मनिला, २६ वैशाख/सिन्ह्वा

नयाँ राष्ट्रपति चयनका लागि फिलिपिन्समा सोमवार दिनभरि देशभरि मतदान भइरहेको छ । निर्वाचनबाट नयाँ राष्ट्रपतिसँगै देशभरका लागि झन्डै १८ हजार विभिन्न सरकारी पदाधिकारीहरू चयन हुनेछन् ।

त्यस अन्तर्गत एक उपराष्ट्रपति, १२ जना सिनेटर, ३०० भन्दा बढी संसद्का प्रतिनिधि र १७ सयभन्दा बढी अन्य स्थानीय प्रतिनिधिहरू रहेका छन् । मतदानका लागि देशभरि ३७ हजार २११ मतदान केन्द्र तय गरिएको निर्वाचन आयोगले जनाएको छ ।

स्थानीय समय अनुसार बिहान ६ बजे शुरू भएको मतदान बेलुका ७ बजेसम्म चल्ने आयोगका अधिकारीहरूले जनाएका छन् । राष्ट्रपतिका उम्मेदवारहरूमध्ये पूर्वराष्ट्रपति फर्डिनान्ड मार्काेसका छोरा पूर्वसिनेटरसमेत रहेका ६४ वर्षका फर्डिनान्ड मार्काेस जुनियर सबैभन्दा अगाडि रहने दाबी गरिएको छ ।

उनको प्रमुख प्रतिस्पर्धीको रूपमा भने वर्तमान उपराष्ट्रपति ५७ वर्षीया मारिया लओनोर रोर्बेडोलाई हेरिएको छ । फिलिपिन्सको राष्ट्रपति बन्नका लागि उनीहरूबाहेक अरू आठजनाले पनि उम्मेदवारी दिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका कार्यवाहक प्रवक्ता जोन रेक्स लौडियाड्ढोले देशभरिका सबै मतदान केन्द्र आयोगको निगरानी र नियन्त्रणमैं रहेको जानकारी दिए ।    

सबै ठाउँमा पर्याप्त सुरक्षा व्यवस्था गरिएको र अहिलेसम्म कुनै अप्रिय घटना भएको विवरण पनि प्राप्त नभएको उनको भनाइ छ । निर्वाचनका लागि ४५ हजार सैनिक, ६० हजार प्रहरी परिचालन गरिएका छन् भने १२ हजार प्रहरीलाई तयारी अवस्थामा राखिएको छ । कोरोना भाइरसको महामारीका कारण थलिएको आर्थिक अवस्था सुधार्ने, गरीबी न्यूनीकरण गर्ने, रोजगार बढाउनेलगायतका विषय नै अहिलेका प्रमुख एजेन्डा बनेका छन् । रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here