कलैया उपमहानगरपालिकामा एमालेको जीत

0

प्रस, वीरगंज, ६ जेठ/

कलैया उपमहानगरपालिकाको प्रमुख/उपप्रमुखमा एमालेका उम्मेदवार विजयी भएका छन् ।

शुक्रवार सम्पन्न मतगणनामा नेपाली काङ्ग्रेसका उम्मेदवार निवर्तमान नगरप्रमुख राजेशराय यादवलाई पराजित गर्दै एमालेका विनोद साह प्रमुखमा विजयी भएका हुन् ।

गत स्थानीय चुनावमा उनी पराजित भएका थिए । यसपटकको चुनावमा साह ५ हजारभन्दा बढी मतान्तरले विजयी भएका हुन् । साहले २४ हजार ९३१ मत पाए भने यादवले १८ हजार ५४० मत पाए । साहले यसपटक मतगणना शुरू भएदेखि नै यादवलाई अगाडि बढ्नै दिएनन् ।

उपप्रमुखमा एमालेकै रोशन परविन  विजयी भएकी छन् । उनले १९ हजार २५९ मत पाएकी छन् भने उनका निकटतम प्रतिद्वन्द्वी सत्तारूढ गठबन्धनबाट लोसपाका प्रमोद गुप्ताले १८ हजार ३०२ मत पाएका छन् । गुप्ता पहिलो संविधानसभामा विजयी भएका हुन् भने गत स्थानीय चुनावमा नगरप्रमुखमा पराजित भएका थिए । गुप्ता मतगणनाको शुरूआतदेखि बुधवारसम्म अग्रस्थानमा थिए । तर हिजोदेखि उनी पछाडि परे र अन्ततः हार बेहोरे ।

कलैया उपमहानगरपालिकामा २७ वटा वडा छन् र सबैको नतीजा शुक्रवार सार्वजनिक भइसकेको छ ।

कलैया उपमहानगरपालिकामा कुल जनसङ्ख्या १,४१,१७९ रहेको छ भने कुल मतदाता सङ्ख्या ७०,३५६ छ । जसमा ३९,६६२ पुरुष र ३०,६९३ महिला छन् ।