- अनन्तकुमार लाल दास
आज जसरी संस्थागत विद्यालयप्रति अभिभावकहरूको झुकाव बढिरहेको छ र सामुदायिक विद्यालयको महŒव दिन प्रतिदिन घट्दै गइरहेको छ, त्यसलाई जोगाउन सरकारले गरेको प्रयास बालुवामा पानी हालेजस्तो भइरहेको छ । सरकारले गरेको तमाम प्रयास, जस्तै छात्रवृत्ति योजना, निश्शुल्क पोशाक र पुस्तक वितरण, दिउँसो खाजाको व्यवस्था, संस्थागत विद्यालय जस्तै अङ्ग्रेजी माध्यमको छुट्टै कक्षा, कम्प्युटर र सिसी टिभी जडान, साइकिल वितरण यावत् सुविधा दिए तापनि त्यहाँ हुने राजनीतिले गर्दा शिक्षाको गुणस्तरमा कुनै सुधार देखा परिरहेको छैन । संस्थागत विद्यालयहरूको चमकदमकले मानिसहरूको आँखालाई सरकारद्वारा दिइने निश्शुल्क सुविधाले समेत आकर्षित गर्न सकेको छैन । हिजोआजका अभिभावक आधुनिक उपकरण र ठूल्ठूला भवन मात्र मन पराउँछन् । त्यहीं सामुदायिक विद्यालयमा राजनीति र त्यहाँ हुने विभिन्न खाले भ्रष्टाचारले गर्दा शिक्षाको स्तर पहिलेभन्दा खस्केको छ, जसले गर्दा वर्तमान समयमा संस्थागत विद्यालयहरूको व्यापारमा वृद्धि भएको छ ।
आज अभिभावकहरूको पहिलो रोजाइ संस्थागत विद्यालय भए तापनि उनीहरू के कुरामा ढुक्क हुन सकेका छैनन् भने संस्थागत विद्यालयको यति बढी शुल्क तोकिएको समयमा तिर्न सकिन्छ वा सकिंदैन ? तर सामुदायिक विद्यालयमा अङ्ग्रेजी माध्यमबाहेकको शुल्क जो कोहीले सजिलै तिर्न सक्छ । अर्कोतिर किताब र पोशाक निश्शुल्क वितरण हुने भएकोले गरीब र निमुखा अभिभावकहरूलाई आर्थिकरूपले धेरै सहुलियत हुन्छ । सामुदायिक विद्यालयमा दिइने दिउँसोको खाजामा केटाकेटीहरूको स्वास्थ्यको पनि विशेष ध्यान दिइन्छ र घरमा खाजा खाने हैसियत नहुनेहरूलाई पनि यस प्रकारको सुविधाले धेरै सहयोग पु¥याउँछ ।
हुनत हाम्रो संविधानमा माध्यमिक तहसम्म शिक्षा निश्शुल्क छ । एउटा मध्यमवर्गीय परिवारलाई सामुदायिक विद्यालय आर्थिकरूपले धेरै सहयोगी सिद्ध हुन्छ । अभिभावकहरूको टाउकोमाथि हरेक महीना हजारौं रुपियाँ शुल्क दिने तनाव पनि हुँदैन । सानोतिनो काम गर्ने मानिसले पनि सजिलै सामुदायिक विद्यालयमा अन्य प्रयोजनको लागि लाग्ने शुल्क तिरेर आफ्नो सन्तानलाई पढाउन सक्छ । संस्थागत विद्यालयजस्तै सामुदायिक विद्यालयहरूले हरेक सानोतिनो कार्यक्रमका लागि अतिरिक्त शुल्क लिंदैनन् तर अङ्ग्रेजी माध्यममा थप कक्षा सञ्चालन गर्ने सामुदायिक विद्यालयहरूले खुलेआम सरकारी नीतिनियमको बेवास्ता गर्दै विभिन्न निहुँमा शुल्क लिइरहेका छन् । यस विषयप्रति स्थानीय सरकार र स्वयं अभिभावकहरू पनि चनाखो हुनु आवश्यक छ । सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यार्थीहरूसँग सुमधुर सम्बन्ध र तालमेल गरी अध्ययन सम्पन्न गर्न समय–समयमा प्रशिक्षण पनि दिइन्छ । यस प्रकारको सुविधा संस्थागत विद्यालयका शिक्षकहरूलाई हासिल छैन वा सुविधा दिए पनि संस्थागत विद्यालयका शिक्षकहरूले आफ्नो शिक्षकलाई दक्ष बनाउन नचाहेको हुनाले पठाउँदैनन् ।
