प्रस, वीरगंज, २९ वैशाख/

मौन अवधिमा वीरगंज महानगरमा  मासु–मदिरा र नगद वितरणका घटनाहरू सार्वजनिक भएका छन्। मङ्गलवार वैशाख २७ गते राति १२ बजेदेखि मौन अवधि शुरू भएको थियो र यो अवधिमा कुनै पनि प्रकारका चुनावीलक्षित कार्यक्रम गर्न निषेध गरिए पनि उम्मेदवारहरूले मतदाता रिझाउने कार्यलाई निरन्तरता दिएका छन्।

बुधवार वीरगंज महानगर–१, २, ३ मा धेरैजना मतदाताको घरमा मासुका पोका पठाइएको थियो। एक किलो मासु कालो प्लास्टिकको झोलामा राखेर मतदाताको घरमा पु–याउने जस्ता कार्य भएका सो ठाउँका बासिन्दाहरूले बताए।

यसैगरी, यो अवधिमा मदिरा निषेध गरिए पनि मतदाताहरूलाई मदिरासहितको भोजभतेरलाई निरन्तरता दिइएको थियो। बुधवार पनि वीरगंज महानगरका टोलटोलमा समूह बनाएर मिनी पिकनिक गरिएको थियो। १०–१५ जनाको समूहमा यस्ता भोजहरू टोलटोलमा भएका थिए।

यसैगरी, यो अवधिमा नगद वितरण पनि गरियो। विगतदेखि नै मौन अवधिमा रकम वितरण हुने परम्पराले यसपालिको चुनावमा निरन्तरता पायो।

विभिन्न वडामा रकम वितरण कार्य रोक्नका लागि उम्मेदवारहरूले कार्यकर्ता खटाएका थिए। वीरगंज महानगर–३ मा रकम वितरण गर्न आएको भनेर राति ११ः३० बजेसम्म एकजना नेतालाई स्थानीयले होहल्ला गरी घेराउ गरेका थिए। पछि ठूलो सङ्ख्यामा प्रहरी परिचालित भएर ती नेतालाई सुरक्षित घर पु–याइएको थियो।

यस प्रकारका घटनाहरू वीरगंजका थुप्रै ठाउँमा घटेका छन्। मानिसहरू आर्थिक चलखेल नहोस् भनेर वडाका टोलहरूमा निगरानी गरेर बसेका छन्।  बिहीवार पनि यसै प्रकारका गतिविधि हुन सक्ने सम्भावना भएकोले टोलटोलमा खबरदारी गर्न मानिसहरू तैनाथ गरिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here