कोलम्बो, २९ वैशाख/एएफपी
श्रीलङ्कालाई हाल परिरहेको डरलाग्दो आर्थिक सङ्कटबाट बाहिर निकाल्ने प्रयासमा रहेका राष्ट्रपति गोटाबाया राजापाक्षेले बिहीवार नयाँ प्रधानमन्त्रीको नाम तय गरेका छन्।
पूर्वप्रधानमन्त्री रनिल विक्रमासिंघे २२५ सदस्यीय संसद्मा क्रसपार्टी समर्थनमा एकता सरकारको नेतृत्व गर्न अग्रपङ्क्तिमा रहेको बताइएको छ।
उनलाई आजै शपथ गराइने सम्भावना रहेको राष्ट्रपतिका वरिष्ठ अधिकारीले बताएका छन्। राष्ट्रव्यापी विरोध प्रदर्शनको सामना गर्न राष्ट्रपतिले बुधवार राति राष्ट्रको नाममा टेलिभिजनमा सम्बोधन गरेका थिए।
“म संसद्मा बहुमत र जनताको विश्वास जित्ने प्रधानमन्त्रीको नाम घोषणा गर्नेछु,” टेलिभिजन सम्बोधनमा राजापाक्षेले भनेका थिए।
दुर्ई करोड २० लाख जनसङ्ख्या भएको यस देशमा खाद्यान्न, इन्धन र औषधिको चर्को अभाव र विद्युत्मा स्वतन्त्रताको कारण आर्थिक सङ्कटमा फसेको छ। महिन्द्रा राजापाक्षेले सोमवार प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए। उनका समर्थकहरूले सरकार विरोधी समर्थकहरूलाई आक्रमण गरेलगत्तै कोलम्बोमा दङ्गा फैलिएको थियो।
केही दिनदेखि जारी रहेको यस हिंसामा कम्तीमा नौजनाको मृत्यु हुनुका साथै अन्य २०० जनाभन्दा बढी घाइते भएका छन् । राजापाक्षेका समर्थकहरूले घरहरूमा आगो लगाएका थिए। रासस