प्रस, वीरगंज, ११ जेठ/
पर्साका एक महानगर, तीन नगरपालिका र १० गाउँपालिका गरी १४ वटा पालिकामा रु १ अर्ब ७५ करोड बेरुजू देखिएको छ र यसको दोषी निवर्तमान जनप्रतिनिधिहरू रहेका छन् ।
२०७४ सालमा निर्वाचित भएका जनप्रतिनिधिहरूले सरकारी रकमलाई आफ्नो खल्तीको रकम सम्झेर जथाभावी खर्च गरेकाले बेरुजू रकम बर्सेनि थपिंदै गएको हो । त्यति मात्र हैन, राज्यकोषको सुरक्षाको लागि स्थानीय तहमा खटेका कर्मचारीहरूले प्रलोभनमा परी नियमविपरीत भुक्तानी दिएको, कानूनविपरीत पेश्की दिएकाले बेरुजू रकम घट्नुको सट्टा बढेको कोष तथा लेखा नियन्त्रक कार्यालय, पर्साले जनाएको छ ।
स्थानीय तहमा खटेका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतहरूले पालिकाको बजेट जथाभावी खर्च गर्ने र केही समयपछि सरुवा माग गरी अर्को पालिकामा पुग्ने गरेका कारण बेरुजू रकम बढ्दै गएको बताइन्छ ।
नवनिर्वाचित प्रमुख तथा अध्यक्षहरूको शपथग्रहण कार्यक्रममा पर्साका कोष तथा लेखा नियन्त्रक रुद्रनारायण भट्टराईले पर्साका पालिकाहरूमा बर्सेनि बढ्दै गइरहेको बेरुजू रकम समयमैं फछ्र्योट गरिएन भने पछि पालिकाको हकमा राज्यले अर्को कदम पनि चाल्न सक्ने सम्भावना रहेको भनी चेतावनी दिएका थिए ।
२०७४ सालको स्थानीय चुनावमा निर्वाचित भएका जनप्रतिनिधिहरूले गरेका खर्चको लेखाजोखा गर्दै महालेखा परीक्षकको कार्यालयले वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । महालेखा परीक्षको कार्यालयले २०७५, २०७७ तथा २०७८ सालमा गरी तीनपटक वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । गत वर्षको लेखापरीक्षण प्रतिवेदन केही महीनाभित्र सार्वजनिक हुने बताइएको छ ।
वार्षिक प्रतिवेदन–२०७८ अनुसार वीरगंज महानगरमा रु ७५ करोड ६७ लाख ३० हजार बेरुजु रहेको देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्नेमा २२ करोड ९६ लाख, प्रमाण नभेटिएको तर खर्च भएको ३१ करोड २५ लाख, पेश्की रकम पाँच करोड ५२ लाख र अन्य खर्चतर्फ १५ करोड रहेका छन् ।
जगरनाथपुर गाउँपालिकामा रु २० करोड ७३ लाख बेरुजु रहेको प्रतिवेदनले देखाएको छ । त्यसमध्ये असुल गर्नुपर्नेमा ५५ लाख, प्रमाण नभए पनि भुक्तानी दिएको १० करोड २६ लाख, पेश्की आठ करोड १३ लाख र अन्यतर्फ एक करोड ७७ लाख बेरुजू रहेका छन् ।
बहुदरमाई नगरपालिकामा रु १४ करोड ७७ लाख बेरुजू रहेको छ । त्यसमध्ये असुल गर्नुपर्ने ३८ लाख, विनाप्रमाण वा कागजात नभए पनि सात करोड भुक्तानी, पेश्की एक करोड ३४ लाख र अन्यतर्फ पाँच करोड ४१ लाख बेरुजु रहेको छ ।
सखुवाप्रसौनी गापामा रु १३ करोड ३१ लाख ४३ हजार बेरुजू रहेकोमा असुल गर्नुपर्ने २६ लाख, पेश्की चार करोड ६८ लाख, अन्यतर्फ दुई करोड ७७ लाख र विनाप्रमाण छ करोड ३५ लाख भुक्तानी गरेकामा त्यति बराबरको रकम बेरुजू भएको छ ।
ठोरी गापामा रु ११ करोड ५८ लाख तीन हजार बेरुजू रहेकोमा असुल गर्नुपर्नेमा २६ लाख, पेश्की चार करोड ६८ लाख, अन्यतर्फ दुई करोड ७७ लाख तथा विनाप्रमाणको आधारमा छ करोड ३५ लाख भुक्तानी दिएकामा सो बराबर रकम बेरुजू भएको छ ।
धोबिनी गापामा रु १० करोड ३१ लाख बेरुजू रहेकोमा असुल गर्नुपर्नेमा तीन करोड दुई लाख, पेश्की २१ लाख, अन्यतर्फ तीन करोड ७८ लाख र विनाप्रमाण तीन करोड २८ लाख भुक्तानी दिएको देखिन्छ ।
पोखरिया नगरपालिकामा रु नौ करोड नौ लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने एक करोड ५३ लाख, पेश्की चार करोड, अन्यतर्फ एक करोड १५ लाख तथा विनाप्रमाण पाँच करोड चार लाख भुुक्तानी दिइएको छ ।
पर्सागढी नगरपालिकामा रु पाँच करोड ४४ लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने ४४ लाख, अन्यतर्फ दुई करोड १२ लाख र पेश्की ४५ लाख रहेका छन् ।
पटेर्वासुगौली गापामा रु छ करोड ४८ लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने ६२ लाख, पेश्की दुई करोड ४२ लाख, अन्यतर्फ दुई करोड १२ लाख रहेका छन् ।
पकाहामैनपुर गापामा रु एक करोड १७ लाख बेरुजू देखाए पनि दुई आर्थिक वर्षको प्रतिवेदन सार्वजनिक भएको छैन । सोमध्ये असुल गर्नुपर्ने १५ लाख, विनाप्रमाण ३९ लाख, पेश्की १६ लाख र अन्यतर्फ ४५ लाख बेरुजू रहेका छन् ।
कालिकामाई गापामा रु तीन करोड ६० लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने २२ लाख, अन्य २० लाख, विनाकागजात भुक्तानी दुई करोड ३९ लाख रहेका छन् । सो गापाले एक आर्थिक वर्षको लेखापरीक्ष्Fण नगराउँदा प्रतिवेदन तयार गरिएको छैन ।
जीराभवानी गापामा रु सात करोड ६० लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने एक करोड २१ लाख, पेश्की १४ लाख, अन्यतर्फ एक करोड ७७ लाख, विनाप्रमाण चार करोड ७० लाख भुक्तानी गरेकामा बेरुजू भएको छ ।
छिपहरमाई गापामा रु नौ करोड १५ लाख बेरुजू रहेकोमा असुल गर्नुपर्ने दुई करोड १५ लाख, पेश्की ३६ लाख, अन्यतर्फ दुई करोड ९७ लाख, विनाप्रमाण भुक्तानी तीन करोड ६५ लाख बेरुजू देखिएका छन् ।
विन्ध्यवासिनी गापामा रु पाँच करोड ९५ लाख बेरुजू देखिएकोमा पेश्की ५९ लाख, अन्यतर्फ एक करोड ५५ लाख, असुल गर्नुपर्ने १८ लाख तथा विनाप्रमाण तीन करोड ५२ लाख भुक्तानी दिएका कारण बेरुजू देखिएको छ ।