ छ ।
“नेपाली आयातकर्ताहरू भारत र विदेशबाट सवारी साधन मगाएर रक्सौलको पन्टोका र हरैयास्थित विभिन्न भाडाको गोदाममा गाडी होल्ड गरेर राख्ने गरेका छन्”–वीरगंज भन्सारका एकजना अधिकारीले भने– “नेपाली ग्राहकले बूक गरेपछि रक्सौलबाट गाडी ल्याएर वीरगंज भन्सारमा जाँचपास गरी लैजाने गरेका थिए, तर भारतबाट निकासी हुने सवारी साधनमा जिएसटी बढाउने हल्ला भएपछि सबैले रक्सौल छेउछाउ होल्ड गरेर राखेका गाडीहरू धमाधम नेपाल भिœयाइरहेका छन् । त्यसैकारण गाडी आउने क्रम पछिल्लो डेढ महीनामा बढेको हो ।”
अहिलेको तथ्याङ्क अनुसार कार, जीप, भ्यान, बस, ट्रक, ट्याक्टर तथा अन्य सवारी साधन गरी ११४६ र मालवस्तु बोकेर आएको ६१६ सवारीसाधन गरी १७६२ वटा गाडीहरू आइसिपीमा पार्किङ गरी राखिएको नेपाल इन्टरमोडेल यातायात विकास समितिले जनाएको छ ।