प्रस, वीरगंज, ६ जेठ/
वीरगज महानगरपालिका–२७ का नेकपा एमालेका नेता तथा पूर्व वडाध्यक्ष प्रदीप यादवले स्थानीय चुनावमा पराजय भोगेपछि छिमेकीलाई कुटपिट गरेका छन् । उनले छिमेकीलाई कुटपिट गराएको आरोपमा प्रहरीले उनीसहित तीनजनालाई पक्राउ गरेको छ ।
कुटपिटबाट महम्मद मियाँ, आयशा खातुन, जहिर हवारी, नुरैन हवारी, न्यामत नेशा, महम्मद मनीफ घाइते भएका छन् । उनीहरूमध्ये चारजना उपचारपछि घर फर्केका र दुईजनाको अस्पतालमा उपचार भइरहेको छ ।
वडा नं. २७ बाट यादवलाई पराजित गरी नेपाली काङ्ग्रेसका ह्दयनारायणप्रसाद कुर्मी विजयी भएका हुन् । कुर्मीले विजय जुलूस निकालेको मौका छोपी एमालेका यादवले काङ्ग्रेस समर्थकहरूको घरमा प्रवेश गरेर कुटपिट गरेको आरोप छ ।
वडा प्रहरी कार्यालय, श्रीपुर समयमा पुगेर विवाद बढ्न रोकेको र संलग्नमध्ये तीनजनालाई पक्राउ गरेको बताइएको छ ।
पर्सा प्रहरीका प्रवक्ता ओमप्रकाश खनालले घटनामा संलग्न रहेको आरोपमा यादवसहित नुरमान मियाँ र अर्का एकजनालाई पक्राउ गरेको बताए । उनले घाइतेमध्ये महम्मद मियाँ र आयशा खातुनको अवस्था गम्भीर रहेको चिकित्सकले जनाएको बताएका छन् । उनीहरू दुवैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।