प्रस, वीरगंज, १५ जेठ/

वीरगंज उद्योग वाणिज्य सङ्घले महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख राजेशमान सिंहलाई महानगरपालिकाको कार्यालयमा भेटघाट तथा छलफल गरेको छ ।

सङ्घका अध्यक्ष डा सुबोधकुमार गुप्ताको नेतृत्वमा गएको टोलीले नगरप्रमुख सिंहलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।

भेटघाटको क्रममा वीरगंज उद्योग वाणिज्य सङ्घ तथा महानगरपालिकाले आगामी दिनमा के कस्ता क्षेत्रमासहकार्य गर्न सकिन्छ भन्नेबारे नगरप्रमुखको ध्यानाकर्षण गराइएको थियो । महानगरलाई सफा र सुन्दर बनाउनुका साथै महानगरपालिकाले सङ्कलन गर्दै आएको विभिन्न करलाई समय अनुसार परिमार्जन गर्न, वीरगंजमा एउटा ट्रान्सपोर्ट नगर निर्माण, महानगर क्षेत्रमा रहेका उद्योगहरूका लागि आवश्यक ट्रेडफेयर मैदान निमार्णमा सङ्घ र महानगरले सहकार्य गर्न सक्नेतर्फ नगरप्रमुखलाई अवगत गराएका थिए ।

वीरगंज महानगरपालिका तथा नगरवासीका साथै उद्योगी व्यवसायीहरू बीच रहेको मतभिन्नतालाई छलफल गरी सही दिशा दिनेतर्फ आफू तत्पर रहेको नगरप्रमुख सिंहले बताए । महानगरको विभिन्न करमा देखिएका अपारदर्शितालाई पारदर्शी बनाई, करका दरहरू पुनरवलोकनका साथै दरभन्दा दायरा बढाउन तत्परताका साथ कार्य गर्ने नगरप्रमुखले बताएका थिए ।

भेटघाट तथा छलफलको क्रममा अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिलकुमार अग्रवाल, उपाध्यक्षद्वय हरि गौतम र माधव राजपाल, महासचिव मनोजकुमार दास, कोषाध्यक्ष गोविन्द शाह, सचिवद्वय अरविन्द अमात्य, आशिष लाठ, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सहसचिव सुशान्त चाचानलगायतको सो अवसरमा उपस्थिति थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here