स्थानीय तह निर्वाचनको लागि मतदान गर्न अब तीन दिन मात्र बाँकी छ । भोलि अर्थात् वैशाख २७ गते राति १२ बजेपछि मौन अवधि शुरू हुन्छ । योसँगै निर्वाचनका बखत अन्तर्राष्ट्रिय नियम अनुसार सीमाहरू ७२ घण्टाका लागि बन्द हुन्छन् । निर्वाचन सकिएको दिन वैशाख ३० गते राति १२ बजेपछि मात्र उत्तरतर्फ चीनसँग जोडिएका र दक्षिणतर्फ भारतसँग जोडिएका नाकाहरू खुला हुनेछन् । सीमापारिबाट चुनाव प्रभावित नहोस् भनेर यी नियम दुवैतर्फका नाकामा निर्वाचनका बेला लागू हुने गरेकोे छ । स्थानीय तह चुनावको मौन अवधि शुरू हुनुअगावै सबै खाले चुनावी प्रचार बन्द गरिन्छ । त्यसैले आज र भोलि रातिसम्म चुनावी प्रचारप्रसारका कार्यक्रमहरू सकाउने गरी दल र उम्मेदवारहरू लागिपरेका छन् । यसपटकको चुनावमा मत बढी बदर हुने सम्भावना छ । गठबन्धनबाट चुनाव लडेकाहरूको मत झनै बदर हुन सक्ने अनुमान गरिंदैछ । स्वतन्त्र उम्मेदवारहरूको लागि दिइएको चुनाव चिह्न पनि दलहरू सरह सातवटा खण्डमा एकैथरी भएकाले गठबन्धनका उम्मेदवारहरूलाई मतदान गर्नेहरूको मत बदर हुने आशङ्का गरिएको हो । यसैले केही दल र उम्मेदवारहरूले मतदाता सचेत पार्ने कार्य पनि गरिरहेका छन् ।
मौन अवधिमा जहाँ चुनावी प्रचारप्रसार गर्न निषेध छ, त्यही बेला मतदातालाई आर्थिक प्रभावमा पार्ने कार्यहरू हुँदै आएकाले यो चुनावमा पनि सोही पुराना हतकन्डाको प्रयोग गरिने अनुमान गरिएको छ । मतदाताहरूलाई खानपिनमा रमाउन लगाउने र विगतमा भए गरेका तीतामीठा कुराहरूलाई बिर्साउने कार्य भइरहेका छन् । नगद नारायणबाट मतदाता प्रभावित हुने कार्य भएको पनि सुन्नमा आइरहेको छ । मतदान प्रत्येक पाँच वर्षमा हुने हुँदा यो अवसरको भरमग्दुर प्रयास गरेर असल उम्मेदवार चयन गर्ने जिम्मेवारी मतदाताको हो । यसमा सचेत मतदाताहरू पनि सक्रिय छन् । तर पर्सा जिल्लामा शिक्षाको स्तर आशाप्रदरूपमा बढिसकेको छैन । ५० वर्षमाथिका अधिकांश मानिस अहिले पनि साक्षरसम्म छैनन् । त्यसैगरी, आर्थिक अभाव झेल्दै आएको एउटा समूह पनि शिक्षाबाट विभिन्न कारणबाट वञ्चित हुनुपरेको छ । यस्ता खाले परिवारलाई दल र उम्मेदवारहरूले चुनावको बेला बढी प्रयोग गर्छन् । अहिले पनि पर्सा जिल्लाका १४ वटै पालिकामा यस प्रकारका गतिविधिहरू बढेका छन् । चुनाव जित्नका लागि साम, दाम, दण्ड भेद सबै नीति उम्मेदवारहरू अपनाउनबाट पछि पर्दैनन् । जसरी पनि चुनाव जित्नैपर्छ भन्ने मानसिकता उम्मेदवारहरूले बोकेर यो चुनावमा सोही अनुरूपको चरित्र प्रदर्शन गर्दै आएका पनि पाइएको छ ।
जितेकाहरूले पाँच वर्षमा गरेका राम्रा कार्यहरू देखाएर मतदाता आकर्षित गर्न सकेका छैनन् भने नयाँ उम्मेदवारहरू पनि विकासका नयाँ खाकाहरू कोरेर चुनावमा होमिएको भनेर मतदाताहरूलाई प्रभावित पार्न सकेका छैनन् । १४ वटै पालिकामा कुनै एउटा पनि पालिकामा जितेका उम्मेदवारलाई पुनः जिताउनुपर्छ भनेर मतदाता आकर्षित नभएका कारण जनप्रतिनिधिहरूले गरेका कार्यहरूको मूल्याङ्कन गर्न सकिन्छ । अहिले चुनावको बेला छ । दल र उम्मेदवारहरूले घ्यू र चिनी जस्तो चिप्ला र मीठा कुरा गर्नु स्वाभाविक हो । तर मतदाताहरूले उनीहरूको मूल्याङ्कन गर्न सक्नुपर्छ । अहिलेको एक महीना दल र उम्मेदवारहरूको आतिथ्य स्वीकार गरेर गलत निर्णय गर्ने हो भने ५९ महीना पछुतो गर्नुको विकल्प रहँदैन । तसर्थ मतदान गर्दा यी सबै कुरामा एकपटक अवश्य ध्यान दिनु जरुरी छ ।