प्रस, वीरगंज, ७ जेठ/

वीरगंज महानगरपालिकाको शनिवार आठौं दिन पनि मतगणना जारी रहेको छ ।

वीरगंज–१४ पिपरास्थित नृसिंह माविमा जारी मतगणनाले हालसम्म १८ वटा वडाको मतगणना सकाएको छ भने बाँकी १४ वटा वडाको मतगणना जारी रहेको पर्साका मुख्य निर्वाचन अधिकृत धर्मराज पौडेलले बताए । उनका अनुसार आगामी मङ्गलवारसम्म वीरगंजको मतगणना सकाउने लक्ष्यका साथ कर्मचारी परिचालन गरिएको बताए ।

उनले हाल छवटा कोठामा २४ घण्टा मतगणना जारी रहेको बताए । १२/१२ घण्टाको दुई सिफ्टमा कर्मचारी खटाइ मतगणना भइरहेको उनले बताए । शनिवार मध्याह्न १२ बजेसम्मको अद्यावधिक अनुसार वीरगंज महानगरको वडा नं १, २, ३, ४, ५, ६, ७, ८, ९, १०, २३, २४, २५, २६, २७, २८, २९, ३०, ३१ र ३२ को कुल ५५ हजार ११० मतपत्रको गणनापछि नगरप्रमुखमा जसपाका राजेशमान सिंहले नेकपा एमालेका उम्मेदवार विजयकुमार सरावगीभन्दा १४ हजार मतले अग्रता कायम राखेका छन् । सिंह सत्तारूढ गठबन्धनका साझा उम्मेदवार हुन् । सिंहले २९ हजार ७५८ मत ल्याएका छन् भने एमाले–लोसपाका साझा उम्मेदवार सरावगीले १५ हजार ५२० मत ल्याएका छन् ।

त्यसैगरी, उपप्रमुखमा नेपाली काङ्ग्रेसका इम्तियाज आलम लोसपाका पुरुषोत्तमलाल झाभन्दा करीब १६ हजार मतले अगाडि छन् । आलमले २० हजार ७८४ मत पाउँदा झाले चार हजार ७९२ मत ल्याएका छन् । कुल ६० हजार ४४५ मतगणना भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here