हिजोआज पढ्नको लागि राम्रोभन्दा राम्रो आधुनिक उपकरणको प्रयोग संस्थागत विद्यालयहरूले गरिरहेका छन् जसबाट कुनै पनि कुरा बुझ्न झन् सजिलो भएको छ । वर्तमान पुस्ताले वा भनौं ससाना केटाकेटीहरूले आधुनिक शिक्षण प्रविधिलाई धेरै रुचाएका छन् । यसबाट उनीहरूमा पढाइप्रति रुचि बढेको छ । संस्थागत विद्यालयमा समयानुसार खेलकूद र सांस्कृतिक कार्यक्रमको पनि आयोजना हुने गर्दछ । जसले गर्दा केटाकेटीहरूको मन पढाइसँगै अन्य क्षेत्रमा पनि लागिरहेको हुन्छ । संस्थागत विद्यालयहरूमा विद्यार्थी र शिक्षकबीच एक प्रकारको अनुशासन हुन्छ तर सामुदायिक विद्यालय यस मामिलामा धेरै पछि छन् । आवधिकरूपले अभिभावक र शिक्षकबीच बैठक पनि हुने गर्छ जसबाट विद्यार्थीहरूको कमीकमजोरी र सबल पक्षबारे जानकारी हासिल हुन्छ । बैठक पछि शिक्षक र अभिभावक मिलेर केटाकेटीहरूको कमीकमजोरी सुधार्ने प्रयास गर्छन् ।
वर्तमान समयमा अङ्ग्रेजी हरेक क्षेत्रको लागि आवश्यक भएको छ । आज आमाबुवाले अङ्ग्रेजीबेगर आफ्नो सन्तानको भविष्यको कल्पना पनि गर्न सक्दैनन् । संस्थागत विद्यालयमा पढ्ने केटाकेटीहरूको अङ्ग्रेजी सामुदायिक विद्यालयमा पढ्ने केटाकेटीहरूको तुलनामा धेरै राम्रो हुन्छ । यसै कारणले होला भविष्यमा जागीरको कुरो हुँदा संस्थागत विद्यालयका केटाकेटीहरू नै अघि रहन्छन् । यसलाई दृष्टिगत गरी हाम्रो सरकारले सरकारी विद्यालयका केटाकेटीहरूका लागि अङ्ग्रेजी माध्यमबाट बेग्लै कक्षा सञ्चालन गरेको छ । तर यस योजनाले विद्यार्थी–विद्यार्थीबीच विभेद उत्पन्न गरेको छ । एकातिर हामी सामाजिक विभेद अन्त्य गर्ने कुरा पढ्छौं, व्यवहारमा विभेद भइरहेको देख्छौं । विडम्बना त के छ भने यो विभेद सामुदायिक विद्यालयमा देखा परिरहेको छ । यो कति न्यायपूर्ण छ ? यसतर्फ सम्बन्धित निकायले गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।
अर्कोतिर व्यापक राजनीतिक चलखेलले गर्दां सामुदायिक विद्यालयमा शिक्षकहरू समयमा कहिल्यै उपस्थित हुँदैनन् भने कहिले अनुपस्थित नै रहन्छन् । विद्यालय प्रशासन र शिक्षकहरूबीच ‘तैं चुप मैं चुप’ संस्कृति मौलाएको छ । साथै सामुदायिक विद्यालयका शिक्षकहरूलाई जागीर गुम्ने कुनै भय हुँदैन । यस कारण विद्यालयमा उपस्थित भए पनि कक्षामा नजाने र साथी शिक्षकहरूसँग गफिने प्रवृत्ति हिजोआज बढी देखा परिरहेको छ । तर संस्थागत विद्यालयमा शिक्षकहरूको समय तोकिएको हुन्छ र निश्चित समयमा कक्षामा नपुग्दा जागीर गुम्ने खतरा पनि बनिरहन्छ ।
सामुदायिक विद्यालयहरूमा यस्ता सानोतिनो सुधार गरियो भने त्यसले राष्ट्रको विकासमा महŒवपूर्ण भूमिका निर्वाह गर्न सक्छ । सामुदायिक विद्यालयहरूलाई यदि अनुशासित ढङ्गले सञ्चालन गरियो भने त्यहाँ पढ्ने केटाकेटीहरूलाई एउटा राम्रो वातावरण प्राप्त हुन्छ । सामुदायिक विद्यालयहरूले पनि संस्थागत विद्यालयजस्तै नयाँनयाँ प्रविधिलाई घरको शोभा नबनाई त्यसको उपयोग र प्रयोग गर्नु आवश्यक छ । प्रविधिको प्रयोग सामुदायिक विद्यालयमा जति बढ्छ त्यतिकै अभिभावकहरूले बढी पैसा तिरेर संस्थागत विद्यालयमा पढाउनु पर्दैन र केटाकेटीहरू पनि पढाइतिर आकर्षित हुन्छन् । यदि सामुदायिक विद्यालयमा संस्थागत विद्यालयजस्तै सुविधा प्राप्त हुन थाल्छ भने कसले बढी पैसा तिरेर संस्थागत विद्यालयमा पढाउला १ यी सबैको लागि सामुदायिक विद्यालय र स्थानीय तहलाई घच्घचाउन नागरिक समाज र अभिभावकको सक्रिय भूमिका आवश्यक देखिएको छ ।
थोरै पैसामा यदि राम्रो पढाइ हासिल हुन्छ भने गरीब घरका केटाकेटीहरू जसलाई पढाइमा रुचि छ र केही ठूलो गर्न खोजिरहेका छन् उनीहरूले सरकारी सुविधाको फाइदा लिएर आफ्नो लक्ष्य सजिलै हासिल गर्न सक्छन् र राष्ट्र विकासमा आफ्नो भूमिका निर्वाह गर्न सक्छन् । त्यहीं अर्कोतिर धेरैजसो अभिभावकहरू जो आफ्नो सन्तानलाई राम्रो शिक्षा दिन खोज्छन्, संस्थागत विद्यालयहरूको बढी शुल्कका कारण सामुदायिक विद्यालयको सहारा लिन्छन् तर सामुदायिक विद्यालयको कमजोर व्यवस्थाका कारण केटाकेटीहरू पढाइमा कमजोर नै रहन्छन् । सामुदायिक विद्यालयहरूको खस्कँदो स्थितिका बावजूद केही केटाकेटीहरूको परिणाम संस्थागत विद्यालयका केटाकेटीहरूभन्दा पनि राम्रो हुन्छ । यदि यस्ता केटाकेटीहरू सामुदायिक विद्यालयमा नै संस्थागत विद्यालयजस्तो सुविधा पाउँछन् भने यस्ता विद्यार्थीहरूले राष्ट्रको शिर ठाडो पार्छन् ।
वर्तमान समयमा केही सामुदायिक विद्यालयलाई छोडेर सबै विद्यालयहरूमा सुधारको खाँचो देखिएको छ । कहीं अनुशासनको आवश्यकता छ भने कहीं विषयगत शिक्षकहरूको । कहीं दक्ष शिक्षकहरूको आवश्यकता छ भने कहीं पर्याप्त आधुनिक प्रविधिको । इन्टरनेट, कम्प्युटर, प्रोजेक्टरजस्ता आधुनिक उपकरणको सहयोगले केटाकेटीहरूको शिक्षा अझ गुणस्तरीय बनाउने प्रयासको थालनी गर्नु सामुदायिक विद्यालयमा आवश्यक छ । यो यस कारणले आवश्यक छ किनभने केटाकेटीहरूले भविष्यको लागि चाहिने अङ्ग्रेजी र कम्प्युटरलाई समस्या नबुझून् । सङ्घ, प्रदेश र स्थानीय सरकारहरूले पनि समयसमयमा ‘आफ्नो होइन राम्रो दक्ष जनशक्ति’सँग विद्यालयको अनुगमन र शिक्षाको उद्देश्य र पाठ्यक्रमले जसरी केटाकेटीहरूलाई शिक्षित गर्न खोजेको छ त्यसको परिपूर्ति भइरहेको छ कि छैन भन्ने कुराको अनुगमन र त्यहाँ कार्यरत शिक्षकहरूलाई स्थलगत तालीम प्रदान गर्न सकून् र देशले शिक्षामा गरेको लगानी खेर नजाओस् ।
शिक्षा सँगसँगै सामुदायिक विद्यालयमा सरसफाइ र केटाकेटीहरूको स्वास्थ्यको पनि ख्याल राख्नुपर्छ । सामुदायिक विद्यालयका केटाकेटीहरूलाई खेलकूद र अन्य प्रतिभा प्राप्त गर्नका लागि पनि प्रोत्साहित गर्नुपर्छ । केटाकेटीहरूमा लुकेको प्रतिभा बाहिर ल्याउन समय–समयमा सांस्कृतिक कार्यक्रम र विभिन्न प्रकारका प्रतियोगिताहरूको पनि आयोजन गर्नुपर्छ । आफ्नो प्रतिभाबाट देशको टाउको ठाडो पार्न यस्ता प्रतिभा भएका विद्यार्थीहरूलाई सरकारी सुविधा उपलब्ध गराएर प्रतिभा तिखार्न सहयोग गर्नुपर्छ । त्यहीं अर्कोतिर विद्यार्थीको अनुपातमा शिक्षकहरूको व्यवस्था मिलाउनुपर्ने सामुदायिक विद्यालयमा खाँचो छ । मूलभूत सुविधा अन्तर्गत पुस्तकालय र शौचालयको पनि पर्याप्त सुविधा सामुदायिक विद्यालयमा उपलब्ध हुनुपर्ने हो । मूलभूत कुरो के हो भने त्यहाँ विद्यार्थी सङ्ख्या बढाउन पढाइको स्तर सुधार्नुपर्छ, विभिन्न प्रकारका भ्रामक सुविधा दिने घोषणा गरी एउटै विद्यालयमा भएका दुई खाले विद्यार्थीबीच विभेद ल्याउनु उचित हुँदैन । आशा छ यस नगरको सामुदायिक विद्यालयहरूमा देखापर्ने कमीकमजोरी सुधार गर्न र संस्थागत विद्यालयलाई व्यवस्थित गर्नेतर्फ नवनिर्वाचित नगरप्रमुखले चासो देखाउने छन् ।